June 9, 2026, Tuesday
२०८३ जेष्ठ २७ बुधबार

मदिरा, कृषि र पर्यटनबाट ६ लाखलाई रोजगारी

भैरहवा– लुम्बिनी प्रदेशले मदिरा उत्पादन, ब्रान्डिङ, कृषि उत्पादन र पर्यटन प्रबद्र्धनबाट ६ लाख महिला र युवालाई स्वरोजगार बनाउन योजना सार्वजनिक गरेको छ । प्रदेशस्थित १२ जिल्लाका आयआर्जन कमजोर भएका सर्वसाधरणलाई मदिरा ब्राण्डिङ, कृषि उत्पादन र पर्यटनबाट स्वरोजगार तुल्याइने लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताए । उनले मुख्यमन्त्री बनेदेखि यी योजनालाई सार्वजनिक बहसमा ल्याएका थिए ।

Advertisement

यसका लागि मुख्यमन्त्रीले आर्थिक विकास कार्यक्रम शीर्षकमा आर्थिक वर्ष २०८०–०८१ को बजेटमा डेढ अर्ब छुट्टाएका छन् । यसका लागि डेढ अर्ब रुपैयाँ संघीय सरकारबाट ल्याउने उनले दाबी गरेका छन् । अहिले मुख्यमन्त्री कार्यालय यसको कार्यान्वयनका लागि विज्ञसहितको टोलीबाट कार्यविधि बनाउने तयारीमा छ । तराईमा रहेका थारु समुदायलाई मौवाको मदिरा, कृषि उत्पादनसँग जोडेर पर्यटन विकास गर्नेमा चौधरीले मुख्य जोड दिएका छन् ।

Advertisement

यसका लागि संघीय सरकारका अर्थमन्त्री, उद्योगमन्त्री र सचिव एवं राजस्व विभागसँग छलफल भइरहेको उनले बताए । सबै कुरा सकारात्मक भएकाले कानुनी प्रक्रिया सहज गराइने उनले बताए । हाल उत्पादन भइरहेको स्थानीय मदिरालाई व्यवस्थित गर्दै उद्योगको रुपमा लैजानुपर्ने उनको तर्क छ । मौवा, अनादि, कोदोलगायतको मदिरालाई ब्रान्डिङ गरी विदेश पठाएर मुद्रा आर्जन गर्न सकिने आधार रहेको उनले बताए ।

‘तराईमा मौवा, कोदो, अनादिसहित अन्य स्थानीय मदिरा उत्पादनलाई व्यवस्थित र उद्योगको रुपमा लगेर ब्रान्डिङ गर्ने हो,’ मुख्यमन्त्री चौधरीले भने, ‘थारु, मगर र गुरुङ समुदायमा यसको उत्पादन हुन्छ । उत्पादन गर्ने, प्याकेजिङ र बजारीकरण गर्ने छुट्टाछुटै जनशक्ति परिचलान हुन्छन् ।’