November 8, 2024, Friday
२०८१ कार्तिक २४

भैरहवाका तीन व्यवसायिक प्रतिष्ठानलाई जरिवाना

भैरहवा– मापदण्डविपरीत व्यवसाय संचालन गर्ने रुपन्देहीका तीन व्यवसायिक प्रतिष्ठानलाई जरिवाना गरिएको छ । शुक्रबार जिल्ला अनुगमन समितिले सिद्धार्थनगर नगरपालिका– ४ का आर.के.एग्रो इण्डष्ट्रिज, सिद्धार्थनगर–६ को नीमा किराना पसल, सिद्धार्थनगर–४ को अम्बे इन्टरनेशनललाई जरिवाना गरेको हो ।

जिल्ला प्रशासन कार्यालय, बाणिज्य कार्यालय र जिल्ला प्रहरीको संयुक्त अनुगमन समितिले आर.के. लाई ५० हजार, अम्बेलाई २० हजार र नीमालाई ५ हजार रुपैयाँ जरिवाना गरेको सहायक प्रमसख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।

Advertisement

‘अनुगमनका क्रममा भ्याटबिल काट्नु पर्नेमा इष्टिमेट विल काटेको, लेबलिङ, मूल्य सूचि, खरिदविक्री दरमा एकरुपमा नभएको पाइएपछि कारबाही स्वरुप जरिजाना गरिएको हो’, पौडेलले भने ।

अनुगमन समितिले बिहीबार पनि अनुगमनका क्रममा बुटवलको स्मृति ट्रेडर्स र पड्सरीको शिवजी शब्जी भण्डारलाई २०÷२० हजार रुपैयाँ जरिवाना गरेको थियो । महामारीको मौका छोपेर उपभोक्तलाई ठगेको व्यापक गुनासो आएपछि प्रशासनले अनुगमनलाई तीव्रता दिएको पौडेलले जनाए ।

‘लामो समय निषेधाज्ञा भयो, हामीले पछिल्लो समय निषेधाज्ञालाई केही खुकुलो बनाएका छौं । निषेधाज्ञा खुकुलो हुँदावित्तिकै व्यवसायी ठगी गरेको गुनासो आयो । अनुगमनका क्रममा पनि त्यो पाइयो । केहीलाई तत्काल कारबाहीस्वरुप जरिवाना गरेका छौं । उपभोक्तामाथि खेलवाड गरे थप कारबाही गछौं’, उनले भने ।

जरिवाना तोकिएका व्यवसायिक प्रष्ठिानले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (घ) बमोजिमको कसूर गरेको पाइएकाले सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना गरिएको बाणिज्य कार्यालयले जनाएको छ । जरिवाना गरिएका फर्मलाई ७ दिनभित्र जरिवाना रकम दाखिला गर्न अनुगमन समितिले निर्देशनसमेत गरेको छ ।

बाणिज्य कार्यालय प्रमुख टेकराज भट्टराईले उपभोक्तालाई ठग्ने, ऐन, नियम उल्घंन गर्नेलाई कानूनी दायरामा ल्याइने बताए । उनले भने, ‘अनुगमनलाई अब निरन्तरता दिन्छौं, कसैले उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरेको पाइए त्यसलाई तुरुन्त कारबाही गर्छौ ।’ अनुगमन समितिले भर्खरै बजार खुलेको मौकामा केही गलत मनसाय भएका व्यवसायी उपभोक्ता ठग्ने उद्देश्यको साथ अघि बढेको हुनसक्ने आशंका गरेको छ । समितिले शुक्रबार भैरहवाका आधा दर्जन व्यवसायिक प्रष्ठिान एवं फर्महरुमा अनुगमन गरेको थियो ।