June 14, 2026, Sunday
२०८३ जेष्ठ ३१ आईतवार

बुद्धिष्ट ट्राभल मार्ट आयोजकप्रति रूपन्देहीका पर्यटन व्यावसायीको असहमति

भैरहवा– रुपन्देहीका पर्यटन व्यवसायीले लुम्बिनीमा आयोजना हुने अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट (बीआएटीएम) आयोजकप्रति असहमति जनाएका छन् । यस क्षेत्रका व्यवसायीहरको साझा संजाल ‘पर्यटक सरोकार सञ्जाल’ले बुधबार बिहान पत्रकार सम्मेलन आयोजना गरेर पर्यटन प्रवद्र्धनका लागि बुद्ध जन्मस्थल लुम्बिनीमा हुने ठूलो कार्यक्रममा रुपन्देहीका पर्यटन व्यावसायीलाई बेवास्ता गरिएको आरोप लगाए ।

Advertisement

सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ (सीपी)ले डेढ करोड रुपैयाँ लगानीमा ट्राभल मार्ट आयोजना गरिएको जानकारी पाएको सुनाए । ‘रुपन्देहीका पर्यटन व्यावसायीको सहभागिता बिना मार्ट कसरी सफल हुन्छ,’ उनले भने, ‘लुम्बिनी प्रदेशको पर्यटनका हामी साझेदार हौं, यहीँ कार्यक्रम आयोजना गर्दा हामीलाई पूर्ण बेवास्ता गरियो ।’ यसअघि आयोजित मार्टमा समेत समन्वय नगरेको उनले बताए ।

Advertisement

‘यसपाली कार्यक्रमप्रति हाम्रो असहमति छ,’ उनले भने, ‘त्यसैले सञ्जालमा आवद्ध संघसंस्थाका प्रतिनिधिहरु सहभागी हुँदैनौं ।’ यसपटकको मार्ट बिहीबार, शुक्रबार र शनिबार लुम्बिनीस्थित होटल पवन प्यालेसमा आयोजना हुँदैछ । ‘पटकपटक हाम्रो अस्तित्व अस्वीकार गरियो,’ उनले भने, ‘मुलुकमा संघीयता लागू भइसक्यो, तर, पर्यटन बोर्ड अझैं केन्द्रिकृत छ, जसरी हुन्छ बजेट सकाउन कार्यक्रम आयोजना भइरहेको जस्तो लागेको छ ।’

नेपाल टुर्स एण्ड ट्राभल्स एजेण्ट (नाट्टा) लुम्बिनी प्रदेशकी अध्यक्ष रचना पन्तले पर्यटन बोर्ड र केन्द्रिय नाट्टाबीच मार्ट आयोजनाका लागि सम्झौंतामा हस्ताक्षर गर्न ढिलाई भएकाले जानकारी ढिलो प्राप्त भएको बताइन् । ‘तीन दिन अगाडि मात्र कार्यक्रमबारे स्पष्ट जानकारी आयो,’ उनले भनिन्, ‘त्यसपछि सरोकारवाला संस्थालाई कार्यक्रमबारे पत्राचारको काम भइरहेको छ ।’ स्थानीय पर्यटन व्यावसायीको असहमति र गुनासोबारे आफूले जानकारी पाएदेखि केन्द्रीय संस्था र सथानीयबीच समन्वयका लागि भूमिका खेलिरहेको उनले बताइन् ।

लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवालीले बुद्ध जन्मस्थलमै ट्राभल मार्ट आयोजना हुन लागेको बारे अन्तिम समयमा मात्र जानकारी पाएको बताए । ‘हाम्रै स्थलमा कार्यक्रम हुँदैछ,’ उनले भने, ‘तर, हामीलाई कुनै जानकारी छैन ।’ समयमै समन्वय गरेको खण्डमा स्थानीय व्यावसायीले आफ्नो तर्फबाट कार्यक्रम सफल बनाउन भूमिका खेल्ने उनले बताए । ‘लुम्बिनीमा पाँच हजार जना अट्ने हल निर्माण भएको छ,’ उनले भने, ‘तर, मार्ट नीजि होटलमा आयोजना भइरहेको छ ।’

केही दिन अगाडि मात्र भव्य रुपमा बुद्ध जयन्ती मनाइएको स्मरण गराउँदै उनले स्थानीयको सहभागिता बिना कार्यक्रम सफल नहुने बताए । सोट्टो लुम्बिनी प्रदेश अध्यक्ष संजय बजिमयले केन्द्रिकृत मानसिकताबाट कार्यक्रम आयोजना गरिएको बताए । उनले यहाँका पर्यटन व्यवसायीलाई बाइपास गरिएको कार्यक्रममा आफूहरु सहभागी नहुने जनाए ।

उद्योग ब्यापार संगठन, रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले लुम्बिनीमा आयोजना कार्यक्रममा यहाँका पर्यटन व्यवसायीलाई थाहै नदिनु दुःखद् भएको बताए । उनले दुई दिनमा डेढ करोड खर्च गर्नु ठीक नभएको बताए । पर्यटक प्रबद्र्धनभन्दा अन्य मनसायले कार्यक्तम गरिएको उनले आरोप लगाए ।