July 3, 2026, Friday
२०८३ असार २० शनिबार

पत्रकारलाई प्रमुख प्रशासकीयको प्रश्नः कसले पठाएर आउनु भो ?

Advertisement

चार दिन अगाडिको प्रसंग हो । रुपन्देहीको मर्चवारीमाई–७, स्थित बगौलीमा नयाँ निर्माण गरिएको नालाको एउटा पर्खाल ढलेको थियो । निर्माणका क्रममै नालाको एकापट्टीको पर्खाल भत्किएपछि स्थानीय बासिन्दा र मर्चवारका बासिन्दाले निर्माणकार्य प्रति रोष प्रकट गरिरहेका थिए ।

Advertisement

बगौलीमा निर्माण भइरहेको नालाको करिब एक समय पर्खाल भत्किएको थियो । सडकपट्टीको पर्खाल टिकेको थियो । उत्तर–दक्षिण रहेको सडकको पूर्वपट्टि अर्थात् स्थानीय बासिन्दाको आँगनसित जोडिएको पर्खाल ढलेको थियो । निर्माण सकिएको एकसाता पनि पूरा भएको थिएन । त्यहीँ बेला पानी परेपछि पर्खाल टिक्दैं टिकेन । एक लट वर्षातले गल्र्याम्म ढल्यो ।

पर्खालको गुणस्तर र निर्माणमा भएको लापारबाहीबारे सामाजिक सञ्जालमा छताछुल्ल भयो । सामाजिक सञ्जालमा सार्वजनिक गरिएका तस्बिरमा पनि पर्खाल ढलेको प्रष्ट देखिन्छ । सरकारी बजेटमा निर्माण गरिएको पर्खाल भत्किएको देखेपछि सञ्चारकर्मीले पनि चासो दिन थाले । सरकारी प्राविधिकले नापजोख गरेर डिजाइन तयार गरेपछि निर्माणका काम सुरु गरिन्छ । निर्माण कसरी गर्नेदेखि के–के सामाग्री प्रयोग गर्ने भन्ने पनि स्पष्ट हुन्छ । त्यो भन्दा ठूलो कुरा त निर्माणस्थल उपयुक्त छ–छैन हेरर अनुकुल डिजाइन तयार गरिन्छ । स्थानीय बासिन्दाका अनुसार सबैं पक्रिया कागजमा सिमित गरिए । बगौंलीमा निर्माण गर्दा हतार मात्र गरियो ।

झमझम पानी परेर आसपास बस्तीको माटो सोहरेर नाला निर्माण स्थलमा पुर्यायो । पर्खालका लागि खनिएको जग माटोले पुरियो । निर्माणकर्मीले पर्खालको जग बनाउने क्रममा माटो सफा गरेनन् । उल्टै त्यही माटोमाथि पर्खाल ठड्याए । जसले गर्दा पर्खालको जग बलियो भएन । पानी पर्ने वित्तिकै ढल्यो ।

स्थानीय वडाले प्रकृतिले नैं अन्याय गरेको जवाफ दियो । पानी परेकाले पर्खाल भत्किएको दाबी गरेको छ । बगौलीमा नालाको पर्खाल भत्किएको खबर पालिकाकी उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत उपमन्यू त्रिपाठीलाई पनि थियो । वडाध्यक्ष गणेश चौधरी (कुर्मी)ले बेलैंमा जानकारी पनि गराए । त्यसपछि उपाध्यक्षले अनुगमन पनि गरिन् ।

निर्माणस्थलमा गरिएको लापरबाहीबारे अवलोकन र रिपोर्टिङका लागि भैरहवाबाट पत्रकार पुगे । मर्चवारीमाई गाउँपालिकालाई सायद यस्तो अपेक्षा थिएन । पत्रकार स्थलगत रिपोर्टिङका लागि गाउँमै आइपुग्छन भन्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी थिएन । नाला निर्माण भइरहेको स्थानबारे सोधपुछ गर्दै पत्रकार अगाडि बढिरहेका थिए । त्यहीँ क्रममा बगौंली नजिकैं सडकको उत्तरतर्फ साइडमा पालिकाको स्कर्पियो गाडी देखियो । मोटरसाइकल रोकेर हेर्दा गाडीमा प्रमुख प्रशासकीय अधिकृत र उपाध्यक्ष बसेका थिए ।

