May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

नेता होइन नेतृत्व

-प्रा. डा. हरि शर्मा

राष्ट्रको कार्यकारी प्रमुखका रूपमा प्रम कमरेड प्रचण्डको कार्यावधि सकिएको एक वर्ष पुगेको उपलक्ष्यमा उहाँले राष्ट्रका नाममा गरेको समीक्षात्मक विवेचनासहितको सम्बोधनलाई जाडोमा लगलग काँप्दै देशवासीले बडो अभिरुचिका साथ सुने । आफूले वा आफ्नो नेतृत्वमा रहेको सरकारले गरेका कामको सही समीक्षाभन्दा पनि सडक एवं गल्लीगल्लीमा जनताले राज्यव्यवस्थाविरुद्ध अभिव्यक्त गरेका आक्रोशको प्रतिवादमा उहाँले बडो कष्टपूर्ण संघर्षबाट प्राप्त गणतान्त्रिक राज्य व्यवस्थाको उपादेयताउपर सघन व्याख्या गर्नुभएको अधिकांश श्रोताको नजरअन्दाज गर्न नसकिने राय कतिपय सञ्चारमाध्यमले पनि स्पष्ट शब्दमा लेखे ।

Advertisement

पंक्तिकारलाई क. प्रचण्डको वक्तव्य पहिले–पहिले बजेट पेस हुनुअघि राष्ट्र प्रमुखले दुवै सदनलाई पढेर सुनाउने गरेको आगामी वर्षका कार्यक्रम समाविष्ट गरिएको दस्ताबेजजस्तो लाग्यो । सरकारको सुशासन लक्षित व्यवस्थापनमा कतिपय पुराना पद्धतिहरूको पुनरावृत्ति गरिनु नै पर्ने थियो कि ? एउटा जिज्ञासा मात्र ! उहाँको ‘करिस्मेटिक’ व्यक्तित्वका कारण उहाँका कुरा सधैँ निःसन्देह मनगढन्ते बनेर हृदयमा अमीट छाप पार्ने खालका हुन्छन् ।

Advertisement

एक जना दार्शनिकको भनाइ सम्झना आउँछ । गरिब देशहरूले असंख्य नेताह जन्माउँछन्, गाउँगाउँमा नेताहरूको भीडभाड रहन्छ । नेतामा चाहिने सर्वोपरि गुण भने ती उडुसे नेताहरूमा रत्तिभर पनि हुँदैन । त्यो हो नेतृत्वको गुण, जुन एकाध नेतामा मात्र रहेको देखिन्छ । त्यस गुणले समाजलाई र अन्ततोगत्वा देशलाई विकासको, उन्नतिको, स्वावलम्बनको, सत्मार्गको, सुशासनको, सुख–समृद्धि र ऐक्यबद्धताको सद्भाव र न्यायको मार्गमा सहजतापूर्वक डोर्याउन सफल हुन्छ । नेतृत्वको गुण भएका त्यस्ता नेताहरू आत्मआलोचना गर्न कहिल्यै हिचकिचाउँदैनन् र अरूको आलोचनालाई समेत एउटा सकारात्मकताको कसौटीमा राखेर जाँच्न सफल हुन्छन् । सार्वजनिक हितका लागि काम गर्दा आफ्नो निजी घरपरिवार, दुःखसुख र दिनरातको पर्वाह गर्दैनन् । त्यस्ता निःस्वार्थ नेताहरू दूरदर्शी, पारदर्शी, समदर्शी र देशभक्त हुन्छन् । संसारको कुनै पनि भौतिकताप्रति न तिनको लोभ हुन्छ, न चाहना । त्यस्ता नेताहरूमा कुनै पनि प्रकारको रिसराग र क्षोभ पनि रहेको हुँदैन ।

