May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

देशले जित्ने अवस्थाको प्रतीक्षामा जनजन

-बालकृष्ण मैनाली

गएको हप्ता देशमा देखा परेका थरीथरीका खबरहरुले खबरबजार गर्माएको छ। खबरबजारका खबरहरु सुनेर र पढेर जनजन वर्तमान सरकारले केही समस्याहरुको समाधानमा सम्बोधन गर्ला कि भनेर आशामा बसेका स्वतन्त्र जनजनमात्र होइन उनीहरुबीचकै एक–अर्कालाई आत्मीय ठान्ने जनजनहरुको आशामा समेत धक्का पुगेको कुरा सार्वजनिक हुन थालेको छ।

Advertisement

पछिल्ला केही समाचारहरुका पृष्ठभूमिलाई नियाल्दा उल्लिखित समाचारहरुमा सत्यता पनि देखिन पुगेको छ। नभई नहुने एउटा सवारीचालक प्रमाणपत्रको लागि सरकारले तोकेको शुल्क तिरेर निवदेन दिन पुगेका तेह्र लाखभन्दा बढी सेवाग्राहीहरु एउटा सामान्य रसिदको भरमा सात महिनादेखि स्र्माट भनिने सवारीचालक प्रमाणपत्र आज पाइएला कि भोलि पाइएला भन्दै दिन बिताइरहनुपरेको छ।

Advertisement

त्यस्तै जुनसुकै सत्ताधारीहरु सत्तामा पुगे पनि सत्ताको स्वादलाई अमृत ठान्दै सत्तापान गर्ने प्रचलनले जरो गाडेको हाम्रो देशमा प्रधानमन्त्रीले मन्त्रीमण्डल पुनर्गठन गर्नुपर्ने भयो मात्र भन्न पाएको हुँदैन ल वर्तमानका मन्त्री खुस्किने भए भनेर सम्भावित हुनसक्ने मन्त्रीको घरदैलोमा नयाँ मन्त्री नियुक्त हुनुपूर्व नै चाकडी बजाउन पुग्ने प्रथाको अन्त्य वर्तमानमा पनि देखिएन।

त्यस्तै अर्को समाचार दलीय गठबन्धनका महारथीहरु ठानिएका प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री देउवाबीचको परेका ठाकठुकसम्बन्धी समाचारले पनि राजनीतिक वृत्तमा अबको राजनीतिको परिदृश्य के होला भन्नेमा संशय देखा पर्न थालेको छ।

त्यस्तै अर्को एउटा परिघटनाका कारण वर्तमान सरकार ज्यादै आलोचित बन्न पुगेको छ। त्यो परिघटना भनेको बालकुमारी घटना हो । अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतले विनाकारण र विनाअपराध आफ्नो ज्यान गुमाउनुपर्‍यो।

आफ्नै देशमा रोजगारीको सृजना गरेर विदेशिएका युवाहरुलाई समेत स्वदेशमा स्थापित गर्नुपर्ने दायित्व बोकेको सरकार स्वदेशमा रोजगार प्राप्त गर्न नसकेको कारण विदेशमा रोजगारका लागि प्रक्रियामा रहेका युवाहरु उल्टो दिनदहाडै गोलीको सिकार बन्न पुग्नु भनेको राज्यको चरम लापरबाही नै हो।

पछिल्लोपटक मृत्यु भएका युवाहरुको परिवारका सदस्यहरु र सरकारबीच भएको चारबुँदे सहमतिले पीडितहरुलाई केही राहत प्रदान भएको अनुभूति हुन पुगेको भए तापनि अन्य जनजन सत्तासीनहरुबाट बारम्बार दाहोरिरहने यस प्रकारका परिघटनाहरुबाट आजित भैसकेका छन्।

जनजनलगायत प्रत्येक दलहरुका कार्यकर्ताहरु जो नेतृत्वले चिन्न पनि छोडेको छ, आफूलाई के गर्ने र के नगर्ने भन्ने दोधारमा आफूलाई वर्षौंदेखि उभ्याइराखेका छन्।

