October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

रुपन्देहीमा रात जाग्ने पर्यटनका लागि पर्यटन व्यवसायी र प्रशासनबीच छलफल

Advertisement

भैरहवा – रुपन्देहीमा पर्यटन सेवा चौबिसै घण्टा खुल्ला हुनुपर्ने बहस सुरु भएको चार वर्षभन्दा बढी भयो । तत्कालीन गहृमन्त्री बालकृष्ण खाँणले सम्भावना अध्ययन गरेपछि केही होटल तथा रेष्टुरेन्टले प्रशासनबाट अनुमति लिएर पूर्णकालीन सेवा दिइरहेका थिए । पर्यटन हब बनिरहेको जिल्लामा बिस्तारै सबै पर्यटन सेवा पूर्णकालीन हुनुपर्नेमा उल्टो भयो । नयाँ सरकार बनेपछि चौबिसै घण्टा खुला रहने व्यवसायिक प्रतिष्ठानलाई समेत नयाँ समय सीमा तोकियो ।

Advertisement

यसले पर्यटन प्रभावित भएको जनाउँदैं जिल्लास्थित पर्यटन व्यवसायीले पुनः चौबिसै घण्टा सेवा दिन पाउनु पर्ने माग गरिरहेका छन् । यस विषयमा बिहीबा जिल्ला प्रशासन कार्यालयमा जिल्ला सुरक्षा समिति र पर्यटन सरोकारवालाबीच छलफल आयोजना भएको छ । होटल संघ नेपाल लुम्बिनी प्रदेशको पहलमा पहिलो पटक सर्वपक्षीय छलफल आयोजना गरिएको थियो ।

पर्यटन र व्यवसायलाई २४ घण्टा चलायमान बनाउने उद्देश्यसहित जिल्लामा रात्रिकालीन बजार सञ्चालनको बहस तातेको हो । छलफलमा रात्रिकालीन व्यवसायलाई खुला छाड्ने कि नियमनसहित निश्चित क्षेत्र र समय तोकेर सञ्चालन गर्ने भन्ने विषयमा व्यवसायीका फरक–फरक धारणा आएका थिए । व्यवसायीले २४ घण्टा व्यवसाय सञ्चालनको माग गरिरहँदा प्रशासन र सुरक्षा निकायले सुरक्षा, सरसफाइ, पार्किङ, मापदण्ड र सामाजिक प्रभावलाई बेवास्ता गर्न नहुने स्पष्ट पारेका थिए ।

विहीबार आयोजित छलफलपछि गृह मन्त्रालयले जारी गरेको रात्रिकालीन बजार सञ्चालनसम्बन्धी आवश्यक मापदण्ड पूरा गरेका व्यावसायिक प्रतिष्ठानलाई तत्काल अनुमति दिन सकिने प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालका अनुसार रात्रिकालीन व्यवसाय सञ्चालनको विषय नयाँ होइन । २०७९ सालदेखि नै भारतीय पर्यटकलाई आकर्षित गर्ने र जिल्लाको अर्थतन्त्र चलायमान बनाउने उद्देश्यले रातिसम्म व्यवसाय सञ्चालन गर्ने प्रयास हुँदै आएको उनले बताए ।

तर, व्यवहारमा सुरक्षा चुनौती, दुर्घटना वृद्धि, समुदाय र व्यवसायीबीचको द्वन्द्व तथा नियमनमा देखिएको असमझदारीले समस्या सिर्जना गरेको उनको भनाइ छ । जिल्ला सुरक्षा समितिको गत साउन १३ गतेको बैठकले परीक्षणका रूपमा व्यवसाय सञ्चालनको समयसीमा मध्यरात १ बजेसम्म तोकेको थियो । व्यवसाय सञ्चालनका लागि व्यवसायीले पालना गर्नुपर्ने मापदण्ड स्पष्ट पार्ने र कार्यान्वयनमा सहजीकरण गर्ने प्रयास भइरहेको अर्यालले बताए । प्रशासनले तय गरेको नयाँ समय सीमाको उद्देश्य व्यवसाय बन्द गराउनु होइन, व्यवस्थित बनाउनु रहेको उनले बताए ।

