April 18, 2025, Friday
२०८२ बैशाख ५

संसद छलेर लुम्बिनी सरकारले ल्यायो अध्यादेशबाट बजेट

भैरहवा– लुम्बिनी प्रदेश सरकारले संसद छलेर अध्यादेशबाट बजेट ल्याएको छ । बिहीबार प्रदेश सभाबाट बजेट पास हुन नसकेपछि शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले अर्थ र विनियोजन अध्यादेश जारी गरेका थिए ।

यस्तै, मध्यरातमा सरकारको सिफारिसमा प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको थियो । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री एवं सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।

Advertisement

सरकारले आर्थिक वर्ष २०७८–७९ का लागि गएको असार एक गते ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । जसमा चालूतर्फ १४ अर्ब ९३ करोड र पुँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

संविधानअनुसार असारभित्र नै प्रदेश सभाबाट बजेट पारित हुनुपर्छ । तर बजेट पारित गर्न सरकारसँग बहुमत नपुगेपछि बिहीबार सत्ता पक्षले नै प्रदेश सभा बैठक बहिस्कार गरेर हिंडेको थियो ।

मन्त्री चौधरीले भने, ‘सरकारले असार १ गते प्रदेश सभामा पेश गरेको बजेट जस्ताको तस्तै अध्यादेशमार्फत ल्याएको छ ।’ प्रकृयामा गइसकेको बजेटलाई बिचैमा अलपत्र पारेर अल्पमतको सरकारले अध्यादेशबाट बजेट ल्याए सशक्त प्रतिवाद गर्ने घोषणा विपक्षी दलहरुले हिजो नै पत्रकार सम्मेलनमार्फत गरेका थिए ।

अध्यादेशबाट बजेट ल्याएपछि विपक्षीले सरकारको आलोचना गरेका छन् । उनीहरुले संसद छलेर सत्तापक्षले गैरराजनीतिक चरित्र देखाएको आरोप लगाएका छन् । अध्यादेशबाट बजेट ल्याउनुको कारण प्रष्टाउन आज दिउँसो बजे सरकारले पत्रकार सम्मेलन आयोजना गर्दै छ ।