कहिलेकाहीँ कतै–कतै दलहरुको दासत्वबाट मुक्त हुन खोजेको हो कि भन्ने आभाष पनि ती असहाय कार्यकर्ताहरुले दिन त खोज्छन् तर पनि कुन भ्रममा परेर हो अहिले तत्काल विकल्प देखिएन, अझै केही वर्ष यिनीहरुको दास बन्नुपर्छ भनेर पुनः उतै लागिपरेको अवस्था वर्तमानमा देखा परिरहेको छ।

यदि त्यो नहुँदो हो त प्रत्येक राजनीतिक दलहरुका भेलाहरुमा जानी नजानी मान्छेहरुको घुइँचो हुँदैनथ्यो । सत्ताधारीहरुले यो वा त्यो नाउँबाट आफ्नै जिम्मेवार कार्यकर्ता र अन्य सोझासीधा जनजनहरुलाई सदैव झुक्याउँदै आएका छन्। देशलाई यति विघ्न भड्खालोमा जाकिसक्दा पनि केही जन र सरोकार राख्ने कार्यकर्ताहरु सत्ताधारीहरुलाई नै देवतातुल्य ठानी आफ्नो कार्य सञ्चालन गर्दै आएका छन्।

देशमा भएका प्रायः सबै दलका राजनीतिक अंशियारहरुलाई पिछलग्गु र आफ्नो स्वार्थमात्र साँध्न खोज्ने कार्यकर्तादेखि बाहेक अन्य जनजनले थरीथरीका राजनीतिक गठबन्धनहरुलाई जनजनलाई झुक्याई आफ्नो कुत्सित राजनीतिक स्वार्थमात्र साँध्ने र ठगी गर्ने दलको संज्ञा दिन थालेका छन् ।

दिग्भ्रमित पार्ने कुरा बोलेर गठन गरिने कुनै पनि राजनीतिक गठबन्धनलाई जनजनले ठगबन्धनको रुपमा हेर्न थालेको वर्षौं भैसकेको छ। राजनीतिक अंशियारहरुले गरेका कुर्कमबाट पिल्सिएका कुनै पनि दलको कार्यकर्ताको अन्तरात्माको आवाज अब बिस्तारै नेताहरुकै विरुद्धमा सडकमा पोखिन थालेका छन्।

यदाकदा नेताहरुको अगाडि भन्दिन वा जे भए पनि नेताहरुले गरेका कुकर्महरुको सकेसम्म ढाकछोपमै लाग्छु भन्ने दृढता लिए पनि त्यसको ठीक उल्टो कार्यकर्ताहरुको अन्तरमनको आवाज स्वतः सडकमा बेलाबेलामा प्रस्फुटित हुन थालेका छन्।

राणा शासनको अन्त्यपछि स्थापना भएको पञ्चायतकालदेखि अहिलेसम्म देखिएका प्रायः सबै सत्ताधारीहरुबाट हरेक क्षेत्रमा जनजनहरुले धोकादेखि बाहेक अरु केही प्राप्त गर्न सकेनन्। त्यसको अन्त्य कहिले हुने हो, त्यसको कुनै टुंगो छैन।

राजनीतिकरुपमा होस् या आर्थिकरुपमा, त्यति बेलादेखि वर्तमानसम्मका राजनीतिक अंशियारहरुले ठग्न कुनै पनि जनलाई बाँकी राखेनन्। अरु त अरु, आफ्नै सहयात्रीहरुलाई भ्रममा पारेर ठगीको मारमा पारी पिल्साएका छन्।