छलफलको अगुवाई गरेका होटल संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष सीपी श्रेष्ठ होटल तथा रेष्टुरेन्ट सञ्चालनकालागि अहिलेको समयसीमा पर्याप्त नभएको बताउँछन् । विपद्, आन्दोलन र महामारीको मार खेपेको व्यवसायलाई पुनर्जीवित गर्न रात्रीकालीन व्यवसाय आवश्यक रहेको श्रेष्ठको भनाई छ । उनका अनुसार तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको कार्यकालमा रूपन्देहीमा २४ घण्टा व्यवसाय सञ्चालन गर्न सकिने निर्णय भएको थियो । त्यसअनुसार सीडीओ कार्यालयमा निवेदन दिएर व्यवसाय सञ्चालन हुँदै आएपनि अहिले राति १ बजेसम्म मात्र सीमित गरिएको उनले बताए ।

‘राति १० बजेपछि मात्र वास्तविक रात्रीकालीन व्यवसाय सुरु हुन्छ,’ श्रेष्ठले भने, ‘त्यसैले २४ घण्टा व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ । जनप्रतिनिधि र प्रशासनले पनि सहयोग गर्नुपर्छ ।’ व्यवसायीले विशेषगरी स्पा, होटल तथा मनोरञ्जन क्षेत्रमाथिको भइरहेको प्रशासनो अनुगमन शैलीप्रति पनि प्रश्न उठाएका छन् । कानुनको परिधिभित्र रहेर सञ्चालन भएका व्यवसायमा छापा मार्दा भारतीय पर्यटकबीच नकारात्मक सन्देश जाने उनीहरूको भनाइ छ । भारतीय पर्यटक रात्रीकालीन अर्थतन्त्रका महत्वपूर्ण आधार बन्नसक्ने व्यवसायीको भनाई छ ।

त्यसका लागि सीमा नाकादेखि नै अनुकूल वातावरण बनाउनुपर्ने उनीहरूको माग छ । रात्रिकालीन बजारको बहस केवल भैरहवा बजारभित्र सीमित छैन । भैरहवाका पर्यटन व्यवसायी विष्णु शर्माका अनुसार भारतबाट आउने पर्यटकका लागि नेपाल सुरक्षित र सहज गन्तव्य हो भन्ने सन्देश दिन नसक्दा व्यवसायले ठूलो क्षति बेहोर्नुपरेको छ । मुख्य पर्यटन सिजनमा नेपालमा विपद्को जोखिम रहेको प्रचार भएपछि सेप्टेम्बरका लागि आफ्‌नो होटलमा आउने तय भएका २७ समूहले बुकिङ रद्द गरेको उनले सुनाए ।

‘हामीले पर्यटकलाई सुरक्षित छौं भन्ने सन्देश दिन सकेनौं,’ उनको गुनासो छ । भारतीय गाडीलाई नेपालमा एकपटक वा पटकपटक गरी ३० दिनसम्म मात्र बस्न पाउने व्यवस्थाले पनि समूहगत पर्यटकलाई समस्या पारिरहेको व्यवसायीको भनाइ छ । नाकामा एउटा गाडीबाट झारेर अर्कोमा चढाउनुपर्ने अवस्था आए ट्राभल कम्पनीले बुकिङ रद्द गर्ने गरेको उनीहरुकाले बताए । ट्राभल व्यवसायी संजय बजिमयले अहिलेको सबैभन्दा ठूलो समस्या बेलहियाको जाम रहेको बताए । ‘पर्यटक ल्याउने नाका नै अस्तव्यस्त भएपछि पहिलो इम्प्रेसन कसरी राम्रो हुन्छरु’ उनले प्रश्न गरे ।

बेलहियाबाट गाडी पाउन कठिन हुने र दोब्बरभन्दा बढी भाडा बुझाउनु पर्ने उनले बताए । लाखौं पर्यटक भित्रिने नाकामा ओभरलोड र जाम व्यवस्थापन नगरेसम्म रात्रीकालीन पर्यटनको उद्देश्य पूरा नहुने उनको भनाइ छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख रामचन्द्र अर्यालका अनुसार अब बेलहियास्थित अध्यागमन कार्यालयबाट २४ घण्टा सेवा सञ्चालन गर्ने तयारी छ । ११ जनाको दरबन्दी रहेको कार्यालयमा दुईवटा काउन्टर बिस्तार गरेर चारवटा बनाइएको उनले बताए । सेवा विस्तारसँगै पूर्वाधार र सुरक्षाको प्रश्न पनि उत्तिकै महत्वपूर्ण रहेको उनी बताउँछन् ।

