October 24, 2021, Sunday
७ कार्तिक २०७८, आईतवार

मायादेवीको बजेट ६३ करोड ८७ लाख, स्वास्थ्य, कृषि र पूर्वाधार प्राथमिकतामा

भैरहवा– रुपन्देहीको मायादेवी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि ६३ करोड ८७ लाख ४४ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।

बुधबार पालिकाले वार्षिक नीति तथा कार्यक्रम एवम् बजेट सार्वजनिक गरेको हो । गाउँपालिका अध्यक्ष धु्रव नारायण चौधरी नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै स्वास्थ्य, शिक्षा, कृषि तथा पूर्वाधारलाई प्राथमिकता दिइएको जनाए ।

पालिकाले संघीय सरकारबाट ४५ करोड १ लाख १५ हजार, प्रदेश सरकारबाट २ करोड ९५ लाख ४४ हजार प्राप्त हुने प्रक्षेपण गरेको छ । यस्तै, गाउँपालिकाकै बैंक मौज्दात ९ करोड ४८ लाख छ । आन्तरिक आय ६ करोड ५० लाख रुपैयाँ हुने अनुमान गरिएको अध्यक्ष चौधरीले बताए ।

खर्चतर्फ भने पूंजिगत खर्च ३८ करोड ३२ लाख ४६ हजार ४ सय रुपैयाँ र चालुतर्फ २५ करोड ५४ लाख ९७ हजार ६ सय रुपैयाँ हुने अनुमान गरिएको छ । गाउँपालिकाले अहिले वडामा १ करोड ५० लाखको बजेट सिलिङ तोकेको जनाएको छ ।

बजेट पेश गर्दै गाउँपालिका अध्यक्ष चौधरीले कोरोना रोकथाम र नियन्त्रणका लागि अपनाइने स्वस्थ्य सुरक्षा तथा औषधी उपचारका लागि बजेट ब्यवस्थापन गर्दै महामारीबिरुद्ध केन्द्रित रहि बजेट ब्यवस्थापन गरिएको जानकारी दिए ।

गाउँपालिकाले सेवा प्रवाहको कार्यचाप मध्यनजर गर्दै अतिरिक्त समयमा सेवा दिने राष्ट्रसेवक कर्मचारीको मनोबल उच्च पार्न प्रोत्साहन स्वरुप कार्यालयमा कार्यरत स्थायी कर्मचारीहरुलाई सुरु तलब स्केलको २५ प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय समेत गरेको छ । यस्तै करारका कर्मचारीलाई २० प्रतिशत प्रोत्साहन र स्वस्थ्यकर्मिहरुको लागी उचित जोखिम भत्ताको लागी समेत बजेट विनियोजन भएको चौधरीले बताए ।

मायादेवीको नीति तथा कार्यक्रमः गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा, कृषि र पूर्वाधार विकासमा जोड