June 14, 2026, Sunday
२०८३ जेष्ठ ३१ आईतवार

बिहीबारदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट

भैरहवा– बिहीबारदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय ट्राभल मार्ट हुँदैछ । नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले बुद्ध जन्मस्थल लुम्बिनीमा दोस्रो संस्करणको ‘बुद्धिष्ट इन्टरनेश्नल ट्राभल मार्ट’ अर्थात ‘बीआईटीएम’ गर्न लागेको हो ।

Advertisement

बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी आयोजकले यसबारे जानकारी दिएका हुन् । यसअघि सन् २०१९ मा पहिलोपटक लुम्बिनीमा बीआईटीएम भएको थियो । बैशाख २८ गतेदेखि सुरु हुने मार्टमा एक दर्जन बढी देशका पर्यटनविद्, व्यवसायी तथा टूर अपरेटर सहभागी हुने नाट्टाका केन्द्रिय अध्यक्ष रमेश थापाले बताए । ‘यो कार्यक्रमले लुम्बिनीसँगै नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन ठूलो भूमिका खेल्ने छ’, उनले भने । आयोजकका अनुसार मार्ट वैशाख ३० गतेसम्म चल्ने छ ।

Advertisement

लुम्बिनीको होटल पवन प्यालेसमा आयोजना हुने बीआईटीएमको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा स्वदेशीसँगै विदेशी विज्ञले कार्यपत्र प्रस्तुत गर्नेछन् । नाट्टाले पर्यटन बोर्डसँग सहकार्य गरेर आयोजना गर्न लागेको दोस्रो संस्करणको बीआईटीएम नेपालको पर्यटन क्षेत्रको एक प्रमुख कार्यक्रम हो । यसले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन प्रमुख भूमिका खेल्ने दावी गरिएको छ । पर्यटन बोर्डले यो कार्यक्रमलाई दुई करोड विनियोजन गरेको छ ।

बोर्डका प्रबन्धक सूर्य थपलियाले मार्टले नेपालको लुम्बिनी लगायत बुद्धिष्ट सर्किटको विश्वव्यापी प्रचार–प्रसार मार्फत नेपाललाई पर्यटकीय हव बनाउने सन्दर्भमा गहन छलफल र निचोड निकाल्ने जनाए । ‘यस बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट संचालनबाट नेपाली टुर तथा ट्राभल कम्पनीहरु र होटल व्यवसायीले विदेशी टुर–ट्राभल कम्पनीहरुसंग व्यापार साझेदारी गर्ने सम्भावना वृद्धि हुने र लुम्बिनीमा विश्वभरीका पर्यटक ल्याउन थप मद्दत पुग्ने विश्वास लिइएको छ’, उनले भने ।

नाट्टा अध्यक्ष थापाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको समेत कार्यक्रमले प्रचार र प्रबद्र्धन हुने जनाए । ‘लुम्बिनी प्रदेशमा संचालित नेपाली ट्राभल टूर कम्पनी, होटल व्यावसायीहरुको लगानी अनुसार प्रचारप्रसार र प्रतिफल प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा पनि हाम्रो छ’, थापाले भने । तर, रुपन्देहीका पर्यटन व्यवसायीले भने आफूहरुलाई उपेक्षा गरिएको भन्दै विरोध गरेका छन् । भैरहवामा पत्रकार सम्मेलन गरेर व्यवसायीले विरोध जनाएका हुन् ।