कृषि र पशुपालनतर्फका पकेट कार्यक्रम निष्प्रभावी
भैरहवा– स्थानीय निकायले कृषि पकेट कार्यक्रम संचालन गर्न नसक्दा निष्प्रभावी बनेका छन् । चालु आर्थिक २०७८–०७९ मा रुपन्देही र नवलपरासी पश्चिमका स्थानीय तहले ३२ वटा पकेटका कार्यक्रम सञ्चालन गर्न नसक्दा ती कार्यक्रम निष्प्रभावी बनेका हुन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले वि.सं. २०७३ सालदेखि पकेट, ब्लक, जोन र सुपर जोन कार्यक्रम संचालन गरेको थियो । तर, तीन वर्ष यता पकेटका कार्यक्रम स्थानीय तहले सञ्चालन गर्दै आएका छन् । तरकारी, च्याउ, केरा, मौरी, खाद्यान्य, बाख्रा, भैँसी र माछा पालनतर्फ रुपन्देही र नवलपरासी पश्चिममा ९३ वटा पकेट कार्यक्रम सञ्चालन भएका थिए । जसमा रुपन्देहीमा १७ र नवलपरासी पश्चिममा १५ वटा पकेटका कार्यक्रम सञ्चालन हुन नसकेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाइका प्रमुख नारायणप्रसाद काफ्लेले जनाए ।
अधिकांश स्थानीय तहले पशु पालनतर्फका पकेट संचालन गर्न नसकेका हुन् । कृषितर्फका पकेटको कार्य सम्पादन भने केही सुधारउन्मुख छ । रुपन्देहीको सैनामैना नगरपालिकाले मकै, मौरी र बाख्रा पालनका पकेट कार्यक्रम सञ्चालन गरेर सय प्रतिशत काम सम्पन्न गरेको छ भने नवलपरासीको सुस्ता गाउँपालिकाले पाँचवटा पकेटमा कुनै पनि सञ्चालन गर्न नसकेको काफ्लेले जताए ।
एउटा पकेट दुई वर्षपछि संख्या र क्षेत्रफल बढाउँदै ब्लक, जोन र सुपर जोनमा स्तरबृद्धि हुनुपर्छ । तर, अधिकांश पकेटका कार्यक्रम ठाउँठाउँमा छरेर सञ्चालन गर्दा ब्लकमा रुपान्तरित हुन सकेका छैनन् । एउटा गाउँ अथवा जोडिएका कुनै गाउँ समावेश गरेर पकेट सञ्चालन गर्नुपर्छ । अधिकांश ठाउँमा कार्यविधि मिचेर कार्य सञ्चालन भैरहेको प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यालयले जनाएको छ । ‘स्थानीय तहले नै कार्यविधि मिचेर काम गर्दा समस्या भएको हो’, काफ्लेले भने, ‘अब विगतका गल्ती नदोहोर्याई काम गर्न म सबै पालिकालाई आग्रह गर्छु ।’
प्राविधिकहरु कार्यक्रमबारे अनभिज्ञ हुनु र परियोजनाले पनि पकेटका कार्यक्रमलाई अपनत्व नदिँदा कमजोरी दोहोरिरहेको हो । परियोजनाको उद्देश्य प्राप्तिका लागि पनि तालिमको खाँचो भएको कृषि तथा पशु प्राविधिकहरुले बताएका छन् । रुपन्देहीमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाइले आर्थिक वर्ष २०७८–०७९ मा स्थानीय तहबाट सञ्चालित पकेट विकास कार्यक्रमको प्रगति समीक्षा सार्वजनिक गर्दै ३२ वटा पकेटका कार्यक्रम संचालन हुन नसकेको जनाएको हो ।
समीक्षा कार्यक्रममा जिल्लाका समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले कृषि क्षेत्रको सुधारका लागि संचालित पकेट कार्यक्रम निष्प्रभावी हुनु दुःखद् भएको जनाए । ‘स्थानीय तहले कार्यक्रमको अधिकार पाएपछि यो झनै प्रभवकारी हुनुपर्नेमा निष्प्रभावी हुनु ठीक होइन्’, उनले भने, ‘सबै स्थानीय तह अब जिम्मेवार बन्नुपर्छ । आगामी दिनमा यस्ता कुराहरु दोहोरिन दिनु हुँदैन । पकेटका कार्यक्रमलाई राम्रो र दिगो बनाउनुपर्छ ।’ उनले पकेट कार्यक्रम कार्यन्वयनमा स्थानीय सरकार बढी जिम्मेवार भएर लाग्न आग्रह गरे ।
किसानहरुले भने जनप्रतिनिधिहरुले पकेटको क्षेत्र छनोट र कार्यक्रम सञ्चालन गर्दा आफ्ना कार्यकर्ता र धेरै मतदाता भएकालाई मात्र प्राथमिकता दिने भएकाले पनि लक्ष्य प्राप्ति अनुसार कार्य सम्पादन हुन नसकेको गुनासो गरेका छन् । जनप्रतिनिधिहरुको लापरबाहीका कारण आफूहरुले पकेट कार्यक्रमबाट लाभ लिन नसकेको किसानको गुनासो छ ।
प्रतिकृया दिनुहोस्