May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

प्रेम, दया सद्भावको बिउ रोप्नुहोस्

-प्रेम रावत

धेरै पहिलाको कुरा गर्ने हो भने मानिसहरूले खेतीपाती गर्दैनथे । उनीहरूले खानेकुरा खोज्नका लागि बाहिर कतै जानुपथ्र्यो। त्यो समयमा मानिसले सिकार गर्ने गर्दथे।

Advertisement

आफूले जे–जति फलफूल जम्मा गर्न सक्थे त्यति नै घरमा लैजान्थे। त्यही चिज घरमा लगेर बाँडीचुँडी खान्थे। यस क्रममा मानिसले फोहोर फाल्ने गरेको मलिलो स्थानमा खाद्यान्न बालीहरू उम्रेको देख्न थालेपछि मानिसलाई खेती गर्न सकिने कुराको महसुस हुन थाल्यो।

Advertisement

त्यसैबेलादेखि राजाहरूको जन्म भयो । खेती गर्न थालेपछि ‘यो तेरो र यो मेरो’ भन्ने विचारको पनि जन्म भयो। अर्को कुरा, कसैसँग खेतीपाती हुन्थ्यो भने कसैसँग खाने कुरा पनि हुँदैनथ्यो । कसैको खेतीपाती राम्रो देखेपछि तिनीहरूले काटेर लैजान थाले।

यही निहुँलाई लिएर एकआपसमा लडाइँ पनि हुने गथ्र्यो । यसर्थ राजाले किसानलाई मद्दत गर्ने गर्थे। कसैले आक्रमण गरेमा उसलाई मारिदिएर आडभरोसा दिन्थे। त्यसपछि कर तिर्नुपर्ने पद्धतिको विकास हुन पुग्यो।

त्यही समयदेखि नै आज हरेक क्षण दुःख पाइरहिएका कुराहरूको विकासको शुरूवात भयो। खेतीपातीभन्दा पहिला केही पनि झगडाका विषय थिएनन्। हामी त सभ्यताको कुरा गर्छौँ । हामी एकआपसमा लडिरहन्छौँ । एकअर्कालाई ठगिरहन्छौँ।

एकअर्काको चोरी गरिरहन्छौँ । हामी त यसलाई पनि ‘सभ्यता’ भनिरहेका हुन्छौँ । मायाका पछि दौडिरहनुलाई हामी सफलताको संज्ञा दिन्छौँ । मायामा लाग्नेहरू पनि दौडिरहेका छन् । उनीहरू बसेका छैनन्।

माया अघि–अघि छ अनि उनीहरू पछि–पछि छन् । साना बच्चाहरूले साइकलको पाङ्ग्रालाई खेलौना बनाएर लौरोले त्यसलाई गुडाउँदै त्यसको पछि–पछि दौडिरहे जसरी नै दौडिएका छन् । चक्का अघि–अघि दौडिन्छ, बच्चा त्यसको पछि–पछि दौडिरहन्छ । त्यो चक्का अघि–अघि गुडिरहन्छ अनि तपाईँ पनि पछि–पछि दगुरिरहनुहुन्छ । यो कस्तो खेल हो !

यो दुनियाँको अवस्था कस्तो छ ? तपाईँले कहिलेकाहीँ कुकुरले गाडीलाई झम्टेर खेदिरहेको देख्नुभएको होला । यदि, उसले गाडीलाई भेटिहाल्यो भने पनि त्यसलाई के गर्न सक्छ र ? ऊ त ‘भेटिहालिन्छु’ भने जसरी दगुर्छ । यदि, उसको दाँतले टायरलाई टोक्न पायो भने पनि उसकै दाँत बाँकी रहँदैन । उसले कारलाई त चलाउन सक्दैन नै । केबल मस्तीमा दौडिरहेको हुन्छ ।

