June 1, 2023, Thursday
१८ जेष्ठ २०८०, बिहीबार

प्रतिमान–नीमा प्रतिष्ठानद्वारा १३ अस्पताललाई सहयोग

भैरहवा– प्रतिमान–नीमा स्मृति प्रतिष्ठान, भैरहवाले लुम्बिनी प्रदेशका १२ जिल्लाका १३ वटा सरकारी अस्पताललाई २ करोड ७० लाख रुपैयाँ बराबरका विभिन्न स्वास्थ्य सामाग्री निःशुल्क उपलब्ध गराउन सुरु गरेको छ ।

Advertisement

लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठबाट आज बिहान बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताललाई ती स्वास्थ्य साामाग्री हस्तान्तरण गराएर प्रतिष्ठानले यसको सुरुवात गरेको हो ।

अमेरिकास्थित ‘होप’ नामक प्रोजेक्टको सहयोगमा प्रतिष्ठानले कोभिड–१९ बिरुद्ध लड्नका लागि ती स्वास्थ्य सामाग्री उपलब्ध गराउन लागेको प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले बताइन् ।

‘कोभिड–१९ को महामारीबाट उत्पन्न अहिलेको असहज परिस्थितिमा यसबिरुद्ध लड्न राज्यलाई सहयोग पुर्याउने उद्देश्यले स्वास्थ्य सामाग्री जुटाई सहयोग गर्न सुरु गरेका हौं’, उनले भनिन् ।

प्रतिष्ठानले स्वास्थ्य सामाग्री उपलब्ध गराउने अस्पतालमा, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, राप्ती प्रादेशिक अस्पताल तुल्सीपुर दाङ, भेरी अस्पताल नेपालगंज, भीम अस्पताल भैरहवा, पृथ्वीचन्द्र अस्पताल परासी, कपिलबस्तु अस्पताल तौलिहवा, रामपुर अस्पताल पाल्पा, गुल्मी अस्पताल तम्घास, अर्घाखाची अस्पताल सन्धिखर्क, प्यूठान अस्पताल बिजुवार, रोल्पा अस्पताल लिवाङ, रुकुम अस्पताल रुकुम पूर्व र बर्दिया अस्पताल गुलरिया छन् ।

प्रतिष्ठानले अस्पतालहरुलाई अक्सिजन कन्सन्ट्रेटर १० लिटरको ९० थान, अक्सिजन सिलिण्डर १ सय १५ थान, मेडिकल टेन्ट ५ थान, वाइप्याप मेशिन ५ थान, आईसीयु बेड ५ थान, पीपीई सेट २ हजार २ सय थान, सेनिटाइजर १ हजार १ सय ५० लिटर, सर्जिकल मास्क १२ हजार थान, सर्जिकल ग्लोब्स २ हजार थान, फेसशिल्ड ४ हजार थान, सर्जिकल क्याप ४ हजार थान सामाग्री उपलब्ध गराउने छ ।

आवश्यकता, बिरामीको चाप र जनसंख्याको आधारमा स्वास्थ्य सामाग्री बितरण गरिने र लुम्बिनी प्रदेशमा रहेका सरकारी अस्पताललाई अन्य सामाग्री जुटाउनका लागि भोलीका दिनमा पनि प्रतिष्ठानले पहल जारी राख्ने कार्यकारी निर्देशक थापाले बताइन् ।

प्रतिष्ठानले रुपन्देहीको रोहिणी, शुद्धोधन र सियारी गाउँपालिकाले संचालन गरेको आइसोलेशन सेन्टर र कोभिड विशेष अस्पताललाई पनि स्वास्थ्य सामाग्री उपलब्ध गराउने प्रतिष्ठानका निर्देशक धर्म केसीले बताए ।

केसीका अनुसार यी पालिकाका आइसोलेसनमा प्रतिष्ठानले अक्सिजन कन्सन्ट्रेटर १० लिटरका १/१ थान, अक्सिजन सिलिन्डर ५/५ थान, पीपीई ५०/५० थान, सेनिटाइजर ५०/५० लिटर, सर्जिकल मास्क १/१ हजार थान, सर्जिकल ग्लोबस ५०/५० थान, फेसशिल्ड ५०/५० थान र सर्जिकल क्याप ५०/५० थान प्रदान गरिने छ ।

‘हामीले तीन महिनासम्मको लागि ३ वटै पालिकाभित्रका नागरिकहरुको कोभिड–१९ को कारणबाट मुत्यु भएका प्रत्येक परिवारलाई मृत्यु संस्कारका लागि राहतस्वरुप १० हजार प्रदान गरिने छ’, केसीले भने । यस्तै प्रतिष्ठानले रोहिणीको आइसोलेसन सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी र विारमीहरुका लागि तीन महिना सम्मका लागि खानाको व्यवस्था समेत गरेको छ ।

गत वर्ष कोभिड–१९ को महामारीलाई मध्यनजर गरी संस्थाले भवन र भवन परिसरलाई क्वारेन्टिन र होल्डिङ सेन्टर संचालन गर्नका लागि उपलब्ध गराएको थियो । नेपाली सेनाको समन्वयमा ९ महिनासम्म क्वारेन्टिन र होल्डिङ सेन्टर संचालन गरी २४ हजार नागरिकलाई आफ्नो गन्तव्यमा पुर्याइएको थापाले बताइन् ।