April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

बेलायतसँग भारतको बदला : बेलायती यात्रु अब क्वारेन्टिनमा बस्नुपर्ने, पीसीआर गर्नुपर्ने

भारतले बेलायतविरुद्ध जवाफी कदम चाल्दै बेलायती नागरिकमाथि कोभिड–१९ लाई लिएर सख्त कदम अपनाउने निर्णय गरेको छ । जसअनुसार अक्टुबर ४ देखि भारत आउने सबै बेलायती नागरिकले कडा नियमको पालना गर्नुपर्ने भएको हो ।

Advertisement

बेलायती नागरिकले भारत यात्रा गर्दा ७२ घण्टाअघिको आरटीपीसीआर रिपोर्ट नेगेटिभ आएको हुनुपर्नेछ ।  भारतमा उनीहरूको आगमनपछि विमानस्थलमा पुनः उनीहरूको कोभिड–१९ पीसीआर जाँच गरिनेछ । त्यस्तै, भारत आएपछि आठौँ दिनमा उनीहरुले पुनः पीसीआर जाँच गर्नुपर्नेछ ।

Advertisement

पूर्ण मात्रा खोप लगाएका बेलायती नागरिकहरूले १० दिन होम क्वारेन्टिन वा गन्तव्यमा क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने नियम पनि भारत सरकारले लगाएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नागरिक उड्डयन मन्त्रालयले नयाँ नियमलाई लागू गर्ने बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार बेलायत जाने भारतीय यात्रुले भोग्नु परेको समस्यालाई हेर्दै यो फैसला लिइएको हो । कोरोना खोपको दुवै डोज लगाएका भारतलगायत कयौँ देशका नागरिकलाई बेलायतले मान्यता दिएको थिएन । यसबाट भारत रुष्ट रहेको थियो । भारतीय विदेश सचिव हर्ष श्रृंगलाले यसबारे समाधान ननिकालिए भारतले पनि बेलायतमाथि सख्त कदम उठाउने चेतावनी दिएका थिए । भारतले बेलायतलाई ५० लाख डोज कोभिसिल्ड दिएको बताउँदै त्यसलाई मान्यता नदिनु भेदभाव भएको उनको ठहर थियो ।

बीबीसीबाट