नगरपालिकाले सोध्यो एभरग्रिन लाइफ हस्पिटललाई स्पष्टिकरण, चित्तबुझ्दो जवाफ नआए शिल गर्ने चेतावनी


लुम्बिनी– लुम्बिनी सांस्कृतिक नगरपालिकाले वडा नम्बर १० मा संचालित एभरग्रिन लाइफ केयर हस्पिटल प्रालिलाई स्पष्टिकरण सोधेको छ । वडा नम्बर १० को महजिदियामा रहेको उक्त अस्पतामा स्वीकृत विना र बेहोस बनाउने चिकित्सक, आईसीयू लगायतका अत्यावश्यक उपकरण विनै जटिल शल्यक्रिया हुँदै आएको छ ।
यसबारे पब्लिक कुराले अस्पतालमै पुगेर वास्तविकता बाहिर ल्याएको थियो । पब्लिक कुराले अस्पतालको सेवासुविधालाई लिएर नगरपालिकालाई प्रश्न गर्नुका साथै समाचार प्रकाशन गरेको थियो । यसपछि नगरपालिकाले अस्पताललाई स्पष्टिकरण सोधेको हो ।
पालिकाले स्पष्टिकरण सोध्दै भनेको छ, ‘प्रस्तुत विषयमा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १० महजिदियामा दर्ता भई १५ शय्याको हस्पिटलको रुपमा सेवा प्रदान गर्दै आएकोमा, हस्पिटलका सम्बन्धमा पटक पटक उजुरी तथा गुनासो जिल्ला प्रशासन कार्यालय एवम् पालिकामा आएकोले सो सम्बन्धमा यस अगाडि लुम्बिनी साँस्कृतिक नगरपालिका र नेपाल प्रहरीको संयुक्त टोलीले अनुगमन गरिएको व्यहोरा विधितै छ । सो सम्बन्धमा तोकिएको मापदण्ड भन्दा बाहिरका सेवाहरु हालसम्म पनि संचालन गरेको भनि जिल्ला प्रशासन कार्यालयमा तहाँ हस्पिटलको नाममा उजुरी परेको हुनाले उल्लेखित उजुरीको सम्बन्धमा के कसो भएको हो ? सो को सम्बन्धमा पत्र प्राप्त भएको मितिले २ दिन भित्रमा स्पष्टिकरण पेश गर्न अनुरोध छ । अन्यथा हस्पिटल वन्द हुने व्यहोरा अनुरोध छ ।’
पालिकाले हस्पिटलले मापदण्ड भन्दा विपरित सेवा संचालन गरेको, अनाधिकृत रुपमा जटिल किसिमका शल्यक्रिया संचालन गर्ने गरेको सम्बन्धमा के कति शल्यक्रिया भएको छ सोको सम्पूर्ण विवरण, एकै डाक्टरबाट मापदण्ड विपरीत भिन्नभिन्न सेवा संचालन गर्ने गरेको सम्बन्धमा हस्पिटलमा नियुक्त भएका सम्पूर्ण कर्मचारीहरुको विवरण, गर्भपतन संस्थाको रुपमा सुचिकृत भए–नभएको र हालसम्म कति जनालाई गर्भपतन गराएको सो को सम्पूर्ण विवरण उपलब्ध गराउन पालिकाले भनेको छ ।
उपसचिव हरिप्रसाद ज्ञवालीले जिल्ला प्रशासन कार्यालय, रुपन्देही र इलाका प्रहरी कार्यालय, लुम्बिनी, रुपन्देहीलाई बेधार्थ दिँदै हस्पिटललाई स्पष्टिकरण सोधेका हुन् ।








प्रतिकृया दिनुहोस्