यस्ता बग्रेल्ती उदाहरणहरुले दैनिकरुपमा जिस्क्याइरहेका छन् । त्यति बेला पञ्चायती तानाशाहबाट देशलाई उन्मुक्ति प्रदान गरे पनि वर्तमान शासकहरुबाट पञ्चायती शासकहरुले ठगेको भन्दा पनि कैयौँ गुणा जनजनलाई झुक्याउँदै ठग्ने काम गर्न पुगे, जुन सामान्य जन र कुनै पनि कार्यकर्ताले कल्पनासम्म पनि गरेका थिएनन्।

वर्तमान शासकहरुलाई आफूहरुले गरेको कुकृत्यप्रति सामान्य आत्मग्लानिसम्म पनि भएको प्रतीत हुन सकेन । नेतृत्वले जतिपटक झुक्याएर ठगे पनि किन हामीले जनता, कार्यकर्तादेखि लिएर समस्त देशलाई ठगिरहेका छौं भन्ने आफूले आफूलाई प्रश्न सोध्ने कहिल्यै आँट गरेनन्।

उनीहरुमा पलाएको ठगाइको रोग उनीहरुमा मात्र सीमित रहेन, राज्यका प्रत्येक निकायहरुलाई कसरी ठगी गरेर नाजायज सम्पत्ति कमाउन सकिन्छ भन्दै उल्टो उत्प्रेरित गरिरह । आफूलाई लागेको रोग राज्यका प्रत्येक अंगहरुमा सार्दै गए।

ठग्नुहुन्न, ठग्नु अपराध हो भन्दै ठगीको परिभाषा दिँदै आफैँले कानुन बनाएर देशमा लागू गरे अनि त्यही कानुनलाई आफैँले धोती लगाउँदै यो र त्यो नाउँमा राजनीतिकदेखि लिएर हरेक प्रकारका ठगीधन्दा सञ्चालन गरी भ्याए र त्यसको निरन्तरता जारी नै राखे ।

प्रत्येक जनतालाई राजनीतिकरुपमा झुक्याई ठगी गर्ने राजनीतिक ठगहरुलाई उनीहरुले नै बनाएको ठगीसम्बन्धी कानुन अनुसार कार्यवाही हुनुपर्ने माग उठ्न थालेको पनि धेरै भैसक्यो तर त्यो मागको कार्यान्वयनले अर्थपूर्णरुपमा गति लिन पाएको छैन।

उनीहरुले बनाएको ठगीसम्बन्धी कानुनमा कस्तो काम गरेमा ठगी गरेको कार्य हुन जान्छ भनी आफैँले स्पष्ट व्यवस्था गरेका छन्। उनीहरुले नै बनाएको मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ मा ठगीको स्पष्ट परिभाषा उनीहरु आफैँले गरेका छन्।

उक्त ऐनको परिच्छेदको दफा २४९ को उपदफा (१) मा कसैले ठगी गर्न वा गराउन हुँदैन भन्दै उपदफा (२) मा उपदफा (१) को प्रयोजनको लागि कसैले कसैलाई कुनै कुराको विश्वास दिलाएमा सो बमोजिम नगरी वा फकाई, झुक्याई वा अन्य कुनै किसिमले धोका दिई कुनै काम गरी वा गर्नबाट रोकी त्यस्तो व्यक्ति वा अन्य कसैलाई बेइमानीपूर्वक कुनै किसिमको हानि–नोक्सानी वा क्षति पुर्‍याएमा आफ्नो वा अरुको लागि लाभ प्राप्त गरेमा निजले ठगी गरेको ठहर्छ भनेर स्पष्टरुपमा परिभाषित गरिएको छ।

ठगीको अवस्था हेरी बढीमा दश वर्षसम्म कैद र एक लाखसम्म जरिवानाको व्यवस्थासमेत गरिएको छ भने यसैका उपदफा (४) मा बालबालिका, होस ठेगानमा नरहेको व्यक्ति, असहाय निरक्षर वा ७५ वर्षमाथिको व्यक्तिलाई ठगी गरेमा उपदफा (३) मा लेखिएको सजायमा थप एक वर्ष कैद सजाय हुने व्यवस्था गरिएको छ।

