December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

लेनदेनको सहमतिपछि डेढ महिनामा बल्ल सीताको अन्त्येष्टि

तिलोत्तमा– आफ्नै घरमा मृत अवस्थामा फेला परेको डेढ महिनापछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी सीता भण्डारी पौडेलको अन्त्येष्टि गरिएको छ । गत भदौ २० गते बिहान घरमै सीता मृत अवस्थामा फेला परेकी थिइन् । तिलोत्तमास्थित मणिग्रामकी सीताको माइती पक्षले हत्या भएको दावी गर्दै आएका थिए ।

Advertisement

सीताको मृत्युलाई लिएर लामो समय आन्दोलन भयो । छिमेकी, स्थानीय, आफन्तले सडकमा चक्का जाम नै गरेर प्रदर्शन गरेका थिए । अन्ततः आर्थिक मिलेमतोमा सीताको बुधबार अन्त्येष्टी गरिएको छ ।

सीताको घरपट्टीका परिवारले माइती पक्षलाई विवाह गर्दा लागेको १० लाख र एक लाख सापटीसहित ११ लाख रुपैयाँ दिने सहमतिपछि उनको अन्त्येष्टि गरिएको हो । माइती पक्ष ११ लाख पाएपछि सहमत भएका हुन् । कतिपयले यसलाई आर्थिकका लागि यतिका दिनसम्म शब अन्त्येष्टी गर्न आनाकानी गरिएको भन्दै आलोचना गरेका छन् ।

सीताको बुधबार बुटवलस्थित मगरघाटमा अन्तेष्टि गरिएको रुपन्देही प्रहरीले बताएको छ । सीताको हत्या भएको भन्दै न्यायका लागि आन्दोलनमा सक्रिय एक स्थानीयले भने, ‘लेनदेनमै शब बुझ्न र अन्त्येष्टी गर्न थियो भने आन्दोलनको नाटक माइती पक्षले गर्नुहुँदैनथ्यो ।’

सीताको शंकास्पद मृत्युपछि प्रहरीले उनका श्रीमान् टीका पौडेल, जेठाजु तिलोत्तमा– ५ का वडा सदस्य हरि पौडेल र आमाजू विष्णुलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । रुपन्देही जिल्ला अदालतले तीनै जनालाई असोज २१ गते आत्महत्या दुरुत्साहन मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएका थियो । अहिले उनीहरु तीनैजना कारगारमा छन् ।

आर्थिक लेनदेनको सहमतिपछि आगामी दिनमा अदालती प्रक्रियामा कुनै हस्तक्षेप हुने गरी आन्दोलन नगर्ने सहमति पनि भएको छ । घटनाको केन्द्रीय अनुसन्धान ब्युरोले समेत अनुसन्धान गरेको थियो । पोष्टमार्टम र प्रहरी अनुसन्धानले सीताले झुण्डिएर आत्महत्या गरेको रिपोर्ट देखाएको थियो । यसै विषयलाई लिएर एक महिनासम्म सडक आन्दोलन नै चर्केको थियो । माइतीले शव बुझ्न र अन्त्येष्टी गर्न मानेका थिएनन् ।