November 8, 2024, Friday
२०८१ कार्तिक २३

फितलो पूर्व तयारी, भैरहवामा आगलागीबाट पाँच करोडको क्षति

भैरहवा- रुपन्देहीको भैरहवामा शनिबार रातिबाट लागेको आगो आइतबार बिहान मात्रै नियन्त्रणमा आएको छ । २० भन्दा बढी दमकलको प्रयोगले आगो नियन्त्रणमा लिइएको हो ।

सिद्धार्थनगर नगरपालिका–८ स्थित नारायणपथमा आगलागी भएको हो । नारायणपथमा रहेको सुन्दर ग्लास हाउसमा शनिबार राति सवा नौ बजेदेखि आगलागी भएको थियो । राति लागेको आगो आइतबार बिहान ५ बजेमात्रै नियन्त्रणमा आएको सिद्धार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारीले जानकारी दिए ।

Advertisement

आगो नियन्त्रणमा आए पनि पूर्णरुपमा निभेको थिएन । बिहान भैरहवामा ठूलो वर्षापछि पूर्णरुपमा निभाउन सहज भएको छ । प्लाइबोर्डको ठूलो गोदामसमेत रहेको घरमा विद्युत् सर्ट हुँदा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट दुई तल्ले घरसँगै गोदाममा रहेका सबै प्लाइबोर्ड नष्ट भएको छ । आगलागी हुँदा घरको माथिल्लो तल्लामा घरधनीसमेत रहेका व्यवसायी सुन्दर अग्रहरीको सपरिवार थिए । आगलागी पछि उनीहरुलाई भने सकुशल उद्धार गरिएको थियो ।

घरमै रहेको नगद, मोटरसाइललगाएय गरि करिब ५ करोड बढीको क्षति भएको घरधनी अग्रहरीले बताए । आगो नियन्त्रणका लागि दमकलसहित सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी र स्थानीय खटिएका थिए । तर, आगो नियन्त्रण लिन हम्मेहम्मे परेको थियो ।

आगलागी नियन्त्रणकै लागि जिल्लाको सिद्धार्थनगर, बुटवल, तिलोत्तमा, सैनामैना, लुम्बिनी, गौतमबुद्ध बिमानस्थल, नेपाल आयल निगममा रहेका दमकलका साथै छिमेकी जिल्लाहरु नवलपरासी, कपिलवस्तु र सुनवल नगरपालिका लगायतका ठाउँबाट दमकल ल्याइएको थियो ।

फितलो पूर्व तयारीले गर्दा ठूलो क्षति भएको स्थानीयले आरोप लगाएका छन् । स्थानीयका अनुसार आगलागी पछि आगो निभाउन आएका कतिपय दमकलमा पानी न्यून मात्रमा थियो । ‘दमकल भरीको पानी १० मिनेटमै सकिन्थ्यो, भरी पानी पनि नभएको दमकल ल्याएर कसरी आगो निभ्छ’, एक स्थानीयले भने ।

जोखिमलाई ख्याल गरी स्थानीय तहले दमकल पूर्व तयारीमा राख्नु पर्ने हुन्छ । तर, राति लागेको आगो निभाउन दमकल निकै ढिला आए । आएकामा पनि पानी छिटो सकियो । जसले गर्दा मानवी क्षति नभए पनि धनमालको ठूलो क्षति भएको हो । वर्षा याम भएकाले पनि धेरै स्थानीय तहमा रहेका दमकलमा पानी नभरी राख्ने गरिएको छ । यसले गर्दा आगामी भइहाले क्षति बढी हुने गरेको छ । यसको परिणाम शनिबार राति भैरहवामा लागेको आगलागी हो ।