July 14, 2026, Tuesday
२०८३ असार ३१ बुधबार

संस्थागत विद्यालयलाई नोक्सान पुर्याउने विधेयक अस्वीकार्यः सिउवा संघ

Advertisement

भैरहवा– सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले प्रतिनिधिसभाबाट पारित शिक्षा सम्बन्धि कानुनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयकका कारण संस्थागत विद्यालयलाई नोक्सान पुर्याउने विषयमा विद्यालय, शैक्षिक संस्थाले प्रकट गरेको असहमतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

Advertisement

संघका अध्यक्ष नेत्रप्रसाद आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा शिक्षा देशको आर्थिक, सामाजिक तथा मानव संसाधन विषयको मेरुदण्ड भएको उल्लेख छ । ‘शिक्षा क्षेत्रलाई स्थिर, पारदर्शी र गुणस्तरीय बनाउन आवश्यक कानुनी व्यवस्था गर्दा विद्यालय, शिक्षक, विद्यार्थी तथा अभिभावक लगायत सरोकारवालाको सुझावलाई समेटिनु जरुरी छ,’ बिज्ञप्तीमा भनिएको छ, ‘सामुदायिक विद्यालयको सुधार र शिक्षकलाई कर्तव्यनिष्ठ तुल्याउन विधेयकले लिएको धेयप्रति संघको समर्थन छ, तथापी सरकारकै स्वीकृतिमा सञ्चालित निजी विद्यालयलाई गैरनाफामूलक संस्थामा रुपान्तरण गर्ने क्रममा उत्पन्न हुने समस्यालाई विधेयकले सम्बोध गरेको देखिँदैन ।’

संघद्वारा जारी प्रेस विज्ञप्तीमा निजी विद्यालयहरु व्यक्ति वा समूहको इच्छा वा लगानीको आधारमा, राज्यको नीति अनुसार वैधानिक रुपमा सञ्चालनमा आएका शैक्षिक केन्द्र भएको उल्लेख छ । ‘संस्थागत विद्यालयमा निजी क्षेत्रको खर्बौं रुपैयाँ लगानी हुनुका साथै मुलुकको कुल ग्राहस्थ उत्पादनमा टेवा पुर्याउँदैं आएका छन्,’ बिज्ञप्तीमा भनिएको छ, ‘देशभरिका ३४ प्रतिशत विद्यार्थीलाई शिक्षा प्रदान गर्दै ठूला जिम्मेवारी निर्वाह गरिरहेका छन्, कम्पनी ऐन अनुसार दर्ता भइ सञ्चालनमा रहेका विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने नीतिले लगानीकर्तामा अन्योल सिर्जना गरेको छ ।’

शिक्षा प्रणाली सुधार गर्ने कुरालाई संघले सकारात्मक रुपमा लिए पनि सुधारका नाममा निजी विद्यालयलाई नोक्सान पुर्याउने र लगानीकर्ता हतोत्साहित गर्ने कार्य अस्वीकार्य भएको जनाएको छ । ‘शिक्षा क्षेत्र संवेदनशील भएकाले यसलाई दीर्घकालीन दृष्टिकोणबाट हेरिनुपर्छ,’ संघले भनेको छ, ‘त्यसैले सरकार र सम्बन्धित निकायलाई यसतर्फ गम्भीर ध्यान दिन, सबै पक्षसँग छलफल गरि आपसी सहमति र स्वीकृति हुनेगरि कानुन निर्माण गर्न आग्रह गर्छौ ।’

शिक्षा विधेयक सच्याउन माग गर्दै रूपन्देहीका निजी विद्यालयद्वारा सडकमा बस पार्किङ गरेर विरोध