June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

रुपन्देही–४ का एमाले उम्मेदवार यादवले प्रस्तुत गरे क्षेत्र विकासका २५ योजना

Advertisement

भैरहवा– रुपन्देही क्षेत्र नम्बर ४ का एमाले उम्मेदवार प्रमोदकुमार यादवले मर्चवारको बिकासका लागि २५ योजना प्रस्तुत गरेका छन् । मंगलबार रुपन्देहीको गुरवनियामा पत्रकार सम्मेलन गरेर ती योजना सुनाएका हुन् । आफू यही माटोमा जन्मिएको र मर्चवारका समस्या बुझेको उम्मेदवार भएकाले जनताले अवसर दिने उनले बताए ।

Advertisement

‘साढे दुई दशकदेखि यही क्षेत्रमा राजनीतिमा सक्रिय मान्छु हुँ,’ पत्रकार सम्मेलनमा उनले भने, ‘मधेशको माटो र बाटोमा हिँड्दैं युवा उमेरबाट राजनीतिमा सक्रिय रहेको छुँ ।’ आफ्नो क्षेत्रमा धेरै ग्रामीण भूभाग रहेको र मर्चवार जहिल्यैं बत्तिमुनीको अँध्यारो बनेको बताए । मर्चवारलाई उज्यालो कृषि क्षेत्र मार्फत हराभरा ठाउँका रुपमा विकास गर्ने लक्ष्यसाथ खटिरहेको उनले बताए ।

२०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही–४ का जनताले आफूलाई बिजयी गराएर सदनमा पठाएपछि विकासका धेरै काम अगाडि बढाएको दावी उनले गरे । ‘संसदमा मैले रुपन्देहीको ग्रामीण क्षेत्रका शिक्षा, स्वास्थ्य र किसानका समस्याका साथै मर्चवारको भौतिक र सामाजिक विकासका योजना माग गरेको थिएँ ।’ यहाँका सडकको स्तरोन्नतिदेखि गाउँ–गाउँमा स्वास्थ्य सेवाको पहुँच पुर्याउन, स्थानीयको जीवनस्तर उकास्न विभिन्न सीपमूलक कार्यक्रमदेखि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधारका कार्यक्रम पनि लागू गरेको उनले बताए ।

तर, २०७९ मा यस क्षेत्रका जनताले केही समय संसदीय यात्रालाई विश्राम दिएर गाउँमै सेवा गर्न जनमत दिएको उनले बताए । ‘जनताको निर्णयलाई सम्मान गरेँ,’ उनले भने, ‘तर, यो तीन वर्षमा मर्चवारका जनताले आफ्नो प्रतिनिधि नभएको महसुस गरेका छन् ।’ २०७४ मा निर्वाचित भएर आफूले सुरु गरेका योजना अलपत्र परेको उनले बताए । कतिपय योजना रोकिएकाले तिनलाई निरन्तरता दिँदै पूरा गर्न पनि आफू फेरि उम्मेदवार बनेको उनले बताए ।

एमाले नेता जितेन्द्रनाथ शुक्लले यसपटक मर्चवारले सक्षम उम्मेदवार पाएको बताए । ‘मर्चवारका बासिन्दाले एमाले उम्मेदवारलाई लगभग बिजय बनाइसके,’ उनले भने, ‘यत्तिको स्थापित नेता चुन्न पाउँदा जनता खुसी छन् ।’ एमाले जिल्ला अध्यक्ष यज्ञ गैरेले लामो समय मर्चवार क्षेत्रमा एमालेको उपस्थिति कमजोर रहेको पृष्ठभूमिमा पहिलोपटक सक्षम र बलियो उम्मेदवार पाएको बताए । ‘रुपन्देहीका पाँच वटै निर्वाचनमा एमाले उम्मेदवार अहिले एक नम्बरमा छन्,’ उनले भने, ‘झन प्रमोद यादवको जित सुनिश्चित भइसकेको छ ।

