December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

रूपन्देही प्रहरीद्वारा सात लाख रुपैयाँका पटका नष्ट

भैरहवा– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले तिहार र छठ पर्वको वेला पड्काउन भारतबाट नेपाल भित्र्याइएका लाखौं रुपैयाँ बराबरका पटका बरामद गरी नष्ट गरेको छ । प्रहरी प्रबक्ता डीएसपी सत्यनारायण थापाले जिल्ला प्रहरी कार्यालय मातहतका विभिन्न प्रहरी इकाइबाट बिगत एक सातादेखि संकलित पटका जमिनमा खाल्टो खनि एकमुष्ट रुपमा नष्ट गरिएको बताए ।

Advertisement

उनका अनुसार ६ लाख ८१ हजार रुपैयाँ भन्दा धेरै मूल्यका पटका मंगलबार नष्ट गरिएको हो । बरामद भएका पटकामध्ये केही घरायशी प्रयोजन र अधिकांश व्यपारिक प्रयोजनका लागि भित्र्याइएको प्रहरीले जनाएको छ ।

थापाका अनुसार, इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले करिव ४ लाख रुपैयाँका पटका गत बुधवार बुटवलको अमरपथबाट बरामद गरेको थियो । इलाका प्रहरी कार्यालय मर्चवारले गत बिहीवार मर्चवारी गाउँपालिका ७, पैसियाघाटबाट १ लाख २० हजार रुपैयाँ भन्दा धेरै मूल्यको पटका बरामद गरेको थियो ।

इलाका प्रहरी कार्यालय लुम्बिनी र प्रहरी चौकी कालिदहले लुम्बिनी क्षेत्रको कालिदह नाकाबाट नेपाल ल्याउँदै गर्दा करिव ६५ हजार रुपैयाँका पटका बरामद गरेको थियो । यसैगरि प्रहरी चौकी मेउडिहवा, वडा प्रहरी कार्यालय बुटवल, प्रहरी चौकी पाण्डेपिप्रहवा, वडा प्रहरी कार्यालय भैरहवा, प्रहरी चौकी गुलरिया लगायतका प्रहरी युनिटले पटका बरामद गरि जिल्ला प्रहरी कार्यालयमा बुझाएका थिए ।