राति दुई बजेपछि हुने झगडा, पार्किङको समस्या, यातायातको महँगो शुल्क तथा व्यवसाय सञ्चालनसम्बन्धी कार्यविधिका प्रावधान पूर्ण रूपमा पालना नभएको उनको भनाइ छ । ‘२४ घण्टा व्यवसाय खोल्ने कुरा मात्रै गरेर हुँदैन,’ उनले भने, ‘त्यसका लागि व्यवसायीले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ ।’ भैरहवा भन्सार प्रमुख हरिहर पौडेलका अनुसार भारतीय सवारीसाधनको आवागमन सम्बन्धी व्यवस्था अहिले डिजिटल प्रणालीमा जोडिएको छ । गाडीको नम्बर र चेसिस नम्बर अनलाइन प्रणालीमा समावेश हुने भएकाले पहिले जस्तो सहज रूपमा नियममा छुट दिन सकिने अवस्था नरहेको उनले स्पष्ट पारे ।

उनका अनुसार पर्यटनलाई सहज बनाउन राति १२ बजेसम्म नाकाको गेट खुला राख्ने निर्णय गरिएको छ । भारतीय समकक्षीसँग छलफल गरेर सवारीको चापअनुसार थप व्यवस्थापन भइरहेको उनले बताए । तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीका अनुसार पर्यटक नेपाल आएपछि होटलमा बसेर मात्र फर्किने अवस्था हुनुहुँदैन । त्यसकालागि पर्यटकले घुम्ने, खाने, मनोरञ्जन गर्ने र खर्च गर्ने वातावरण आवश्यक छ । स्पा, क्यासिनो र खानपानसँगै पर्यटकले हिँडेर घुम्न सक्ने क्षेत्र विकास गर्नुपर्ने उनको सुझाव छ । रूपन्देहीका तीन पालिकामा कम्तीमा तीनवटा व्यवस्थित ‘वाकिङ स्ट्रिट’ निर्माण गर्नुपर्ने उनले प्रस्ताव गरे ।

उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष सचिन रोक्काले रात्रिकालीन व्यवसाय भन्नाले स्पा, क्यासिनो र होटललाई मात्र बुझ्‌न नहुने बताए । उनका अनुसार रूपन्देहीमा ‘सेफ नाइट इकोनोमी’ आवश्यक छ । त्यसका लागि सुरक्षा, सरसफाइ, यातायात, प्रकाश, पार्किङ र नागरिकको सहज आवागमन सुनिश्चित हुनुपर्ने उनको भनाई छ । होटल व्यवसायी महासंघका जिल्ला अध्यक्ष माधव खनालले बुटवलको कालिकापथ र जोगीकुटीदेखि मगरघाटसम्मको क्षेत्रमा रात्रीकालीन व्यवसाय गर्न पाउनु पर्ने बताए । ‘सबै ठाउँमा रातभर व्यवसाय सञ्चालन गर्न दिनुपर्ने धारणामा म सहमत छैन,’उनले भने, ‘निश्चित ठाउँ तोकेर व्यवसाय गर्न दिनुपर्छ, बुटवलमा अभ्यास पनि भइसकेको छ ।’

उद्योग वाणिज्य संघ बुटवलका अध्यक्ष्य हरिप्रसाद अर्यालले निश्चित क्षेत्र तोकेर रात्रीकालीन व्यवसाय गर्न दिनुपर्ने बताए । ‘जहाँ पनि होटल खोलेर रातभर चलाउँछु भन्न मिल्दैन,’ उनले भने, ‘कुन व्यवसाय कहाँ लैजाने भन्ने विषयमा पनि स्पष्ट हुनुपर्छ ।’ आवासीय क्षेत्र, अस्पताल, विद्यालय तथा संवेदनशील क्षेत्रभन्दा टाढा निश्चित स्थानमा होटल, रेस्टुरेन्ट, मनोरञ्जन तथा अन्य व्यवसाय सञ्चालन गर्ने व्यवस्था गर्न सकिने विकल्प व्यवसायीले अघि सारेका छन् । होटल संघ नेपाल लुम्बिनी प्रदेशका महासचिव टेकनाथ बस्यालले होटल तथा व्यवसाय क्षेत्रमा विद्युत् महसुलको समस्या रहेको बताए ।

