ठेकेदारको लापरवाही, आयोजनाको बेवास्ता, दुई दर्जन उद्योग डुबानमा


भैरहवा- जमेको पानीले सहज निकास नपाउँदा सामान्य बर्षा हुँदा पनि भैरहवा–बुटवल सडक खण्ड अन्तर्गत ओमसतिया–२, पड्सरीमा संचालित दुई दर्जन भन्दा धेरै उद्योग डुबानमा पर्ने गरेका छन् । नालीसहितको सडक निर्माण गरेको ठेकेदार कम्पनीले ठाउँठाउँमा जाम भएको नाली सफा गर्नेतर्फ वेवास्ता गर्नाले ती उद्योगसहित केही घर डुबानमा पर्ने गरेका हुन् ।
उद्योग परिसरमा जम्मा भएको पानीले निकास पाउन धेरै दिन लाग्ने गरेकाले सामान्य वर्षाको वेला पनि उद्योग बन्द गर्नु पर्ने बाध्यता व्यवसायीलाई छ । एभरेष्ट रोलिङ इण्डष्ट्रिजका संचालक तथा सिद्धार्थ उद्योग बाणिज्य संघका उपाध्यक्ष अरुण गोयन्काले सडक स्तरोन्नती गरेसंगै सडक किनाराका नाला चौडा नहुनु र भएको नाली पनि सफा नगरिनुले डुबानको समस्या आएको बताए ।
‘पहिला सडक होचो भएकाले वर्षाको पानी सहजै बगेर जाँदा डुबानको समस्या थिएन’, गोयन्काले भने, ‘अहिले, सडक छ लेनको बनेपछि सडक त चौडा भयो तर त्यही अनुरुप नाली चौडा भएन । साँघुरो नालीमा धेरै पानी बग्न सकेन ।’ दुई फिटको नाली पनि सफाइ नगरिँदा सडकमा जम्मा भएको वर्षाको पानी छेउछाउका उद्योग र बस्तीमा पस्ने गरेको उनले बताए ।
जमिनको बनावट होचो भएकाले बुटवल योगिकुटीदेखि वर्षाको वेला जम्मा भएको पानी बग्दै भैरहवातर्फ आउने गर्छ । लामो दुरीदेखि बग्दै आएको पानीलाई निकास दिने नाली पर्याप्त र चौडा भने छैनन् । साविकका कैयन् सार्वजनिक नाला र घोला नजिकका जग्गा धनी र भूमाफियाले आफ्नो स्वामित्वमा ल्याएर पुरेका छन् । जग्गा प्लटिङवालाले सार्वजनिक कुलोमा सडक निर्माण गरेका छन् । जसका कारण भैरहवा–बुटवल सडक खण्डको ओमसतिया क्षेत्र डुबानमा परेको छ ।
छ लेनको सडक निर्माण गर्दा पानीको निकासका लागि बनाइएको सानो दुवै किनारको नाली पनि जाम भएकाले नालीबाट पानी बग्दैन । नाली निर्माण गरेको ठेकेदार कम्पनीले नाली सफा नगरी माथिबाट ढकनी लगाइदिएकाले नाली भित्र ढुंगा, माटो, गिट्टी बालुवाले नाली पुरिएको छ । पुरिएको नाली ढकनी खोलेर सफा गराउनेतर्फ आयोजनाले पनि पहल गरेको छैन । नत, निर्माण सामाग्री सफा नगरि नाली माथि ढकनी लगाइदिने वेलामा नै आयोजनाले अनुगमन गर्यो ।
ठेकेदार र आयोजनाको लापरबाहीबाट सिर्जित समस्या अहिले उद्योगी र स्थानीयले खेप्नु परेको छ । ओमसतिया गाउपालिका–२ का वडा अध्यक्ष ज्ञानेश श्रेष्ठले सडक र नाली निर्माण गरेको बिरुवा कन्ट्रक्शनले हस्तान्तरण नगरेकाले उसले निर्माण गरेको नालीमा ढकनी खोलेर सफाइ गर्न नपाइदा डुबानको समस्या भएको बताए ।
‘हस्तान्तरण नहुँदासम्म न हामीले सफा गर्न पाएका छौं नत ठेकेदारले नै सफा गरिदिएको छ’, श्रेष्ठले भने, ‘नाली सफा गर्नका लागि सम्पर्क गर्दा न ठेकेदारका कार्मचारी भेटिन्छन् नत ठेकेदारले फोन नै उठाउछ ।’
सडक किनाराको नाली निर्माणको क्रममा प्रयोग गरिएको माटो, ढुंगा, गिट्टी र बालुवाले ठाउँठाउँमा पुरिएको र त्यसमाथि ढकनी लगाइदिएपछि वर्षाको पानी नबग्दा त्यो क्षेत्रका सवै उद्योग, केही घरबस्ती र ८० बिघा जमिनमा पर्ने गरेको श्रेष्ठले बताए ।
‘एक हप्ता अघि जमेको बर्षाको पानीलाई अभैm निकास दिन सकेका छैनौं’, उनले भने, ‘सडक निर्माण कै क्रममा पनि धेरै पानी जम्ने स्थानमा पानी बहावका लागि पर्याप्त उपाय खोजिनु पर्नेमा नखोजिनु प्राविधिक कमजोरी हो ।’
त्यस क्षेत्रमा अरुण एग्रो इण्डष्ट्रिज, एभरेष्ट रोलिङ, श्याम मोडर्न दाल मिल, श्याम पोलिमर्श उद्योग, लुम्बिनी पोलीमर्श उद्योग, रत्न आइरन इण्डष्ट्रिज, फेरो स्टील इण्डष्ट्रिज, अपीत दाल मिल लगायत दुई दर्जन भन्दा धेरै उद्योग छन् । सामान्य वर्षाले पनि डुबान भएपछि उद्योगको मेशिन पानीले डुब्ने र करेन्ट समेत लाग्ने भएकाले उद्योग नै बन्द गर्नु पर्ने भएको व्यवसायी बताउँछन् ।
एक हप्ता अघि दुई दिनसम्म परेको सामान्य वर्षाको डुबानले ६ दिनसम्म उद्योग बन्द गर्नु परेको गोयन्काले जनाए । बेलहिया–बुटवल छ लेन व्यापारिक मार्ग बिस्तार आयोजना प्रमुख जयलाल मरासिनीले उक्त सडकखण्ड हस्तान्तरण नगर्दासम्म नाली सफा गर्ने जिम्मेवारी ठेकेदारकै हुने र चाँडो निर्माण सम्पन्न गरि हस्तान्तरण गर्नका लागि बारम्बार पत्राचार गर्दा पनि अटेर गरेको बताए ।
‘चाडो काम सम्पन्न गर्नका लागि ठेकेदारले अटेर गरेकाले प्रशासनिक सहयोग लिइएको छ’, मरासीनीले भने । ठेकेदार निर्माण कम्पनीका तर्फबाट खटिएका ईञ्जिनियर प्रविण मिश्रले लकडाउनका कारण काम गर्दा गर्दै सवै कामदार हिँडेकाले गर्नु पर्ने काम रोकिएको बताए । लकडाउनको अवस्था सामान्य भएपछि जाम भएको ठाउँमा नाली सफा गर्ने उनले जनाए ।








प्रतिकृया दिनुहोस्