May 21, 2024, Tuesday
८ जेष्ठ २०८१, मंगलवार

तयारी भवन संचालनमा नआउँदा भीम अस्पतालको उपचार सेवा प्रभावित

भैरहवा– सरकारी स्तरको भीम अस्पताल भैरहवामा बर्षेनि बिरामीको चाप बढ्दो छ । बिरामीको चापसँगै अस्पतालमा बिशेषज्ञ सेवासहितको उपचार सेवा पनि बिस्तारको क्रममा छन् । तर, अस्पताल भवन पुरानो र जीर्ण भएकाले उपलब्ध गराउन खोजिएको कतिपय थप उपचार सेवा प्रभावित भएका छन् ।

Advertisement

अस्पतालमा आवश्यकता अनुरुपको भौतिक पूर्वाधार उपलब्ध गराउने योजना अनुरुप दश महिना अघिदेखि अस्पताल परिसरमा सुविधासम्पन्न तीन तल्ले भवन निर्माण सम्पन्न भएर ठडिएको छ । तर, उपयोगमा भने आएको छैन । निर्माण सकिएर पनि दश महिनादेखि उपयोगबिहीन अवस्थामा छ ।

Advertisement

बढ्दो बिरामीको चापलाई व्यवस्थित गर्दै उपचार सेवा बिस्तार गर्न निर्माण गरिएको उक्त भवन अस्पताललाई हस्तान्तरण नहुँदा उपचार सेवा प्रभावित हुन थालेको छ । लुम्बिनी प्रदेश सरकारको योजना अन्तर्गत करिव ११ करोड रुपैयाँको लागतमा सहरी विकास तथा भवन कार्यालय, रुपन्देहीको टेण्डर मार्फत् निर्माण भएको उक्त भवन निर्माण कम्पनीले भुक्तानी नपाएका कारण भवन अस्पताललाई हस्तान्तरण नभएको हो ।

भीम अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.मोहम्मद नुरुल होदाले पुरानो भौतिक संरचना जीर्ण हुनुको साथै बिरामी संख्याको अनुपातमा सांघुरो भएको र निर्माण सम्पन्न भएको आधुनिक प्रसुति गृह संचालनमा ल्याउन नपाइँदा अस्पतालबाट उपलब्ध गराउनु पर्ने सेवा बिस्तार गर्न नसकिएको बताए ।

‘उक्त भवनलाई संचालनमा ल्याउन नसकिएकाले अस्पतालमा उपलब्ध गराइने भनिएको विभिन्न सेवा बिस्तार गर्न सकिएको छैन’, होदाले भने, ‘विभिन्न विषयमा विशेषज्ञसहितको उपचार सेवा उपलब्ध गराउन बिशेषज्ञ चिकित्सकको माग गरिसकेका छौं तर आवश्यक स्थानको अभाव भएको छ ।’

उनका अनुसार, नवनिर्मित उक्त भवनमा शल्यक्रियासहितको स्त्री तथा प्रशुती विभाग स्थानान्तरण गरेर खाली हुन आउने पुरानो भवनमा अन्य सेवा उपलब्ध गराउने योजना अस्पताल प्रशासनको छ । अस्पतालमा थप सेवा बिस्तार गर्नका लागि अर्थोपेडिक सर्जनको माग गरिसकिएको छ । शल्यक्रियाका लागि आवश्यक पर्ने विभिन्न उपकरण खरिद गरिसकिएको छ । तर, पर्याप्त स्थानको अभाव हुँदा ति उपकरण प्रयोगमा आउन सकेका छैनन् ।

भीम अस्पतालमा उपचारका लागि दैनिक ७ सय हाराहारी विरामी आउने गर्छन् । यति धेरै विरामीलाई व्यवस्थापन गर्नु पर्ने भौतिक पूर्वाधार भने अधिकांश जीर्ण छन् । बि.सं. १९९० सालमा तत्कालीन प्रधानमन्त्री भीम शम्शेरको पालामा स्थापना भएको अस्पताल पश्चिम तराई क्षेत्रकै पुरानो अस्पताल हो । बिरामीको बढ्दो चापलाई पुरानो भौतिक संरचना र पहिलाकै जनशक्तिले धान्न नसक्ने अवस्थामा छ ।

