June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

मारवाडी युवा संगठनद्वारा ५८ जनालाई कृत्रिम हातखुट्टा हस्तान्तरण

Advertisement

भैरहवा– नेपाल राष्ट्रिय मारवाडी युवा संगठनले विभिन्न कारण हात–खुट्टा गुमाएका सर्वसाधरणलाई शनिवार कृत्रिम हात–खुट्टा वितरण गरेको छ । मारवाडी सेवा समिति भैरहवाको सहयोगमा तीन दिने शिविर आयोजना गरेर यस्ता व्यक्तिलाई समाग्री हस्तान्तरण गरिएको हो ।

Advertisement

भैरहवास्थित मारवाडी सेवा समितिको कार्यालयमा बिहीबारबाट शिविर सुरु भएको थियो । पहिलो दिन यस्ता समाग्रीका लागि नाम दर्ता गराएका व्यक्तिका हात–खुट्टाको नाप लिएको थियो । शुक्रबार नाँप अनुसार प्राविधिकले हात–खुट्टा तयार गरेका थिए । यसरी तयार सहयोग समाग्री शनिवार बिहान विशेष कार्यक्रम आयोजना गरेर सहयोगापेक्षीलाई हस्तान्तरण गरिएको राष्ट्रिय मारवाडी युवा संगठनका राष्ट्रिय अध्यक्ष मनोजकुमार अग्रवालले जानकारी गराए । ‘यहाँहरुलाई अब नयाँ आत्मविश्वास बढेको हामीले पाएका छौं, मानवीय सेवा गर्न पाउँदा निकै हर्षित छौं’, उनले भने । आयोजकका अनुसार ५८ जनालाई कृत्रिम हातखुट्टा वितरण गरिएको हो ।

शिविरमा दुर्घटना लगायत विभिन्न कारणबाट हातखुट्टा गुमाएर लामो समयदेखि बसेका व्यक्तिलाई सहयोग उपलब्ध गराइएको हो । अध्यक्ष अग्रवालले विशुद्ध मानवीय सेवालाई ध्यानमा राखेर शिविर संचालन गरिएको बताए । उनका अनुसार शारीरिक रुपमा अक्षम नागरिकलाई सहयोग गरिएको हो । शिविरमा सहभागीले निःशुल्क हात खुट्टा पाउँद खुशी व्यक्त गरे ।

शिविरमा रुपन्देहीसहित मुलुकका विभिन्न ठाउँबाट सहभागिता थियो । आयोजकका अनुसार भैरहवामा तेस्रोपटक निःशुल्लक कृत्रिम हातखुट्टा वितरण शिविर संचालन गरिएको हो । संघले यसअघि भैरहवासहित अन्य सहरहरुमा आयोजना गरेको यस्तो शिविरबाट हालसम्म साढे ३ सय भन्दा धेरैलाई कृत्रिम हातखुट्टा सहयोग गरेको छ । भारतबाट प्राविधिकहरु ल्याएर कृत्रिम हातखुट्टा बनाइएको थियो ।

मारवाडी सेवा समितिका अध्यक्ष श्रवण बेरिवाल, पूर्वअध्यक्ष हेमन्त अग्रवाल, समाजसेवी तथा पूअध्यक्ष नारायणप्रसाद अग्रवालले सबैको सहयोगले मानवीय काम गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको सुनाए । कृत्रिम हातखुट्टा हस्तान्तरण कार्यक्रममा युवा संगठन र मारवाडी सेवा समितिका पदाधिकारी र सदस्य तथा सामाजिक अगुवाहर सहभागी थिए ।

कृत्रिम हातखुट्टा वितरण शिविरः ५३ जनाको लिइयो नाप

भैरहवामा निःशुल्क कृत्रिम हातखुट्टा वितरण शिविर हुँदै