April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

अमेरिकालगायत १० पश्चिमा देशका राजदूत टर्कीद्वारा ‘पर्सोना नन् ग्राटा’ घोषित

टर्कीले अमेरिकासहित १० देशका राजदूतहरुलाई ‘पर्सोना नन् ग्राटा’ घाेषित गरेकाे छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले अमेरिका, जर्मनी र फ्रान्ससहित १० देशका राजदूतहरुलाई कि टर्कीको नीति स्वीकार गर्न नभए देश छोड्न भनेका छन् ।

Advertisement

उनीहरु टर्कीका लागि अवान्छित, अग्राहय वा स्वागत नगरिने व्यक्ति रहेको राष्ट्रपति एर्डोगानले बताएका हुन् ।

Advertisement

१० देशका राजदूतहरुले अभियन्ता ओस्मान काभालाको तत्काल रिहाईको माग गर्दै संयुक्त वक्तव्य जारी गरेपछि राष्ट्रपति एर्डोगानको यस्तो आदेश आएको हो ।

अभियन्ता ओस्मान विगत चार वर्षदेखि जेलमा छन् । उनीमाथि प्रदर्शन तथा कू को प्रयास गरेको अभियोग लागे पनि दोषी ठहर भने गरिएको छैन ।

‘पर्सोना नन् ग्राटा’ अर्थात अवान्छित व्यक्ति घोषित गरिनुको अर्थ उनीहरुको कूटनीतिक हैसियत खोसिएको हुन सक्छ र सामान्यतया उनीहरुलाई निष्काशन वा राजदूतको हैसियत हट्न सक्छ ।

केही दिनअघि ओस्मानको रिहाईको माग गर्दै टर्की स्थित अमेरिका, क्यानडा, फ्रान्स, फिनल्याण्ड, डेनमार्क, जर्मनी, नेदरल्याड्स, न्यूजिल्याण्ड, नर्वे र स्वीडेनका राजदूतले संयुक्त वक्तव्य जारी गरेका थिए । टर्कीले हाल अवान्छित व्यक्ति घोषित गरेको १० मध्ये सात राजदूत ती देशका हुन् जो टर्कीसँगै नेटो सैन्य गठबन्धनका सहयात्री छन् ।

शनिबार राष्ट्रपति एर्डोगानले आफ्ना समर्थकलाई सम्बोधन गर्दै राजदूतहरु टर्कीको परराष्ट्र मन्त्रालयमा आएर आदेश दिन नसक्ने बताए ।

उनले भनेका छन्, ‘मैले हाम्रा विदेशमन्त्रीलाई आवश्यक आदेश दिएको छु र के गर्नु पर्छ भन्ने पनि भनेको छु । यी १० राजदूतहरुलाई पर्सोना नन ग्राता घोषित गरिनु पर्छ । त्यसपछि सबैकुरा तत्काल समाधान हुन्छ ।’

तर अब के हुन्छ भन्ने स्पष्ट भएको छैन । एर्डोगानले राजदूतहरुलाई या त टर्कीलाई बुझ्न नभए देश छोड्न भनेको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

जर्मनीले घटनापछि गम्भीर वार्ता भइरहेको प्रतिक्रिया दिएको छ । अहिलेसम्म राजदूतहरुले टर्कीका अधिकारीबाट आरिकारिक सूचना वा जानकारी भने पाएका छैनन् ।