एउटा कुरा वास्तविक हुन्छ अनि अर्को सपना । मानिसले वास्तविकता के हो र सपना के हो भन्ने कुरालाई बिर्सन्छ। सम्झाउने ठूला–ठूला मानिसहरूले शुरू त वास्तविकताबाटै गर्छन् तर सपनामा पुगेर अड्किन्छन्। त्यतिखेर उनीहरूले सपनाकै कुरा गरिरहेका छन् तर वास्तविकताका बारेमा भनिरहेका छैनन् भन्ने कुरा स्पष्ट हुन्छ।

पृथ्वीभन्दा तल के छ ? यो संसारको तल–माथि के छ ? न माथि छ, न तल छ । न दायाँ छ, न बायाँ छ । यो यथार्थ कुरा हो । तथापि, मानिसहरूको भनाइ के छ भने तल पाताल छ अनि त्यहाँ दानवहरू बस्छन्।

वैज्ञानिकहरू कतै अर्को जीवित संसार छ/छैन भनेर खोज्नका लागि अरबौँ पैसा खर्च गर्छन् । ठूला–ठूला विमानलाई ‘अन्यत्र कतै मानिसहरू छन्छै/नन्’ भनेर बुझ्नका लागि पठाउँछन्। अचम्मको कुरा त जहाँ केही चिज छ त्यहाँसम्म पुग्नेबारेमा चाहिँ कसैले कुरै गर्दैन– अनि त्यो कहाँ छ ? त्यो हामीभित्र छ।

भगवान्लाई भक्तिको आवश्यकता छ। तपाईँको मागको सूचीको होइन । यदि, तपाईँले दिनु छ भने आफ्नो हृदयबाट दिनुहोस् अनि भक्ति दिनुहोस् । भक्ति के हो ? भक्ति भनेको वास्तविक प्रेम हो। के तपाईँको जीवनमा बाधा आउँदैन ! आउँछ। अवश्य पनि आउँछ ।

तथापि, एउटा चिज सबैमा विराजमान छन् । ती अविनाशीसँग आफ्नो नाता जोड्नुहोस्। बाबु–छोराको सम्बन्ध पनि एक दिन टुट्छ। आमा–छोराको नाता हुन्छ नि त्यो पनि एक दिन टुट्नेछ । अरू सबै नाता तपाईँले चाहे पनि या नचाहे पनि छुट्ने नै छ।

तपाईँसँग सबैथोक छ तर तपाईँलाई त्यो कहाँ छ भन्ने नै थाहा छैन ! जुन शान्तिको तपाईँलाई खोजी छ त्यो त तपाईँसँग पहिलादेखि नै छ । यद्यपि, मानिसहरू यो कुरालाई स्वीकार नगरिकन शान्तिको खोजीमा तल्लीन हुन्छन् । अनि सोच्छन्, “के गरेर मलाई शान्ति प्राप्त हुन्छ होला ?” तर, जुन शान्तिको तपाईँलाई खोजी छ, त्यो शान्ति त तपाईँभित्रै छ । केवल त्यसलाई स्वीकार गर्नु आवश्यक छ ।

जीवनलाई सफल पार्ने हो भने यसलाई स्वीकार गर्नु आवश्यक छ । यो जीवन तपाईँको हो । अरू कसैको प्रतीक्षा नगर्नुहोस् । यो संसार बदलियोस् या नबदलियोस् तर तपाईँ त परिवर्तन हुन सक्नुहुन्छ नि ! जुन दिन तपाईँ परिवर्तन हुन शुरू गर्नुहुनेछ, संसार पनि परिवर्तन हुनेछ । यो संसारमा खराबी पनि छ र राम्रा कुरा पनि धेरै छन् । मात्र आफूभित्रको राम्रोपनालाई बाहिर ल्याउनु आवश्यक छ ।

