April 23, 2025, Wednesday
२०८२ बैशाख १०

बाँकेमा यस वर्ष छिटो रोपाइँ

बाँके– धान दिवस असार १५ सम्म बाँकेका खेतियोग्य जग्गा सुख्खै हुन्थे । किसानले खेत जोत्थे । धानको बीउ छर्थे । रोपाइँ सुरसार थिएन । यो बेला छिमेकी जिल्ला बर्दियाका पानी लाग्ने खेतमामात्रै रोपाइँ सुरु हुन्थ्यो । तर यो वर्ष समयमै पानी परेपछि किसानहरुले असारको तेस्र्रो सातामै धमाधम रोपाइँ सकिएको छ ।

दुई दशकपछि छिटो रोपाइँ भएको हो । समयमै पानी परेपछि किसानले जेठ महिनाको दोस्रो सातामै ब्याड राखे । असार सुरु भएलगत्तै पानी पाएका किसानले धान रोपाइँ सक्दैछन् । यसअघि बाँकेमा सिंचाई अभावमा भदौको अन्तिमसम्म रोपाइँ गर्नुपर्ने बाध्यता थियो ।

Advertisement

ट्युबेलले सिंचाई गरेर रोपाई गर्थे । ‘पोर साउनको पहिलो हप्तामा रोपाइँ सकिएको थियो । यो वर्ष रोपाइँ गरेर सकेको छु । मौसमले साथ दिएपछि निकै छिटो रोपाइँ भयो,’ खजुरा गाउ“पालिका उढरापुरका गरीबे यादव भन्छन्, ‘मेरो अनुभवमा यति छिटो रोपाइँ कहिले भएको थिएन । रोपाइँ गर्न पाउँदा निकै खुसी लागेको छ ।’

उनका अनुसार यो वर्ष पानीका लागि आर्थिक बोझ खेप्न परेन । बर्षा नभएको वर्ष उनले ट्युबेलबाट पानी तानेर रोपाइँ गरेको अनुभव सुनाए । ‘पानीका लागि निकै सास्ती खेप्न परेको थियो । ट्युबेलबाट पानी तन्दा डिजल किन्न परेको थियो,’ उनले भने, ‘यो वर्ष महादेव खुसी छन् । समयमै पानी दिएपछि हामीले रोपाइँ सक्यो ।’

बाँकेको सुख्खा क्षेत्र कोहलपुर नगरपालिका, बैजनाथ, खजुरा, जानकी गाउँपालिका किसानले पनि धान रोपाइँ सकेका छन् । राप्ती नदीको राजकुलोबाट सिंचाई हुने राप्ती सोनारीका किसानले एक साताअघि नै रोपाइँ सकेका हुन् । ‘पानी समयमै परेकाले बीउ राख्न सजिलो भयो । समयमै पानी पाएपछि रोपाइँ सकेका छौं,’ राप्ती सोनारी गाउँपालिका खैरहनीका किसान सुन्दर चौधरी भन्छन् ।

बाँकेमा ५२ हजार २ सय ३८ हेक्टर खेती योग्य जग्गा छ । ३६ हजार ५ सय हेक्टर जग्गामा धान खेती हुन्छ । आकासे बर्षाले साथ दिएको बर्ष बाँकेमा करिव १ लाख ३८ हजार ७ सय टन धान उत्पादन हुने गरेको छ । त्यस्तै बर्दियामा ५२ हजार २ सय ५० हेक्टर जग्गामा धान रोपाइँ हुने गरेको छ । बर्दियामा अधिकांश क्षेत्रमा रोपाइँ सकिएको छ ।