September 21, 2023, Thursday
४ आश्विन २०८०, बिहीबार

लागत साझेदारीमा तिलोत्तमाका ५० किसानलाई गाई

तिलोत्तमा- तिलोत्तमा नगरपालिकाको वडा नं. १२ का ५० जना किसानले लागत साझेदारीमा एकएक वटा गाई प्राप्त गरेका छन् । किसानलाई व्यवसायिक पशुपालनमा अग्रसर गराउन तिलोत्तमा नगरपालिकाले ५० प्रतिशत लागत साझेदारीमा किसानलाई गाई खरिद गर्नेगरी अनुदान उपलब्ध गराएको हो ।

Advertisement

संघीय कार्यक्रमअनुसार नगरपालिकाले लागत साझेदारीमा गाई प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको पशु विकास शाखाले जनाएको छ । किसान समेतको लागत साझेदारीमा कुल ४३ लाख ६० हजारको बजेटमा किसानलाई गाई खरिदमा अनुदानको अतिरिक्त पशुबीमा, आवश्यक औषधि, औजारसमेत उपलब्ध गराइएको पशु विकास शाखाले जनाएको छ ।

Advertisement

वडा नं. १२ का पाँच वटा पशुपालन समूहमार्फत् किसानले लागत साझेदारीमा गाई खरिद गरेका हुन् । किसानलाई औषधि तथा कृषि औजार वितरण गर्दै कार्यवाहक नगर प्रमुख जगेश्वरदेवी चौधरीले अनुदान रकमको सदुपयोग गर्न किसानलाई आग्रह गरिन् । तिलोत्तमा दुधमा आत्मनिर्भर रहेको र किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले प्रतिलिटर दुधमा एक रुपैंयाँ अनुदान समेत दिने गरेको बताउँदै उनले नगरपालिकाले उपलब्ध गराएका सेवासुविधा लिन किसानलाई आग्रह गरिन् ।

यस्तै वडाध्यक्ष सहदेव थारुले जनप्रतिनिधिहरु सधै किसानको पक्षमा रहेको चर्चा गर्दै व्यवसायिक पशुपालन गर्न किसानलाई आग्रह गरे । लागत साझेदारीमा गाई प्रवद्र्धन कार्यक्रम सञ्चालन समिति संयोजक कृष्णप्रसाद पौडेलले गाई खरिदका अतिरिक्त औषधि र उपकरणमा किसानलाई प्राप्त सहयोगले किसानलाई कृषि कर्ममा लाग्न अभिप्रेरित गरेको उल्लेख गरे ।