उक्त दार्शनिकले भनेजस्तै उपर्युक्त सबै गुण त क. प्रचण्डमा छैनन्, तर बहुलचाहिँ छन् । विरोधीहरूले उहाँलाई बहुरूपीसम्म भन्न भ्याएका छन् । आमजनताले ‘कुरा बढी, काम शून्य’ भएको नेता ठान्छन् उहाँलाई अहिले पनि । क. प्रचण्डमा अन्य अनेक अद्भुत गुण छन् जसले गर्दा उहाँमा देशका लागि केही गर्नैपर्छ भन्ने हुटहुटी पनि छ । विरोधीहरूलाई सहजै वशिभूत पार्न सक्नुहुन्छ । उहाँ शिक्षकको पृष्ठभूमिबाट उदाउनुभएको हुनाले उहाँसँग विद्वत्ताको अभाव पनि छैन । क. प्रचण्डले पुनः तेस्रो चोटि प्रमको कार्यभार सँभालेको एक वर्ष पुगेको अवसरमा सबैजसो राष्ट्रिय सञ्चारमाध्यमबाट प्रसारित-प्रकाशित उहाँको सम्बोधनमा उल्लेख गर्नुभएका सरकारका आगामी दिनमा सम्पन्न गरिने कार्यक्रमहरूलाई यहाँ बुँदागत रूपमा प्रस्तुत गर्ने जमर्को गरिएको छ । पहिलो, काठमाडौँवासीले निकट भविष्यमा घरघरै मेलम्चीको पानी उपभोग गर्न पाउनेछन् । दोस्रो, देशको नीति, कार्यक्रम र बजेट निर्माणका लागि आमनागरिक र जनप्रतिनिधिहरूबाट पर्याप्त ‘इन्पुट’ लिने ।

तेस्रो, कृषिक्षेत्रलाई समुन्नत र उत्पादकत्वमुखी बनाउन आगामी २०८१–२०९१ लाई कृषिक्षेत्रमा लगानी दशकका रूपमा मनाउन सरकारी कार्यक्रम ल्याइने । चौथो, वि.सं. २०८१ को वैशाखमै नेपालमा लगानी सम्मेलनको नयाँ संस्करण ल्याइने । पाँचौं, वि.सं. ८० को दशकलाई तीव्र विकासको दशक (फास्ट डेभलपमेन्ट डिकेड) का रूपमा मनाइने । छैटौं, संसद्को आगामी हिउँदे अधिवेशनबाट निजामती सेवा कानुन र सार्वजनिक खरिद कानुन पारित गरी कार्यान्वयनमा ल्याइने । सातौँ, देशभरि धान खेतीको प्रवद्र्धनमा जुट्ने । आठौं, सिँचाइको समुचित व्यवस्था नभई कृषिमा आत्मनिर्भर हुन नसकिने भएकाले समग्र तराई क्षेत्र सिञ्चित हुने गरी सिँचाइको विस्तार गर्ने । नवौं अर्थात् अन्तिम, सिंहदरबारभित्रको प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गरिने ।

अन्य उत्तम कुराहरू उक्त सम्बोधनमा छैनन्, तर उहाँले अरू सार्वजनिक मञ्चहरूबाट देशका विविध समस्यातर्फ इंगित गर्नुभएको छ । जस्तै, विश्वविद्यालयका उच्च पदहरूमा नियुक्तिका लागि राजनीतिक दलहरूले परम्परागत रूपमा विगत अनकौं वर्षदेखि भागबन्डा गरेर आफ्ना कार्यकर्ताहरूलाई तोक्ने गरेको अवस्थाले अब निरन्तरता पाउनेछैन । यसको शैक्षिक जगत्मा ठूलो प्रशंसा भएको छ । यसलाई चरितार्थ गराउन सकेमा उहाँको नेतृत्वले उच्चता पाउने निश्चित छ । विश्वमै शैक्षिक स्तरको मापदण्डमा ख्याति अर्जेको त्रिभुवन विश्वविद्यालय आज विद्यार्थीविहीन किन हुनुपर्‍यो ? त्रिवि शैक्षिक संस्थाका रूपमा नभई राजनीतिक अखडाका रूपमा किन परिचित हुन पुग्यो ? यसबारे जिम्मेवारी कसले लिने ? आदि प्रश्नहरू अहिले टड्कारो रूपमा अघि अगाडि आइरहेका छन् । तत्सम्बन्धमा अहिले सरकारले उच्च शिक्षासम्बन्धी कानुनको प्रारूप तयार पारिरहेकोमा उच्च शिक्षा क्षेत्रमा कार्यरत विज्ञहरूले बडो उत्सुकताका साथ त्यसको कार्यान्वयन पक्षबारे अड्कलबाजी लगाइरहेको अवस्था छ ।