कतिपय कुराहरू तपाईँलाई मन पर्दैनन् । जुन कुरा तपाईँको रुचिविपरीतको हुन्छ, जुन चिजसँग तपाईँलाई घृणा उत्पन्न हुन्छ त्यो चिजका पछि किन लागिरहनुहुन्छ ? त्यसबाट अर्कोतिर मोडिनुहोस् । जब तपाईँ त्यसको विपरीत दिशातर्फ मोडिनुहुन्छ तब मात्रै तपाईँ त्यो चिजबाट बाहिर निस्कन पाउनुहुन्छ।

यही कुरालाई मानिसहरूले भुल्छन्। उनीहरूलाई लाग्छ– यस्तो गर्‍यौँ भने त काम बिग्रन्छ। बिग्रँदैन किनकि जुन सहानुभूति तपाईँलाई चाहिएको छ, त्यो तपाईँभित्रै छ।

जुन शान्ति तपाईँलाई चाहिएको छ त्यो पनि तपाईँभित्रै छ । धैर्यता पनि तपाईँभित्रै छ । अनि, तपाईँलाई रक्षा गर्नेवाला पनि भित्रै छन् । ठीक यसै गरी– जुन आनन्दको तपाईँलाई खोजी छ, जुन सुखको तपाईँलाई आवश्यकता छ– ती सबै कुरा तपाईँभित्र नै छन्।

डराएर केही पनि हुने छैन। चाहे जस्तोसुकै कठिनाइ तपाईँको जीवनमा आओस् तपाईँभित्र त्यो शक्ति हुन्छ। तपाईँभित्र त्यो हौसला पनि हुन्छ र तपाईँ त्यो कठिनाइसँग जुध्न पनि सक्नुहुन्छ।

एउटा उदाहरण छ । एकजना मानिस बजारमा घुमिरहेका थिए । उनको नजर एउटा एकदमै राम्रो दोकानतिर पर्‍यो। उनले यति राम्रो पसल कहिल्यै देखेका थिएनन्। त्यसभित्र गएर हेरे । त्यहाँ ठूला–ठूला पिलर राखिएका थिए। राम्रा–राम्रा वस्तुहरूको साजसज्जा थियो। उनले आजसम्म यस्तो कहिल्यै देखेका पनि थिएनन्। यत्तिकैमा पसले आएर उनलाई सोधे– ‘म तपाईँलाई के सेवा गर्न सक्छु होला ?’

उनले पसलेसँग सोधे– ‘यति धेरै राम्रा चिजहरूलाई यहाँ सजाएर राखिएका छन्, यी के–के हुन् ?’ पसलेले एउटा चिजतिर इसारा गर्दै भने– ‘यो आनन्द हो !’ उनले सोधे– ‘आनन्द ! यो त एकदमै राम्रो छ !’ पसलेले अर्कोतर्फ इसारा गर्दै भने– ‘यो विवेक हो ! यो स्पष्टता हो ! यो भक्ति हो !’ यस्ता चिजहरू उनले यसअघि आफ्नो जीवनमा कहिल्यै देख्न पाएका थिएनन् । उनले सोधे, ‘के यसलाई किनेर लैजान पनि मिल्छ त ?’ पसलेले भने, ‘हजुर ! यसलाई किन्न सक्नुहुन्छ ।’

उनले भने, ‘म यी सबै चिजहरू मेरो परिवार, मेरा आमा–बुबा अनि मेरा साथीभाइहरूका लागि पनि किन्न चाहन्छु ! कृपया तपाईँ मलाई स्पष्टता, आनन्द, दया यी सबै चिजको १६–१६ वटा प्याकेट बनाइदिनुहोस् ।’ पसलेले भने, ‘तपाईँ एकैछिन पर्खनुहोस्, म अलिपछि लिएर आउनेछु ।’