होटल व्यवसायलाई उद्योगसरह मान्यता दिएर विद्युत् महसुल सम्बन्धी व्यवस्था लागू गर्नुपर्ने उनको भनाई थियो । स्थानीय तह, घरेलु तथा साना उद्योग र उद्योग वाणिज्य संघलगायत विभिन्न निकायमा दर्ता हुँदा व्यवसायीले अतिरिक्त खर्च बेहोर्नुपरेको उनले बताए । तर, जिल्लामै रहेका क्याटरिङलगायतका व्यवसायलाई कर प्रणालीमा समेट्दा व्यवहारिक कठिनाइ रहेको उनले बताए । रुपन्देहीका प्रमुख सहरमा देखिएको भद्रगोल पार्किङन रात्रीकालीन बजार विस्तारका लागि प्रमुख चुनौतीका रूपमा देखिएको छ । भैरहवा भन्सार कार्यालयका प्रमुख पौडेलले बेलहिया नाकामा क्यासिनोका गाडीले ठूलो हिस्सा पार्किङ ओगट्दा अन्य व्यवसाय र सेवाग्राहीलाई समस्या भइरहेको बताए । रात्रीकालीन बजारका लागि मेडिकल, अस्पताल, क्यासिनो, होटल र स्पा क्षेत्रको व्यवस्थापनबीच समन्वय आवश्यकता रहेको उनले बताए ।

सिद्धार्थ होटल एशोसियसनका बरिष्ठ उपाध्यक्ष किशोर जोशीका अनुसार भारतीय पर्यटक लुम्बिनीमा पूजा तथा भ्रमणका लागि आउँछन् । बेलहिया नाकामा बेहोर्नु पर्ने झण्झटका कारण बौद्ध धर्मावलम्बी सीमाबाट नजिक रहेका भारतीय सहरबाट मध्यरातमै यात्रा सुरु गर्न बाध्य रहेको बताए । तैपनि समयमा गन्तव्यमा पुग्न नसक्दा पर्यटन व्यवसाय प्रभावित भएको उनले बताए । लुम्बिनी भ्रमणमा आएका पर्यटकलाई भैरहवा र बुटवलमा रोक्ने, घुमाउने र खर्च गराउने वातावरण निर्माण गर्न सकिए रात्रीकालीन अर्थतन्त्रले ठूलो आकार लिन सक्ने व्यवसायीहरूको विश्वास छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले राजमार्ग चौराहा, हस्पिटल लाइन, कालिका पथ र ट्राफिक चोकलाई पूर्ण रात्रिकालीन क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताए । अन्य क्षेत्रमा भने राति ११ बजेसम्म बजार सञ्चालन गर्ने वातावरण बनाउन उनले प्रशासनसँग आग्रह गरे । रात्रिकालीन बजारलाई होटल तथा रेस्टुरेन्टमा मात्र सीमित गरेर बुझ्न नहुने बताउँदै पाण्डेले राति विभिन्न जिल्लाबाट सामान खरिद गर्न आउने व्यवसायी तथा उपभोक्तालाई लक्षित गर्दै आवश्यकताअनुसार होलसेल बजारसमेत सञ्चालन गर्नुपर्ने बताए । रात्रिकालीन व्यवसायको समय व्यवस्थापन सुरक्षा र सामाजिक व्यवहारसँग पनि जोडिनुपर्ने उनको भनाइ थियो । राति २ बजे व्यवसाय बन्द गराएर ग्राहकलाई तत्काल घर फर्काउनेभन्दा सुरक्षित व्यवस्थापनसहित बिहानतिर मात्र आवागमन हुने वातावरण बनाउन सके झैझगडा न्यूनीकरणमा समेत सहयोग पुग्ने उनले बताए ।