यस्ता छन् २५ योजना
१. वेथरी–थुम्हवा चार लेन सडक स्तरोन्नती गर्ने र लुम्बिनी– मर्चवारी–मर्चवारी –भैरहवा जोडने सडक निर्माण ।
२. मर्चवार लिफ्ट सिंचाई प्रणाली व्यवस्थित गरेर सम्पूर्ण क्षेत्रमा सिंचाई पुर्याउने ।
३. मर्चवारस्थित कृषि हाट बजार व्यवस्थित गरेर कृषि उपज सिंधैं खरिद गर्ने व्यवस्था मिलाउने ।
४. मर्चवारमा निर्माणाधीन शीत भण्डार निर्माण पूरा गरेर सुविधा सम्पन्न वीउ विजन केन्द्र सञ्चालन गर्ने ।
५. सम्मरीमाईमा रहेको आँखा अस्पताललाई संचालन गर्ने ।
६. छोटी भन्सार (सम्मरीमाइको तरेनी थुमुवामा नाका) खोल्ने
७. स्वास्थ्य सेवाका लागि सुविधा सम्पन्न अस्पताल संचालन गर्ने
८. हरेक पालिकामा १५ शैयाको अस्पताल बनाउने
९. कोटहीमाईको मझगावाँमा रहेको डिग्री कलेजलाई व्यवस्थित गर्ने र मर्चवारमा कृषि प्राविधिक शिक्षालय सञ्चालन गरिने ।
१०ं मर्चवारमा रिङरोड निर्माण गर्ने । यसले तुनियाहवादेखि बगौली, सेमरा, करौला हुँदै रोहिणीहवा, भगैयासम्म सुविधा पुग्नेछ ।
११. भैरहवा विमानस्थलदेखि वेथरी छपिया बजार हुँदै वनघुसरी सम्मको सडक स्तरोन्नती गर्ने
१२. छपियादेखि लुम्बिनी जोड्ने सडकको स्तरोन्नती गर्ने ।
१३. सम्मरीमाई चकियाघाटदेखि लुम्बिनी सांस्कृतिक नगरपालिका–१२, जोड्न दानव नदीमा पक्कि पुल निर्माण गरिने
१४. विभिन्न ठाउँमा तटबन्धको व्यवस्थापन, डुवान क्षेत्रको पहिचान गरि तटवन्ध बनाउने
१५. कुस्ती खेलका लागि मर्चवारमा स्थायी अन्तर्राष्ट्रिय कुस्ती स्पोर्टस एकेडेमी निर्माण गरिने
१६. शुद्ध पिउने पानीका लागि घरघरमा खानेपानी संस्थानका धारा जडान गर्ने
१७. चोकचोकमा सार्वजनिक शौचालय र वाइफाइ सेवा व्यवस्थित गरिने
१८. हरेक गाउँपालिकामा दमकलको व्यवस्था गरिने
१९. तीनवटै पालिकाकालाई पायक पर्ने गसर खेलकुद मैदान निर्माण गर्ने र युवालाई खेलमा जोड्नेगरी फुटबल, भलिबल र क्रिकेट अभ्यासका विशेष कार्यक्रम सन्चालन गर्ने
२०. मर्चवारीमाई, कोटहीमाई सम्मरीमाई, केवटनिया लगायतलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकाम गरेर मुलुकका प्रमुख गन्तव्यको सूचिमा समावेश गर्न पहल गर्ने
२१. मर्चवारमा ग्रामीण पर्यटनका विभिन्न कार्यक्रम बनाएर किशोर, युवालाई सक्रिय बनाइने
२२. जेन–जी पुस्ताको जोश, जेनवाइ पुस्ताको होसलाई साथमा लिएर समृद्ध मर्चवार, सुखी मर्चवारबासी अभियान सफल बनाउने
२३. मर्चवारलाई अन्न भन्डारको केन्द्रका रुपमा स्थापित गराएर संघीय सरकारबाट विशेष कार्यक्रम संचालन गर्ने
२४. किसानलाई मलखादको व्यवस्थापनमा सहजीकरण गर्ने
२५. मर्चवारमा सर्पदंश उपचार केन्द्र स्थापना गरी संचालन गर्ने ।

आधुनिक मर्चवार बनाउने एमाले उम्मेदवार प्रमोदको अठोट