केही बेरपछि उनले आफ्नो हातमा एउटा सानो बट्टा लिएर आए अनि भने, ‘यो लिनुहोस्, तपाईँको सामान !’ उनी अचम्मित हुँदै पसलेसँग सोध्छन्, ‘यी चिजहरू यति सानो बट्टामा छन् ?’ पसले भन्छन्, ‘हजुर ! अवश्य पनि ! तपाईँले १६–१६ प्याकेट भन्नुभएको थियो । सोही हिसाबमा तयार पारेको छु। अब तपाईँ यसलाई लैजान सक्नुहुन्छ !’ उनले भने, ‘यो कसरी हुन सक्छ ? यी त यति धेरै ठूला–ठूला चिजहरू देखिन्छन्। यो बट्टा त एकदमै सानो छ ! यिनलाई यसमा कसरी राख्न मिल्यो र ?’

त्यसपछि पसलेले उनलाई बुझाउँदै भन्छन्, ‘जुन चिजहरू तपाईँ देखिरहनुभएको छ । म त यिनको बिउ मात्र दिने गर्छु । यी बिउहरूलाई तपाईँ लगेर रोप्नुहोस्, यिनको हेरचाह गर्नुहोस् ! यिनीहरू ठूला भएपछि बल्ल तपाईँले यिनको फल पाउनुहुनेछ।’

तपाईँको जीवनमा पनि सबैभन्दा महŒवपूर्ण कुराहरू एउटा–एउटा बिउका रूपमा नै प्राप्त हुन्छन्। ठूला–ठूला कुराहरू जसलाई आनन्द, दया, स्पष्टता, भावना, प्रेम भनिन्छ ! यी सबै बिउका रूपमा नै प्राप्त हुन्छन्। यिनलाई रोप्नुपर्छ । यिनलाई पानी दिनुपर्छ, यिनको हेरचाह गर्नुपर्छ। त्यसपछि मात्रै तपाईँले चाहनुभएको स्वरूपमा ती चिजहरू बदलिन्छन् । अज्ञानताको बिउ हुँदैन तर ज्ञानको बिउ हुन्छ । घृणाको बिउ हुँदैन तर प्रेमको बिउ हुन्छ। घृणाको बिउको आवश्यकता नै पर्दैन। त्यो त आफैँ हुन्छ । क्रोधको बिउ हुँदैन तर दयाको बिउ हुन्छ । त्यसलाई रोप्नुपर्छ ।

यो पृथ्वी नै हो ती सृष्टिकर्ताको पसल ! अनि, तपाईँलाई तपाईँकै हृदयभित्र एउटा सानो बट्टा प्राप्त भएको छ ! ती बट्टामा ती राम्रा–राम्रा बिउहरू छन् ! जबसम्म तपाईँ ती बिउहरूलाई रोप्नुहुन्न, तिनको हेरचाह गर्नुहुन्न तबसम्म तपाईँका असल गुणहरूको फल फल्नेछैनन् । यदि, ती चिजहरू फलेनन् भने त तपाईँको जमिन, जसलाई तपाईँ आफ्नो ‘जीवन’ भन्नुहुन्छ, त्यो नै बाँझो हुनेछ ।

त्यो जमिनमा केही न केही त उम्रनेछ । त्यही नै उम्रनेछ जे तपाईँले रोप्नुभएको छ या त त्यो उम्रेला जुन तपाईँ चाहनुहुन्न । यदि, तपाईँको खेतमा तपाईँले नचाहेको चिज उम्रिरहेको छ भने यसको अर्थ तपाईँले आफूले चाहेको चिज रोप्नुभएको छैन।

आफ्नो जीवनमा प्रेम, दया अनि सद्भावको बिउ रोप्नुहोस् । तिनलाई मलजल गर्नुहोस् । अनि, तपाईँको चाहनाविपरीतको चिजलाई उखेल्नुहोस् र तपाईँको चाहना अनुसारको चिजलाई रोप्नुहोस् ।

(यो विचार प्रेम रावतको सन्देशबाट डा. प्रेमराज ढुङगेलले साभार गर्नुभएको हो ।) -newsofnepal