मायादेवी मन्दिर अर्को महिनादेखि मर्मत गरिने, मर्मत सकिन सात महिना लाग्ने
भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर आउँदो महिनाबाट मर्मत सुरु गरिने भएको छ । बुद्ध जन्म स्मारक शिला (मार्क स्टोन), इशापूर्व तेस्रो शताब्दीदेखि सातौं शताब्दीसम्मका इँटाका भग्नावशेषहरु, मायादेवीको मूर्तिलगायत महत्वपूर्ण प्राचीन भग्नावशेष संरक्षण गरेर राखिएको मन्दिर वर्षौदेखि चुहिँदै आएको छ ।
मन्दिर चुहिन थालेको १८ वर्ष भएको बताइएको छ । तर, पटकपटक मर्मत गर्दासमेत पानी चुहिन रोकिएको छैन । यसबारे पब्लिक कुराले समाचार प्रशारण गरेपछि लुम्बिनी विकास कोष, पुरातत्व विभागले विशेष चासो देखाएका छन् । कोषका सदस्य सचिव सानुराजा शाक्यले अहिले वर्षा याममा मर्मतको काम गर्दा पुरातात्विक सम्पदामा थप क्षति हुने जोखिम भएकाले अर्को महिनाबाट मन्दिर मर्मतको काम सुरु गरिने बताए ।
मन्दिर मर्मत गर्न करिब ७ महिना लाग्ने विकास कोषले जनाएको छ । ‘लामो समय लगाएर भए पनि अब पानी चुहिने समस्या दीर्घकालीन रुपमा समाधान गरिने छ’, शाक्यले भने । २०६० सालमा करिब ६ करोड लागतमा पुनःनिर्माण गरिएको मन्दिर त्यसको अर्को वर्षबाट नै चुहिन थालेको थियो । मन्दिर पुनःनिर्माण गर्दा वाटरप्रूफिङ नगरी फलामका पातामाथि दुई तह इँटा राखेर सुर्खी र चुनले ढलान गरिएको थियो ।
पुरानो प्रविधि प्रयोग गरेर निर्माण गर्दा दक्ष प्राविधिक र कालीगढ अभावले मन्दिर चुहिने भएको कोषको निष्कर्ष छ । कोषले पानी चुहिने समस्या समाधान गर्न पुरातत्व विभाग, युनेस्को लगायतको सहकार्यमा थाइल्याण्डको थाइपुङ्ग थाइ नामको संस्थासँग मन्दिरको मर्मत गर्न गत वर्ष नै सहमती गरेको थियो । तर, उक्त संस्थाले अझै काम सुरु गरेको छैन । यसबारे समाचार बाहिर आएपछि उक्त संस्थाले बुधबार मात्रै कोषलाई पत्र पठाएर अर्को महिनाबाट काम गर्ने जनाएको छ ।
‘थाई संस्थाले मर्मत कार्यको कार्ययोजना पनि पठाइसकेको छ’, शाक्यले भने, ‘यसअघि कोरोना महामारी र लकडाउनले गर्दा केही विलम्ब भएको हो । अब काम छिटो हुन्छ ।’ शाक्यले संचार माध्यमले मन्दिर मर्मतमा झकझक्याएको र सबै निकायलाई चनाखो गराउन पहल गरेको बताए । उनका अनुसार थाई संस्थाले २०२२ को अगस्तदेखि २०२३ को फेबु्रअरी भित्र काम सक्ने गरी योजना नै पठाएको छ ।
शुक्रबार मात्रै कोषका पदाधिकारी र पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमसहितको टोलीले मायादेवी मन्दिरको निरीक्षण गरेको छन् । यसपटक मन्दिरको मर्मत गर्दा युनेस्को, पुरातत्वविद्सँगै थाइल्याण्डका पुरातत्व क्षेत्रका विशेषज्ञ र इन्जिनियरहरुको पनि प्रत्यक्ष निगरानी रहने कोषले जनाएको छ । मन्दिर मर्मत गर्दा उस्तै परे मर्मत अवधिका समयमा मायादेवी प्रवेशमा सर्वसाधारणलाई रोक लगाउन पनि अवस्था आउन सक्ने शाक्यले बताए । ‘सकभर यस्तो अवस्था आउन दिँदैनौं । तर, भन्न सक्ने अवस्था छैन’, उनले भने ।
लुम्बिनी विकास कोषका अनुसार पुरानो मायादेवी मन्दिरलाई सन् १९९२ मा भत्काएर पुरातत्व विभाग, जापानको जापनिज बुद्धिष्ट फेडरेशन र लुम्बिनी विकास कोषले संयुक्त रुपमा उत्खनन् गरेका थिए । चार वर्षपछि उत्खनन् सकिएको थियो । उत्खनन्बाट बुद्ध जन्मिएको स्थानमा राखिएको ‘मार्क स्टोन’ पत्ता लागेको थियो । यहाँ सम्राट अशोकले मार्क स्टोन राख्न लगाएका हुन् । कोषकाअनुसार मन्दिर पुनःनिर्माण गर्दा विश्व सम्पदास्थलमा प्रयोग गरिने सुर्खी अर्थात् इँटाको धुलो र चुनको प्रयोग गरिए छ ।
पुरातात्विक सम्पदामा कंक्रिट र छड प्रयोग नगरिने भएकाले पनि मन्दिरको छत ढलानदेखि वालसम्म सुर्खी र चुन प्रयोग गरिएको हो । तर, प्राचीन राणाकालीन दुई सय वर्ष अघिको सुर्खी र चुनाको प्रयोग गर्दा मन्दिर बनाउने प्राविधिक भने त्यस प्रविधिको प्रयोगमा दक्ष थिएनन् । परिणामस्वरुप मन्दिर निर्माणमा प्रयोग गरिएका फलामका पाताहरु बङ्गीएका थिए । त्यसबेला बाङ्गीएका फलामका पातहरुलाई नटबोल्ट कसेर बनाइयो । वाटरप्रूफिङ नगरी फलामका पातामाथि दुई तह इँटा राखेर सुर्खी र चुनले ढलान गरिएको थियो । जसले गर्दा वर्षौदेखि वर्खा याममा दर्जनौं ठाउँमा मन्दिर चुहिँदै आएको छ ।
६ वर्ष अघि जापान सरकारको सहयोग र युनेस्कोको संयोजनमा इटालीका रसायनविद् कन्स्ट्रयांक किनो मियुसीले मायादेवी मन्दिर भित्र रहेका सम्पदा खिइँदै जान थाल्नुको कारणबारे अध्ययन–अनुसन्धान गरेको थियो । त्यसबेला मायादेवी मन्दिर रहेको स्थानको जमिनमुनिको पानीमा नुनको मात्रा भएको पाइएको थियो । त्यसपछि विकास कोषले मन्दिर परिसरमा रहेको जमिनको सतहको पानीको लेबल घटाउन मायादेवी मन्दिरको चारैतर्फ रहेका इनारहरुबाट पानी जम्मा गरेर बाहिर फाल्ने गर्दै आएको छ । पानी चुहिँदा मन्दिरभित्र रहेका महत्वूर्ण संरचनाहरु टुक्रिएर धुलो बन्ने, खिइने, ढुसी लाग्ने गरेका छन् । मन्दिर चुहिएर महत्वपूर्ण संरचनाहरु नासिँदै जाँदा अहिलेसम्म के–कति क्षति भयो भन्ने बारे कसैले पनि खोजअनुसन्धान गरेका छैनन् ।
प्रतिकृया दिनुहोस्