October 15, 2021, Friday
२९ आश्विन २०७८, शुक्रबार

२५ लाखको अवैध सामान बरामद

भैरहवा– रुपन्देही प्रहरीले भारतबाट चोरी–पैठारी गरी ल्याइएको ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । जिल्लाको रोहिणी गाउँपालिका–२, खुरहुरिया २५ लाख रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरिएको प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले जानकारी दिए ।

उनका अनुसार प्रहरीले कुर्ती १ हजार ६४८ पिस, उलन सर्ट ५९४ पिस, सुट ४५३ पिस, प्रिन्टर मसी २२५ पिस, चप्पल ५७ जोर, टिसर्ट ९३ पिस, थान कपडा ८ बण्डल, जुत्ता ३० जोर, सुट ३९ पिस र ट्रयाक ११५ पिस बरामद गरेको छ ।

उक्त सामान खुरहुरियास्थित एउटा खाली घरमा गोदाम बनाएर राखिएको थियो । विशेष सूचनाका आधारमा छापा हान्दा यति ठूलो मात्रामा सामान बरामद गरिएको डीएसपी थापाले बताए । ‘जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार राति १० बजे घरको उक्त गोदाममा छापा हानेको थियो’, उनले भने, ‘भन्सार छलीको सामान भेटिएपछि बरामद गरेका छौं ।’

बरामद सामान आइतबार भैरहवा भन्सार कार्यालय बुझाइएको छ । ‘यो सामान कसले ल्याएर गोदाम गरेको हो भन्ने अझै खुलेको छैन’, डीएसपी थापाले भने, ‘यस विषयमा हामीले अनुसन्धान गरिरहेका छौं ।’

प्रहरीले चाडबाड सुरक्षा योजना अन्तर्गत सीमा तथा बजार क्षेत्रमा निगरानी बढाएको जनाएको छ । ‘हामीले जिल्लाका हरेक क्षेत्रलाई विशेष निगरानीमा राखेका छौं, चाडबाडमा हुनसक्ने अवैध क्रियाकलाप रोक्न प्रहरी तयार छ’, उनले भने ।