April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

गल्याङ–पाल्पा प्रशारण लाइन जडान, विद्युत् कटौतीको समस्या हट्ने

बुटवल – नेपाल विद्युत् प्राधिकरण, पाल्पा वितरण केन्द्रले यहाँको विद्युत् समस्या समाधान गर्न गल्याङ्स्थित वुटवल पावर कम्पनी (आँधीखोला) बाट प्रशारण लाइन जडान गरेको छ । गल्याङ्को प्रशारण लाइन जडान भएपछि रुपन्देहीको बुटवल (मणिग्राम) बाट आउने लाइनमा समस्या हुनासाथ वैकल्पिक लाइन जोड्न सकिने छ ।

Advertisement

१० वर्षअघि पनि यो लाइन जडान भएको थियो । तर, विभिन्न बहाना बनाएर आँधीखोला जलविद्युत् आयोजना (विपिसी) ले पाल्पातर्फ लाइन कटौती गरेको थियो । अहिले रम्भा, निकीचौर (पिपलडाँडा) देखि मालुङ्गा (स्याङ्जा) सम्मको लाइन चार्ज गरेर पुनः लाइन जडान भएको पाल्पा बितरण केन्द्रले जनाएको छ । यसबाट पाल्पा, गुल्मी र अर्घाखाँचीका केही भागका लागि बैकल्पिक प्रशारण लाइन जडान भएको बितरण केन्द्रका प्रमुख इन्जिनियर सुशील पौडेलले बताए ।

Advertisement

‘धेरैपटक समस्या भइसकेपछि गल्याङको वैकल्पिक प्रशारण लाइन जडान गर्ने कुरा भयो,’ उनले भने, ‘अघिल्लो बुधबार दिउँसोबाट गल्याङ्को लाइन चार्ज भएर विद्युत् समस्या समाधान गरिएको छ ।’ यसबाट दैनिक रुपमा हुँदै आएको विद्युत अनियमितताको समस्या कम गर्न सकिने उनले बताए । असार २३ गतेको अविरल वर्षाले तिनाउ गाउँपालिका बसन्तपुर क्षेत्रमा खसेको पहिरोमा पोल ढल्दा तीन–चार दिन विद्युत् समस्या देखिएको थियो । पुनः साउन ५ गते सोही क्षेत्रमा अर्को पोल ढल्यो । बुटवलबाट आउने विद्युत् जडान हुन लामो समय लाग्यो ।

लुम्बिनी प्रदेशसभा सदस्य नारायण आचार्य, प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेय लगायत गल्याङमै पुगेर चार बुँदे सहमति गरेपछि लाइन जडान गर्न विपिसी तयार भएको हो । आवश्यक संरचना विद्युत् प्राधिकरणले बनाउने, आवश्यक समयमा विद्युत् लाइन लिने, लाइन चार्जका काम गर्ने लगायतका सहमति भएको छ । बुटवलदेखि ३३ केभी प्रशारण लाइन तानसेन ल्याइएको छ । जंगलको बाटो भएर ल्याइएकाले पटकपटक लाइनमा समस्या आउने गरेको छ ।

वर्षायाममा मात्र नभएर बाह्रै महिना विद्युत प्रशारणमा समस्या बेहोर्नु परेको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले बताए । ‘अब गल्याङबाट बैकल्पिक लाइन ल्याएपछि राहत पुग्नेछ,’ उनले भने, ‘विगतमा भएको सुविधा किन कटौती भएको हो भन्ने प्रश्न उब्जिरहेको थियो ।’ दैनिक रुपमा दर्जनौं पटक विद्युत काटौतीका कारण सास्ती खेप्दै आएका विद्यार्थी, उद्योगी, व्यापारी र संचारकर्मीले समेत नियमित विद्युत आपूर्ति हुने विश्वास लिएका छन् ।

बुटवल पावर कम्पनीले गल्याङमा आँधीखोला जलविद्युत् आयोजनामार्फत् ९ दशमलव ४ मेगावाट विद्युत् उत्पादन गरेर स्याङजा र पाल्पामा बितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेयले बुटवलबाट ल्याउने लाइन सडक सञ्जालबाट टाढाको जंगल तथा कठिन भौगोलिक रुट भएकाले पनि धेरै समस्या बेहोर्नु परेको बताए । ‘धेरैको गुनासो विद्युत् प्रति नै थियो,’ उनले भने, ‘अब गल्याङको लाइनले गर्दा समाधान हुने आशा गरिएको छ ।’

रुपन्देहीको योगीकुटी सबस्टेशनदेखि चौराहा सब–स्टेशन हुँदै ४० किलोमिटर ३३ केभी प्रशारण लाइन मार्फत सप्लाइ हुन्छ । जंगल तथा कठिन भौगोलिक रुट हुँदै आउने भएकाले लाइन फल्ट पत्ता लगाउन तथा समस्या समाधान गर्न बढी समय लाग्ने गर्छ । यहीबाट गुल्मी र अर्घाखाँचीको केही भागमा समेत विद्युत् सप्लाई हुन्छ । गुल्मीको रिडी र हुग्दीसेरबाट पनि विद्युत् लाइन जडान छ । तर आवश्यक पर्दा पावर धान्न नसक्ने समस्या छ ।

‘हावाहुरी चल्ने समय र वर्षात्को समयमा लाइन फल्ट आउने बढी समस्या थियो,’ लुम्बिनी प्रदेशसभा सदस्य डा. पुरनमान बज्राचार्यले भने, ‘लिफ्ट खानेपानीका लागि अझ समस्या थियो । अब समाधान हुन्छ भन्ने लाग्छ ।’ विद्युत् प्राधिकरणको कार्यकारी व्यवस्थापन तथा विपिसीको व्यवस्थापनबाट अहिलेको संरचना तथा प्राविधिक हिसाबले सम्भव भएसम्म बैकल्पिक व्यवस्थाका लागि उपलब्ध मिटरको ज्वाइन्ट मिटर रिडिङ गरी सप्लाई लिन सकिने भएको हो ।

जिल्ला समन्वय समितिकी कार्यवाहक प्रमुख मीरा मरासिनीले आँधीखोला पावरहाउवसबाट गल्याङ् बुटवल लाइनमार्फत् व्यवस्सायिक लाइन सुचारु भएको बताइन् । बैकल्पिक र भरपर्दो स्रोतको सुनिश्चितता हुनुका साथै मर्मतकार्य र बुट कटिङ कार्य गर्नसमेत सहज हुने भएको छ । विद्युत् विक्रीबाट प्राप्त हुने राजश्वमासमेत वृद्धि हुने छ । पाल्पामा पिक आवरमा ४ देखि ५ मेगावाट छ भने गुल्मी र अर्घाखाँचीसमेत गरी ७ मेगावाट खपत हुन्छ ।