विश्वविद्यालय सञ्चालनमा बोर्ड अफ ट्रस्टिजको गठनलाई सकारात्मक आँखाले नै हेरिएको छ । उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन, २०७५ ले सुझाएका विषयहरूलाई सरकारले गम्भीरतापूर्वक लिनु समयसापेक्ष ठहरिनेछ । सबैभन्दा महत्वपूर्ण कुरा त्रिविले अब प्राज्ञिक उत्कृष्टताको केन्द्रका रूपमा स्वयंलाई सबल, सक्षम र सशक्त बनाउँदै लैजानुपर्ने हुन्छ । त्रिविको कुलपति प्रधानमन्त्री नै रहे पनि उच्चस्तरीय शिक्षा आयोगको सुझावविपरीत विश्वविद्यालयहरूमा दक्ष जनशक्ति तयार पार्ने र अध्ययन, अनुसन्धान र आविष्कारतर्फ जोड दिने परिपाटीलाई संस्थागत गरिनुपर्छ । कुनै पनि हालतमा राजनीतिक–चलखेललाई त्यहाँ प्रश्रय दिइनु हुँदैन ।

प्राध्यापक एवं विद्यार्थीहरूका लागि भारत, चीनजस्ता अन्य मित्रराष्ट्र देशहरूसँग प्राज्ञिक आदान–प्रदानका कार्यक्रमको निर्माण गरी वर्षमा एकचोटि त्यसको कार्यान्वयनतर्फ जोड दिन अनिवार्य बनाइनुपर्छ । मानित विश्वविद्यालयको अवधारण हाम्रो ग्रामीण परिप्रेक्ष्यमा श्रेयष्कर मान्नुपर्छ । आगामी दिनमा देशमा बेरोजगारी समस्या घट्न जाने कहीं कुनै संकेत देखिँदैन । यदाकदा स्थानीय सरकारको मद्दतले पटके, ज्यालादारी वा त्यस्तै प्रकृतिका प्रम रोजगारी कार्यक्रमजस्ता हावादारी कार्यक्रम फाट्टफुट्ट देखिए पनि तिनको स्थायित्व नभएकाले हाम्रा ग्रामीण युवा भारतभरी कुल्ली र चौकिदारीमा दौडिन्छन् । हुनेखाने वा मध्यम वर्गका युवाहरू बाह्र पास गर्‍यो कि पासपोर्ट बनाउनेतिर अरू केही मात्तिएका कलाकार भनाउँदाहरू विमानस्थलमा आफंैले लाएको टोपी र झन्डा भुइँमा फालेर विमान चढ्छन् । यो बेथितिलाई सम्बोधन कसले गर्ने ?

