July 27, 2026, Monday
२०८३ श्रावण ११ सोमबार

शिक्षा विधेयक सच्याउन माग गर्दै रूपन्देहीका निजी विद्यालयद्वारा सडकमा बस पार्किङ गरेर विरोध

Advertisement

भैरहवा– शिक्षा विधेयक सच्याउन माग गर्दै रुपन्देहीका निजी विद्यालयका सञ्चालकहरूले सडकमा विद्यालयका खाली बस रोकेर विरोध जनाएका छन् । सोमबार रुपन्देहीसहित देशैभरीका निजी विद्यालय संचालकले विरोध स्वरुप यस्तो जुक्ति निकालेका हुन् ।

Advertisement

लामो समयदेखि निजी विद्यालय संचालकले शिक्षा विधेयक सच्याउन मागसहित विरोधका कार्यक्रम गर्दै आएका छन् । विद्यालय शिक्षा विधेयकबाट ‘पूर्ण छात्रवृत्ति’ र ‘क्रमशः गैरनाफामूलक’ बनाउने लगायतका शब्द हटाउन निजी विद्यालय संचालकको माग छ ।

उक्त माग सरकारले पूरा नगरेको भन्दै रुपन्देहीसहित देशैभरीका निजी विद्यालयका सञ्चालकहरु अहिले आन्दोलनमा छन् । शिक्षा समितिबाट पारित भएको विधेयक सच्याउन निजी विद्यालय सञ्चालकहरूले सरकारलाई दबाब दिन अने जुक्ति गरिरहेका छन् ।

यसैक्रममा सोमबार सडकमै बस पार्किङ गरेका हुन् । प्याब्सनm रुपन्देहीका अध्यक्ष दीपक खनालले केन्द्रको निर्देशन अनुसार स्कूल बससहितको र्याली निकालेको जनाए । ‘हामीले विधेयक नसच्याएसम्म आन्दोलन जारी राख्छौं’, उनले भने । आन्दोलन अन्तर्गत तिलोत्तमाको मुख्य राजमार्गमा पनि रुपन्देहीका निजी विद्यालयका सयौं बसहरु कालो झण्डासहित शिक्षा विधेयकको विरोधमा उत्रिएका हुन् ।

प्याब्सन, एन प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा भैरहवा, तिलोत्तमा बुटवल लगायतका ठाउँमा ६ लेन सडकमा खाली बस रोकेर विरोध जनाएको खनालले बताए । सोमबार दिउँसो भैरहवा–बुटवल ६ लेन सडकखण्डको बुटवल, योगीकोटी, ड्राइभरटोल, नयांमिल, मणिग्राम, कफी कम्पनी, मंगलापुर, भलवारी हुँदै भैरहवासम्म नै दर्जनौं संख्यामा निजी विद्यालयका बसहरुलाई लामबद्ध रुपमा सडक छेउमा पार्किङ गरी राखिएको थियो । केही दिनअघि पनि सडकमा निजी विद्यालयका स्कूलका बस निकालेर विरोध जनाइएको थियो ।