April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

भारतमा पनि ‘भ्याक्सिन पासपोर्ट’ बारेमा छलफल

कोरोनाभाइरसबाट अति प्रभावित मुलुक भारतमा पनि ‘भ्याक्सिन पासपोर्ट’को बारेमा छलफल सुरु भएको छ।

Advertisement

जापानलगायतका विश्वका कतिपय देशहरुले ‘भ्याक्सिन पासपोर्ट’ प्रयोगमा ल्याउने निर्णय गरिसकेका बेला भारतमा यस बारेमा छलफल सुरु भएको हो।

Advertisement

कोरोनाभाइरस विरुद्धको खोप लगाइसकेकाहरुको पहिचान र उनीहरुलाई विदेश भ्रमणमा सहज गराउने उद्धेश्यले ‘भ्याक्सिन पासपोर्ट’को अभ्यास सुरु भएको छ।

भारतले पनि कोरोनाभाइरसको दुवै खोप लगाएकाहरुलाई विदेश यात्राका लागि सजिलो बनाउन ‘भ्याक्सिन पासपोर्ट’ दिने वा त्यसो गर्नु समानताका हिसाबले न्यायोचित नहुने भन्ने बारेमा छलफल हुन थालेको बिहीबार जनाएको छ।

दैनिक पत्रकार सम्मेलनका क्रममा भारतको विदेश मामिला मन्त्रालयका प्रवक्ता अरिन्दम बगाचीले विभिन्न देशमा ‘भ्याक्सिन पासपोर्ट’ प्रयोगमा आएको बारेमा आफुहरुलाई थाहा रहेको र भारतमा पनि त्यस बारेमा छलफल भइरहेको जानकारी दिए।

‘यस बारेमा हामी पर्याप्त जानकार छौँ, यो विभिन्न देशमा प्रचलनमा आउने क्रममा रहेको छ, यो विश्वभरी नै छलफलको विषय बनिरहेको छ’, उनले भने।

कतिपय विकासशिल मुलुकहरुले अहिलेसम्म पनि पर्याप्त खोप पाउन नसकिरहेका बेला यसको औचित्य र उपयोगिता कति उपयुक्त हो भन्ने दृष्टिकोणबाट पनि कुरा उठ्ने गरेको उनले उल्लेख गरे।

‘भ्याक्सिन पासपोर्ट’भन्दा ठूलो कुरा सबैले समान रुपमा भ्याक्सिन पाउनु पर्छ भन्ने हो, हाम्रो त्यसैमा जोड रहेको छ’, उनले भने।