गाडी साइड लगाएर उनीहरुले ठेलाबाट चार्ट अर्डर गरेर खाइरहेका थिए । अघिल्लोपटकको भेटमा प्रमुख प्रशासकीय अधिकृतले पालिकामा माटाका भाँडाकुँडा प्रवर्द्धन गर्ने जनाएका थिए । स्थानीय कुमाल समुदायको जीविकोपार्जनका लागि माटाका सामग्री उपयोगमा जोडदिने उनको भनाई थियो । तर, उक्त दिन उनले कागजको पिलेटमा चाट मगाएर खाइरहेका थिए । हुन त गर्मी थियो । अमिलो, पिरो ट्वाक्क खान मन लाग्यो होला । हाकिमलाई अर्डर गर्दिएँ भो । सेवा गर्नेको कमी थिएन । तर, प्रमुख प्रशासकीय अधिकृत र उपाध्यक्षले चाट खाएर कागजका पिलेट गाडीको झ्यालबाट भुँइमा फ्याँकेका थिए । त्यो दृश्य नमिठो थियो, आधा दर्जन जति प्लाष्टिकका पिलेट फ्याँक्दा प्रदूषित हुन्छ भन्ने समेत बुझेनन् । यसबारे ‘बरिष्ठ’हरुले ध्यान दिएको देखिएन ।

सञ्चारकर्मीले प्रमुख प्रशासकीयसित नाला निर्माणमा के भएको हो ? भनाई दिनु पर्यो भने । उनले नाला निर्माणका क्रममा कमसल सामग्री प्रयोग नगरिएको दाबी गरे । पर्खाल ढलेको कुरालाई सामान्य जस्तै बनाएर पर्खाल नुटिक्रिएकाले स्तरीय काम गरिएको बताए । प्रदेश सरकारको ५ लाख लगानीमा निर्माण भइरहेको नालाको ठेक्का पक्रियादेखि सबै काम पालिकाले नै गरेको हो । सञ्चारकर्मीले जिज्ञासा राखेपछि प्रमुख प्रशासकीले मुस्कुराउँदैं भने, ‘तपाईंहरुलाई कसले पठाएर आउनु भएको हो ?’ उनको प्रश्न सबैंभन्दा दिक्दार लाग्दो थियो ।

कुनै जानकारी र सूचना पाएपछि पत्रकार स्थलगत रुपमा अध्ययन गर्न पुग्छन् । त्यसका लागि पत्रकारको विवेकले काम गर्छन् । न कि कसैले उर्दी जारी गर्नुपर्छ । त्यसमाथि जिम्मेवार सञ्चारकर्मीसित त्यस्तो प्रश्न गरिनुले उनको मनस्थिति बुझ्न अप्ठयारो भएन ।

पत्रकार पालिकाको भवनमा, हाकिमको कार्यकक्षमा पनि पुग्छन् । त्यसरी पुग्ने कुन पत्रकार कस्तो हो ? उसको पृष्ठभूमि के हो ? किन आएको हो ? नियत के हो ? कम्तिमा सरकारी परीक्षा उत्तीर्ण गरेर आएका अफिसरलाई यतिसम्म त ज्ञान हुनुपर्ने हो । हाकिमले बुझ्ने पत्रकारिता चाकडीको हुन सक्छ । तर, हामीले गर्ने पत्रकारिता प्रश्नमा अडिग छ ।

त्यसैले समाचार लेख्ने ढंग भएका र पत्रकारितामा जीवन उत्सर्ग गरेका सञ्चारकर्मीलाई कसैले न पठाउनु पर्छ, न बोलाउनु नै पर्छ । सूचना पायो कि आफै पुगिहाल्छन् । पुगेर प्रश्न गर्छन् । चित्त बुझ्दो जवाफ नमिल्ने वित्तिकैं समाचार लेख्छन् । हामी नागरिकका आवाज लेख्ने काम गर्छौं । त्यसैले पालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय हाम्रा लागि कर्ता मात्र हुन् । सरकारी संरक्षक होइन । जनताले तिरेको करबाट सेवा सुविधा बुझ्नेले पत्रकारलाई अवदेखि नसोधुन– तपाईंलाई कसले पठाएको हो ? भनेर ।