यो ऐनले कुनै राजनीतिकर्मीले कसैलाई पनि राजनीतिकरुपमै ठगी गरेमा उन्मुक्ति पाउने व्यवस्था कहीँ–कतै गरेको छैन भने किन उन्मुक्ति पाइरहेका छन् त भन्ने प्रश्न गलत हुँदै होइन।

जीवनका हरेक पाटामा केही निःस्वार्थ र त्यागसम्बन्धी कुराहरुले महत्वपूर्ण अर्थ राखेजस्तै राजनीति सत्ताको महत्वपूर्ण भर्‍याङ भए पनि राजनीतिमा निःस्वार्थ सेवा र त्यागले महत्वपूर्ण अर्थ राख्छ।

नागरिकका लागि विभिन्न महत्वपूर्ण मानिएका कुनै पनि विषयको सवालमा पहिलो सत्यता दोस्रो सम्बन्धित विषयहरुबारे सेवा दिने र सेवा लिनेबीचका आचरण र तेस्रो विषयबारेको सार्थक परिणाम निकाल्ने खालका बहसहरुले महत्वपूर्ण अर्थ राख्दछन्।

आजभोलि सत्य र जसरी पनि धन आर्जन गर्ने सोचको बीचमा कसले बाजी मार्ने हो भनेर सदैव लडाइँ भइरहेको देखिन्छ। सत्य र जसरी पनि धन आर्जन गर्ने सोचको बीचमा पलाइरहेको प्रतिस्पर्धाले देशमा न्याय, कानुनको शासन र राजनीति हार्न पुगेको छ। त्यससँगसँगै नैतिकता र देशको संविधानसमेत हार्न पुगेको छ।

रोगीको पक्षमा जोडिएको डाक्टरले रोग चाँडो निको पार्नको लागि, यात्रुमा जोडिएको चालक वा पाइलटले यात्रुहरूलाई तोकिएको स्थानमा सुरक्षित अवतरणका लागि, मुद्दाका पक्ष–विपक्षहरूमा जोडिएका वकिलहरू र न्याय प्रदान गर्छु भनेर न्यायको कुर्सीमा विराजमान न्यायाधीश दुवै पक्षले न्याय प्राप्त भएको महसुस गराउनको लागि र राजनीतिकर्मीले सेवामुखी भावनाबाट अभिपे्ररित भई देशमा शान्ति सुव्यवस्था, कानुनको पालना, भ्रष्टाचारमुक्त समाज र निकायको स्थापना र कार्यान्वयनमा प्रत्येकले आफ्नो भूमिकालाई सदैव निष्पक्ष र विवादमुक्त बनाइराख्न सक्नुपर्छ।

डाक्टरको सामान्य त्रुटि वा लापरबाहीले रोगीको मृत्यु हुन सक्छ। चालक वा पाइलटको सामान्य त्रुटिले यात्रुहरू दुर्घटनामा पर्न सक्छन्। वकिल र न्यायाधीशको गलत आचरण र रबैयाले मुद्दाका पक्षहरूले अन्याय सहनुपर्छ र राजनीतिकर्मीले सेवामुखीको सट्टा अर्थमुखी भावनाबाट अभिपे्ररित भई कार्य गर्न पुगेमा देशमा शान्ति सुव्यवस्था, कानुनको पालना, भ्रष्टाचारमुक्त समाज र निकायको स्थापना एवं कार्यान्वयनमा कतै पनि टेवा पुग्दैन।

यी सबै क्षेत्रहरु पंगु बन्न पुग्छन् । जथाभावी निर्णयले अनाहकमा नागरिकहरु मारिन पुग्छन्। वर्तमानमा हाम्रो देश अहिले यही अवस्थामा छ। जनजन देशले जित्ने प्रतीक्षामा रहेको वर्षौं भइसक्यो तर प्रश्न ज्यूँका त्युँ छ, देशले जित्ने अवस्था कहिले आउँछ ?

(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ ।) -newsofnepal