December 2, 2021, Thursday
१६ मंसिर २०७८, बिहीबार

‘घुस काण्ड’मा मुछिएका तीन घुमुवाको काज सरुवा

दाङ– घूस काण्डमा मुछिएका तीनजना साधा पोशाक (घुमुवा) प्रहरीको काज सरुवा भएको छ । दाङको तुलसीपुर क्षेत्रमा कार्यरत उनीहरुलाई दैलेख, जाजरकोट र सुर्खेतमा काज सरुवा गरिएको प्रहरी स्रोतले जनाएको छ ।

Advertisement

ट्रयाक्टर ब्यबसायीसँग एक लाखभन्दा बढी घूस खाएको गुनासो पछि उनीहरुलाई दसैँ अगाडि जिल्ला प्रहरी कार्यालय घोराही झिकाइएको थियो । काज सरुवा भएकामध्ये एक जना हवल्दारले भने आँफू निर्दोष रहेको बताउँदै आएका छन् । उनले दिएको लिखित स्पष्टिकरणमा समेत सोही कुरा उल्लेख गरेको प्रहरी स्रोतले बताएको छ ।

‘मासिक ३० हजारका दरले एसपी सापको नाम भजाएर पाँच ट्रयाक्टर ब्यबसायीबाट घूस स्वरुप पैसा उठाएको देखिएको छ’, एक प्रहरी अधिकारीले भने, ‘संगठनको आचरणबिपरीतको कार्य गरेको हुँदा जागिरबाटै निलम्बनको सिफारिस हेड क्वाटरमा जिल्लाबाट गरिएको भए पनि एकपटकलाई भनेर काज सरुवा भएको छ ।’

एसपीको नाम भजाएर ब्यबसायीसँग घूस स्वरुप रकम मागेको गुनासो पछि उनीहरु जिल्ला तानिएका थिए । जिल्ला प्रहरी कार्यालय दाङले हेटक्वाटरसम्म त्यो कुरा पुर्याएपछि उनीहरु तीनजनाको इटहरीमा सरुवा गरिएको थियो ।

त्यहाँबाट तीनै जनाको कर्णाली प्रदेशमा काज सरुवा भएको स्रोतले जनाएको छ । दाङमा नयाँ प्रहरी प्रमुखका रुपमा एसपी सुरेश काफ्ले आएपछि संगठनको आचरणबिपरीत बदमासी गर्ने प्रहरीहरु समेत धमाधम कारबाहीमा परेका छन् ।

यसअघि पनि तुलसीपुरमा लामो सयमदेखि साधा पोशकमा खटिएका प्रहरीले सर्वसाधारणबाट घूस लिएको गुनासोको आधारमा जिल्ला झिकाएर कारबाही गरिएको थियो । उनीहरुमध्ये केहीलाई जिल्लाका दुर्गम नाका क्षेत्रमा काज सरुवा गरिएको छ ।