अस्पतालको आवश्यकतालाई क्रमिक रुपमा पुरा गर्न २०७७ सालमा तत्कालीन लुम्बिनी प्रदेश मन्त्रिपरिषदले अस्पतालको योजनाबद्ध बिकासका लागि बहुवर्षीय बजेटमा समावेश गर्दै ४४ करोड रुपैयाँ लागतको गुरुयोजना स्वीकृत गर्यो । योजना अन्तर्गत तत्काल १४ करोड रुपैयाँ छुट्याएर निर्माण थालिएको थियो । योजना अनुरुप लुम्बिनी प्रदेश सरकारबाट अस्पताललाई बर्षेनि उपलब्ध गराइनु पर्ने बजेट त आएको छैनन् नै, उक्त भवन निर्माण भए अनुरुपको बजेट पनि उपलब्ध गराइएको छैन ।

भवन निर्माण सम्पन्न भैसकेपछि निर्माण कम्पनीले पाउनु पर्ने १ करोड ३० लाख रुपैयाँ रकम भुक्तानी नपाएका कारण भवन अस्पताललाई हस्तान्तरण हुन सकेको छैन । उक्त भवनमा गर्भवती, प्रसुति गृह, नवजात शिशु र आमाको स्याहार केन्द्र, शल्यक्रिया कक्ष, नियमित शिशुको खोप केन्द्र, ओपीडी, टिकट घर सेवा संचालन गर्ने योजना अस्पतालको छ ।

भवन निर्माण गरेको ठेकेदार कम्पनी माँ गायत्री निर्माण सेवाका संचालक त्रिभुवन दत्त मिश्रले गत असार महिनामैं भवन निर्माण सम्पन्न भए पनि आफूले पाउनु पर्ने भुक्तानी रकम पाउन नसकेको बताए । ‘पाउनु पर्ने भुक्तानीका लागि असारमैं बिल पेस गरेको हुँ तर अहिलेसम्म कहिले उपलब्ध हुने हो ? कुनै एकीन छैन’, मिश्राले भने, ‘भुक्तानी नपाउँदा मेरो आफ्नो रकम समेत डुबेको छ ।’

स्थानीय तह, प्रदेश र केन्द्र सरकारले आवश्यकता अनुरुप अस्पतालमा साधनस्रोत र जनशक्ति उपलब्ध नगराउँदा सर्वसाधारण विरामी समस्यामा पर्ने गरेका छन् । साधनस्रोत आफैले जुटाउन सक्ने आर्थिक सामथ्र्य अस्पतालसँग छैन । विभिन्न सहयोगी संस्था र दाताको सहयोगमा अस्पतालमा केही उपकरण र भौतिक पूर्वाधार त जुटेको छ । तर, त्यसले अस्पतालको बढ्दो आवश्यकतालाई पुरा गर्न सकेको छैन ।

‘अस्पतालको यो अवस्थाका बारेमा प्रदेश सरकार लगायत् स्वास्थ्य मन्त्रालयलाई पनि लिखित र मौखिक जानकारी गराएका छौं’, अस्पताल विकास समितिका अध्यक्ष डा.अनन्त शर्माले भने, ‘उक्त भवन अस्पताललाई हस्तान्तरण नभएसम्म दिन प्रतिदिन अस्पतालमा बढ्दो बिरामीको उपचारलाई व्यवस्थित गराउन स्थानको अभावले समस्या भैरहेको छ ।’

यस अस्पताललाई सरकारी स्तरबाट ५० वेडको स्वीकृत दरबन्दी हो । बिरामीको चाप थेग्न गाह्रो भएपछि अस्पताल व्यवस्थापन समितिले आफ्नै श्रोत र सहयोग जुटाएर १ सय २० बेड क्षमतामा संचालन गर्दै आएको छ । स्वीकृत ५० बेडका लागि विभिन्न विषयका विशेषज्ञ चिकित्सकसहित ७१ जना जनशक्ति उपलब्ध गराइने भनेर प्रदेश मन्त्रालयबाट अस्पतालमा पत्र पठाइएको भए पनि ९ जना अझै उपलब्ध हुन सकेको छैन । अस्पतालमा उपचारका लागि भैरहवा र रुपन्देहीका मात्र नभएर पाल्पा, कपिलबस्तु, नवलपरासी र छिमेकी राष्ट्र भारतका सिमावर्ती क्षेत्रका विरामी समेत आउने गर्छन् ।