भोजभतेरमा हुने खर्च बिपन्न परिवारको सहयोगमा


भैरहवा– लुम्बिनीको पर्सा नजिकै फकरुद्धिन खानको घरमा शुक्रवार बिहानैदेखि खुशी छाएको थियो । बधाई दिन र खुशी साट्न उनको घरमा बिहानैदेखि आफन्त र शुभेच्छुकको भिड नै लागेको होे । उनी घर अगाडिको आँगनमा कुर्सीमा बस्दै मिठाई बाँडेर आफन्त र शुभेच्छुकको खुशी साटिरहेका थिए ।
उनी लुम्बिनी क्षेत्रका हुनेखाने र साभ्रान्त परिवारमध्येका युवा हुन् । त्यसमा पनि लुम्बिनी क्षेत्रका प्रदेशसभा सदस्य । उनलाई पुत्र लाभ भएको शुक्रवार सातौं दिन । हिन्दु परम्परामा बच्चाको न्वरान गरिने दिन जस्तै मुस्लिम समुदायमा हर्ष र उत्सव गरिने गरिन्छ ।
धेरैको अनुमान थियो, यस खुशीयालीमा खानले मुस्लिम समुदायमा अन्य व्यक्तिले गर्ने प्रचलन अनुरुप धुमधाम भोजभतेर गर्नेछन् । तर, खानले त्यस खालको कुनै पनि भोजभतेर गरेनन् । बरु, उनले छोरा जन्मिँदा खुशियालीमा गरिने भोजभतेरको परम्परालाई तोडे । भोजभतेरमा हुने खर्च स्थानीय विपन्न परिवारको आर्थिक सहयोगमा खर्च गरे । विपन्न परिवारको दुःखलाई साटासाट गरे ।
कोही छोराछोरीलाई किताबकापी जुटाउन नसक्ने, कोही विद्यालयको शुल्क तिर्न नसक्ने, कोही पैसाको अभावले औषधि उपचार गर्न नसक्ने त कोही खानलाउन नै समस्या पर्ने स्थानीय २९ जना बिपन्न परिवारको अवस्था हेरी शुक्रवार उनले ३ लाख १३ हजार रुपैयाँ सहयोग गरेका छन् ।
‘भोजभतेरमा गरिने अनावश्यक खर्च विपन्न परिवारलाई उपलब्ध गराए उनीहरुलाई ठूलो सहयोग पुग्छ भन्ने चेतना जगाउन मैलेसहयोग गरेको हुँ’, खानले भने, ‘यो प्रचलन अन्य व्यक्तिका लागि पनि प्रेरणा बन्न सकोस् भन्ने मेरो उद्देश्य पनि हो ।’

भोजभतेरमा गरिने खर्चबाट केही रकम छुट्याएर घर नजिकै शिवगडिया मदरसामा रहेका २ सय भन्दा धेरै विद्यार्थीलाई मासुभात खुवाउनमा दुईवटा खशी पनि उनले उपलब्ध गराएका थिए ।
यदी भोजभतेरमा खर्च गरेको भए १० लाख रुपैयाँभन्दा धेरै लाग्ने उनले बताए । उनका अनुसार, अनाबश्यक फजुल कार्यमा गरिने खर्चले अरु कसैको जीवनयापनमा धेरै सहयोग पुग्छ । यस्तो सन्देश दिएर समाज रुपान्तरणका लागि उनले आफ्नो समुदायमा नयाँ कदमको सुरुवात गरेका हुन् ।
‘मेरो यस कार्यको धेरैले प्रशंसा गरेका छन् भने केहीले परम्परा अनुरुप नभएको भनेर आलोचना पनि’, उनले भने, ‘आलोचना गर्ने आफन्त र सुभेच्छुकलाई पनि सम्झाएर मनाउने छु ।’ जनप्रतिनिधि भएकाले पनि आलोचना भन्दा उनको यस कार्यको प्रशंसक धेरै छन् । खाँन नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक समेत हुन् ।
प्रतिकृया दिनुहोस्