March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

ह्वाट्सएपमाथि ३१ अर्ब जरिवाना

युरोपेली मुलुक आयरल्याण्डले मेसेजिङ प्लाटर्फम ह्वाट्सएपमाथि ३१ अर्ब रुपैयाँ बराबरको रकम जरिवाना गरेको छ ।

Advertisement

आफ्नो मातृ कम्पनी फेसबुकलगायत अन्य कम्पनीहरुसँग प्रयोगकर्ताका डाटा शेयर गरेको र त्यस विषयमा पारदर्शिता नअपनाएको भन्दै आयरल्याण्डले ह्वाट्सएपमाथि २६ करोड ६० लाख डलर जरिवाना गरेको हो ।

Advertisement

तीन वर्ष अगाडि तयार भएको जनरल डाटा प्रोटेक्सन रेगुलेसन (जीडीपीआर) कानून अन्तरगत उक्त जरिवाना गरिएको हो ।

आयरल्याण्डको डाटा प्राइभेसी आयुक्तले ह्वाट्सएपमाथि लागेको अभियोगको छानबिन गरेका थिए । सन् २०१८ को युरोपेली संघको डाटा नियमहरुको पालना ह्वाट्सएपले गरेको छ कि छैन भन्ने विषयमा छानबिन भएको आयुक्तले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यसक्रममा ह्वाट्सएपले फेसबुकका अन्य कम्पनीहरुसँग शेयर गरेका जानकारी तथा डाटाहरुको सूचना प्रयोगकर्ताहरुलाई दिने विषय पनि सामेल थियो ।

आयरल्याण्डले आफूमाथि लगाएको करोडौँ डलरको जरिवानाप्रति ह्वाट्सएपले असन्तुष्टि जनाएको छ । ह्वाट्सएपका प्रवक्ता जोशुआ ब्रेकम्यानले त्यस्तो जरिवानाको निर्णय स्वीकार्य नभएको र त्यस विरुद्धमा अपिल गरिने बताएका छन् ।

स्मरण रहोस् आयरल्याण्डमा कर्पोरेट ट्याक्सको दर कम छ । त्यसैले त्यहाँ फेसबुक, गुगल, ट्वीटर, एप्पल सहित विश्वका कैयन् दिग्गज कम्पनीहरुका युरोपेली मुख्यालयहरु अवस्थित छन् ।

आयरल्याण्डले त्यस्ता कम्पनीहरुसँग आफ्नो सम्बन्ध बिगारेर जोखिम मोल्न नचाहने गरेको आरोप लाग्ने गरेको थियो । यहाँसम्म कि पछिल्लो घटनामा समेत सुरुवाती जरिवाना जम्मा झण्डै साढे ७ अर्ब रुपैयाँ बराबरको रकम राखिएको थियो । तर अन्य युरोपेली संघ सम्बद्ध देशहरुको व्यापक दबाब पनि त्यसलाई ५ गुणा बढाइएको हो । आयरल्याण्डको यो निर्णयसँगै ईयु सम्बद्ध अन्य मुलुकहरुलाई पनि यस्तै खालको कारबाही गर्नका लागि मार्गप्रसस्त भएको बताइएको छ ।

एजेन्सी