October 18, 2021, Monday
१ कार्तिक २०७८, सोमबार

झरीमा काम, हप्ता दिनमै उप्कियो कालोपत्र

भैरहवा- भूमही–परासी सडक खण्डमा गरिएको कालोपत्र एक साता पनि टिकेन । असारे झरीमा हतार–हतार काम गर्दा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–११ रानिपाकडदेखि रामग्राम–१२ पचगवासम्म गरिएको कालोपत्र एक हप्तामै उप्किएर काम नलाग्ने भएको हो ।

यस खण्डको साढे चार किलोमिटर सडक मर्मत र कालोपत्र गर्न रिजाल कन्स्ट्रक्सन रूपन्देहीले २ करोड २४ लाख रुपैयाँमा ठेक्का लिएको थियो । आवधिक मर्मत अनुसार खाडल परेका स्थान र कालोपत्र उप्किएका स्थानमा गरिएको काम एक हप्ता पनि नटिकेपछि स्थानीय र सवारी चालकले दुःख र सास्ती भोग्नुपरेको छ । असार २५ गतेसम्म हतार–हतार काम भइरहेको थियो । असारको झरी सुरु भइसकेपछि कालोपत्र गरेकाले उप्किएको स्थानीयले आरोप छ ।

हतार–हतार कालोपत्र गर्ने र ओभरलोड सवारी साधन सञ्चालन भएका कारण वर्षाले कालोपत्र बगाएको रामग्राम–११ का भागीरथ चौधरीले बताए । सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर अशोक पौडेलले सडक धसिएको र भत्किएको पाइएकाले ठेकेदारलाई पुनः मर्मत सम्भार गर्न निर्देशन दिइएको जनाए ।

पाल्पाको हार्थोक–छहरा सडक अन्तर्गत रिब्दीकोट गाउँपालिकाको हार्थोकदेखि गाउँपालिकासम्म पुग्ने सडकका लागि असार ३० गते १ करोड बजेट निकासा भयो । हतार–हतार उपभोक्ता समिति गठन गरेर काम अघि बढ्यो । नाममात्रैको उपभोक्ता समितिले ठेकेदारलाई नाली निर्माण, गिट्टी, वालुवा, बेस, सब–बेसको काम झरीका बीच गरायो ।

झरी परेपछि कालोपत्रको काम भने हुन सकेन । हिउँदमा बजेट दिएको भए यो काम समयमै सकिन्थ्यो । तर, असारको अन्तिममा बजेट निकासा दिएकाले अहिले यो सडक खण्ड अलपत्र परेको स्थानीयले बताए । अघिल्लो वर्ष हार्थोक–देउराली सडक अन्तर्गत भएको कालोपत्रमा पनि यस्तै समस्या भएको थियो ।

झरीका बीच काम गर्दा गुणस्तरमा स्थानीयले प्रश्न उठाएका थिए । स्थानीय तहले भने यसलाई खासै वास्ता गरेन । कतिपय स्थानमा एक वर्ष नपुग्दै कालोपत्र उप्किसकेको छ । बर्तुङ–होलाङदी र ढुंगाखानी–हार्थोक सडक खण्डको काम सकिएको छैन ।

यहाँ गरिएको कालोपत्र एक महिना पनि नपुग्दै उप्किएको छ । बतासेडाँडा–ढुंगाखानीको ठेक्का फाइनल भइसकेको इन्जिनियर चौधरीले बताए । उनका अनुसार फाइनल नभएको काम जीवन एण्ड ब्रदर्सले लिएको हो । राजश्री कन्स्ट्रक्सनले लिएको कामको ठेक्का फाइनल भएको छ । तर पनि काम वर्षा लागेपछि भएको हो ।

कुनै पनि ठेक्काको काम गुणस्तरीय छैन । अघिल्लो वर्ष लागेका ठेक्काका काम पनि निर्माण व्यवसायीले वर्षायाम लागेपछि गर्दा काममा गुणस्तर देखिएको छैन । टालटुले काम वर्षायामको झरीसँगै बगिरहेको छ । ‘बेस, सब–बेस, कम्प्याक्सन .रोलर) मा भएको कमजोरीले गर्दा कालोपत्र राम्रो भएको छैन’, सडक डिभिजनका इन्जिनियर रामबिहारी चौधरीले भने, ‘निर्माण व्यवसायीको लापरबाही र अटेरीपनले गर्दा काम राम्रो भएन ।’