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले नगर क्षेत्रका सबै बजारलाई राति १ बजेसम्म खुला राख्ने गरी नगरपालिका अघि बढ्ने बताए । त्यसका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाउन उनले प्रशासनसँग आग्रह गरे । तिलोत्तमामा निर्माण गरिएको म्युजिकल वाटर फाउन्टेनलगायत पर्यटकीय संरचनाको प्रभावकारी उपयोगका लागि रातिको समय महत्वपूर्ण हुने उनको भनाइ थियो । रातिमा मात्रै आकर्षक देखिने यस्ता संरचना साँझपख बन्द गर्दा लगानीको उचित प्रतिफल लिन नसकिने भन्दै उनले पर्यटकीय पूर्वाधार र रात्रिकालीन बजारलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने बताए ।रात्रिकालीन बजार सञ्चालनका लागि स्थानीय सरकार, प्रशासन र व्यवसायीले आ–आफ्नो जिम्मेवारी स्पष्ट रूपमा बहन गर्नुपर्नेमा उनले जोड दिए ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले भैरहवालाई पर्यटकीय नगरीका रूपमा विकास गर्न भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्न र यहाँ खर्च गर्न सहज वातावरण बनाउनुपर्ने बताए । भारत र चीन पर्यटन खर्च गर्ने ठूलो बजार भएकाले भारतीय पर्यटकलाई सीमा क्षेत्रमा अनावश्यक झन्झट नदिई नेपालमा खर्च गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो । भारतीय सवारीसाधनलाई नेपालमा बस्न दिइने समयसीमा र सीमा प्रक्रियामा देखिएका समस्या समाधान गर्नुपर्ने उनले बताए । भारतीय पर्यटकले नेपालमा ठूलो रकम खर्च गर्न सक्ने सम्भावना हुँदाहुँदै साना–साना प्रक्रियागत झन्झटका कारण उनीहरू निरुत्साहित हुने गरेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी जनक शाहीले रात्रिकालीन बजार सञ्चालनसँगै जिल्लाको सुरक्षा व्यवस्थालाई थप प्रविधिमैत्री र प्रभावकारी बनाउने तयारी भइरहेको बताए । उनका अनुसार प्रहरीले स्मार्ट कन्ट्रोल रुम स्थापना गरी असोजको पहिलो सातादेखि आधुनिक सुरक्षा उपकरणसहितका सवारीसाधन सञ्चालन गर्ने तयारी गरेको छ । पहिलो चरणमा बुटवलदेखि तिलोत्तमासम्म चार र तिलोत्तमादेखि बेलहिया नाकासम्म चार गरी ८ वटा सवारीसाधन सञ्चालन गर्ने योजना रहेको उनले बताए । सवारीसाधन २४ सै घण्टा कन्ट्रोल रुमसँग जीपीएसमार्फत जोडिनेछन् । आपत्कालीन अवस्थामा नागरिकले प्रहरीको १०० नम्बरमा फोन गरेपछि फोन गर्ने व्यक्तिको लोकेसनसमेत कन्ट्रोल रुममा पहिचान हुने र नजिकै रहेको प्रहरी सवारीसाधनलाई तत्काल घटनास्थलमा पठाउने प्रणाली विकास गर्न लागिएको शाहीले जानकारी दिए ।

रूपन्देहीमा रात्रिकालीन बजारको माग र नियमन निकायबीचको बहस पुरानै हो । व्यवसायीहरू समय बढाएर २४ सै घण्टा व्यवसाय सञ्चालनको पक्षमा छन् । प्रशासन र सुरक्षा निकाय पहिले मापदण्ड, पूर्वाधार र सुरक्षा सुनिश्चित गर्नुपर्ने पक्षमा देखिएका छन् । पर्यटन व्यवसायीका अनुसार रातिमा व्यवसाय चल्दा होटल, रेस्टुरेन्ट, यातायात, मनोरञ्जन, खुद्रा व्यापारदेखि श्रम बजारसम्म आर्थिक गतिविधि बढ्न सक्छ। भारतीय पर्यटकलाई आकर्षित गर्न सके त्यसको प्रभाव सीमा क्षेत्रमा मात्रै सीमित रहने छैन ।
्
जिल्लास्थित पर्यटन व्यवसायीले भैरहवा, बुटवल र मणिग्रामलाई जोडेर निश्चित क्षेत्रमा सुरक्षित वाकिङ स्ट्रिट, व्यवस्थित पार्किङ, रात्रीकालीन सार्वजनिक यातायात, पर्याप्त सडकबत्ती, सरसफाइ, सुरक्षा र स्पष्ट व्यावसायिक मापदण्ड बनाउनु पर्ने बताएका छन ।