February 8, 2025, Saturday
२०८१ माघ २७

कारागारलाई पुस्तक

भैरहवा– जिल्ला कारागार रुपन्देहीलाई पुस्तक उपलब्ध गराइएको छ । महान्यायाधीवक्ताको कार्यालयमार्फत् उच्च सरकारी वकिल कार्यालय बुटवलले कारागार प्रशासनलाई पुस्तक हस्तान्तरण गरेको हो । पुस्तक कारागारमा रहेको पुस्तकालयमा राखिने छ । यहाँ दुईवटा पुस्तकालय छन् । प्राप्त पुस्तक कैदीबन्दीको अध्ययनका लागि प्रयोगमा ल्याइने छ ।

कारागारलाई नेपालको संविधान, मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता र फौजदारी कसूर, मुलुकी देवानी संहिता, कानून, नेपाली र अंग्रेजी शब्दकोष, साहित्य, कथा, उपन्यास, प्रशासनिक संरचना लगायतका २८० वटा पुस्तक हस्तान्तरण गरिएको उच्च सरकारी वकिल कार्यालय बुटवलका प्रमुख सह–न्यायाधीवक्ता मोहनसागर बस्यालले बताए ।

Advertisement

किताबको मूल्य करिब १ लाख २० हजार छ । यसअघि उच्च सरकारी वकिल कार्यालय र महान्यायाधीवक्ताको कार्यालयले जिल्ला कारागारको अनुगमन तथा निरीक्षण गरेको थियो । त्यतीबेला कैदीबन्दीले पुस्तक अभाव भएको र पुस्तकालय व्यवस्थापन गर्न आग्रह गरेका थिए ।

‘त्यसपछि हामीले कारागारको व्यवस्थापन राम्रो बनाउन र आवश्यक सामाग्री उपलब्ध गराउन पहल गर्यौ’, बस्यालले भने, ‘बेलाखबत कारागार निरीक्षण गरी सुधार गर्नुपर्ने कामलाई निरन्तरता दिँदै आएका छौं ।’ उनले विविध कारणले कारागारमा कैदीबन्दीको जीवन विताइरहेका नागरिकको आवश्यकता पहिचान गरी यस्ता किसिमका सहयोग उपलब्ध गराउँदै जाने बताए ।

‘अध्ययनले नै जीवनशैलीमा ठूलो परिवर्तन ल्याउँछ । अध्ययन गर्दा सुध्रिने मौका मिल्छ । यहाँहरुलाई पनि सुध्रिने अवसर मिलोस्’, बस्यालले भने, ‘उपलब्ध गराइएका पुस्तकको सही सदुपयोग हुनुपर्छ । अध्ययन गर्नुहोस् । हामीले यहाँहरुलाई बहुउपयोगी पुस्तकहरु दिएका छौं ।’ उनले पुस्तकालय व्यवस्थित गर्न कारागार प्रशासनलाई आग्रहसमेत गरे ।

बस्यालले पुस्तकको दर्ता र अभिलेखिकरण गरेर मात्र प्रयोग गर्न आग्रह गरे । ‘यसले व्यवस्थापन राम्रो हुन्छ, पुस्तकको सही सदुपयोग हुन्छ’, उनले भने । धेरै विधाका र पठनीय पुस्तक कारागारमा हस्तान्तरण गरेको बस्यालले जनाए । ‘अध्ययन गर्दा सानो कुराले पनि ठूलो नतीजा ल्याउन सक्छ’, उनले भने ।

कारागार र बालसुधार गृहहरुको सुधारमा महान्यायाधीवक्ता कार्यालय र उच्च सरकारी वकिल कार्यालय लागिपरेको बस्यालले बताए । अघिल्लो वर्ष पनि भैरहवास्थित बालसुधार गृहलाई सवा लाख बराबरको पुस्तक हस्तान्तरण गरेको उनले बताए । पुस्तक उपलब्ध पछि त्यहाँ रहेका बालबालिकामा अध्ययनको बानी विकास भएको र आफूले धेरै परिवर्तन पाएको उनले बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले अध्ययनले ज्ञान, क्षमता र व्यक्तित्व विकासमा परिवर्तन ल्याउने जनाए । उनले जेजस्तो कारणले कारागारमा बसेको भए पनि अध्ययनलाई निरन्तरता दिए धेरै कुराहरुमा परिवर्तन आउने बताए । पुस्तकको सही सदुपयोग गर्न कैदीवन्दी र कारागार प्रशासनलाई आग्रह गरे ।

पुस्तक बिहीबार कारागार प्रमुख नारायण पन्थीलाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा उच्च सरकारी बकिल कार्यालय बुटवलका उपन्यायाधीवक्ता कृष्णचन्द पाण्डे, जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख जिल्ला न्यायाधीवक्ता डम्बरप्रसाद काफ्ले, रुपन्देही प्रहरी प्रमुख मनोजकुमार केसी, महान्यायाधीवक्ताको कार्यालय काठमाडांैका सहायक न्यायाधीवक्ता शिव वाग्ले लगायतको उपस्थितिमा कारागारलाई पुस्तक हस्तान्तरण गरिएको उच्च सरकारी वकिल कार्यालय बुटवलका कम्प्यूटर अपरेटर बुद्धि पराजुलीले बताए । कारागारमा ४५१ कैदिबन्दी छन् ।