नेपाल आइपुग्यो एमसिसी उपाध्यक्ष सुमारसहितको टोली


बहुचर्चित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) की उपाध्यक्ष फातिमा सुमार बिहीबार बिहान काठमाडौँ आइपुगेकी छन्।
सुमारसहितको टोली बिहीबार बिहान ९ बजेर २७ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।
उनीसहितको टोली कतार एअरवेजको जहाजमा आएको हो । उनीहरु विमानस्थलबाट निस्किएको पनि क्षेत्रीले जानकारी दिए ।
एमसिसी परियोजनाबारे नेपालमा भइरहेको चर्को विरोधका कारण सुमार यात्रा विवरण गोप्य राखिएको छ।
एमसिसीकी उपाध्यक्ष फातिमा सुमारको नेपाल यात्रालाई लिएर प्रदर्शन थप चर्किएको छ। बुधबार प्रदर्शनकारीले सुमार र एमसिसीको विरोध गरिएका प्लेकार्ड बोकेका थिए।
सरकारले विदेशी दातृ निकायको विरोध नगर्न चेतावनी दिए पनि दिनहुँजसो एमसिसीविरुद्ध प्रदर्शन हुँदै आएको छ।
गत वर्ष असार १६ गतेभित्र संसदबाट पारित भइसक्नुपर्ने एमसिसी अझै पारित हुन सकेको छैन। परियोजनाले अमेरिकी हस्तक्षेप बढाउने भन्दै विरोध हुँदै आएको छ।
अमेरिकाले पाँच वर्षभित्र जलविद्युत र सडकमा लगानी गर्ने गरी परियोजनामार्फत ५५ अर्ब रुपैयाँ लगानी गर्दैछ।
सरकारले एमसिसीका सम्बन्धमा सोधेका विभिन्न प्रश्नको उत्तर दिँदै अमेरिकाले एमसिसी परियोजना आफ्नो देशको कुनै सैन्य गठबन्धन वा सुरक्षा रणनीतिको अंग नभएको जवाफ पठाएको छ। तर सरकारले सोधेका प्रश्नको प्रकृतिलाई नै लिएर विरोध भइरहेको छ।

प्रतिकृया दिनुहोस्