नेतृत्वमा बस्नेहरूले अगाडि–पछाडि सुरक्षा टोली राखेर गठबन्धनको सशक्तीकरणका लागि घण्टौं लामो बैठक गरेर थाकेको भन्दै मन्त्रालय नगई घरमै सुतला हुन दौडने ? यही हो जनताले तिरेको करमा पालिएकाहरूको दिनचर्या ! विमानस्थलभित्र छरप्रस्ट देखिने उच्च शिक्षा, धन–सम्पत्ति र सहज जीवनको सपनामा जकडिएको मनस्थिति लिएर सधैंका लागि विदेशको यात्रामा हिँडेका कैयौं युवायुवतीको अनुहार नेतृत्वमा बस्नेहरूले देख्दैनन् भने त्यस्तालाई अवकाश दिनुपर्छ । नेताको नाम कलंकित बनाएर बस्ने अधिकारको सार्वजनिक भत्र्सना हुनुपर्छ । अन्य नेपाली बाआमाका कर्मवीर देशभक्त छोराहरूलाई दलाल पुँजीवादको आडमा महत्वाकांक्षीको आरोप लगाउने र टाट पल्टिँदै गएको अर्थतन्त्रको धज्जी उडाउने ?

भदौरे खोलामा बगेको पानीजस्तै कल्पनातीत रूपले विप्रेषण वृद्धि भएको अवस्थामा पनि, बैंकहरू नाफामा चलिरहेको अवस्थामा पनि, कृषिमा उत्पादन नघटेको अवस्थामा निजी क्षेत्रका नेपाली व्यवसायीहरूको अकुत लगानी र उत्साह वृद्धि भइरहेको स्थितिमा पनि, हाम्रो जलस्रोतको ऊर्जा–निर्यात बढिरहेको यथार्थका सामुन्ने पनि देशवासीमा फैलिएको यो नैराश्यताको वातावरणलाई सरकारमा बस्नेहरूले मलजल गर्ने ? शून्य सहनशीलता र सुशासनका सिलोक सुनाएर, न्याय र समतामूलक प्रगतिशील समाजको गीत गाएर, देशका युवा कर्णधारलाई श्रम अनुमति उपलब्ध गराएर, ‘सुखी नेपाली, समृद्ध नेपाल’ को कृत्रिम वाणी बोलेर कति दिन आफ्नो नेतृत्वको असक्षमतालाई लुतो लुकाएर राखेझैं राख्छौ ? आवेशले, उन्मादले देश चल्दैन, गल्छ अनि कमजोर हुँदै जान्छ । द्वन्द्वकालपश्चात् धेरै नेता कहलिन लालायितहरूले राजनीतिको वैतरणीसमेत पार गरे ।

सत्ताको हारालुछ सुरु भयो । देशको उत्पादकत्व, शिक्षा, कृषि तथा नैतिकता र देशका हरेक निकायको व्यवस्थापन प्रणालीभित्र अराजकताले प्रवेश पायो । पद र धनका लागि को कतिसम्म जान सक्दो रहेछ भन्ने प्रस्ट हुँदै गयो । काण्डैकाण्ड र भ्रष्टाचारका सयौँ प्रकरणको पर्दाफास हुन नपाउँदै पटाक्षेप पनि हुने चलन जनताले बुझ्न थालिसके । निर्मलादेखि आरतीहरूलाई न्यायले नदेख्ने गरी आँखा चिम्ल्यो, भोको पेट लिएर बालकुमारीमा तातो गोली खाने युवाद्वयको न्याय–निसाफ दस–दस लाखमा टुंगिन्छ । मानिसको गरिबीउपरको व्यंग्य अझ कति लम्बिनी हो ? परिवर्तन र समृद्धिको हुटहुटी कहिले पूरा हुने हो ? जनताको मतदानले देशलाई आउँदा दिनहरूमा कस्तो मोडमा पुर्‍याउने हो ? सबैलाई मत चाहिएको छ— ढाँटेर, छलेर, प्रलोभनमा परेर । संसद्मा सिट बढाउनुपरेको छ, नभए गठबन्धनको गलगाँडले हाम्रा नेताहरूको प्रबुद्धतालाई कुन भीरमा लगेर जाक्ने हो, थाहा छैन । नेतृत्वले आफ्नो चाहनाको पर्वाह होइन, जनताको चाहनाको मर्मलाई पर्वाह गर्नुपर्छ भन्ने बुझ्न अनिवार्य छ ।

सत्तापिपासुहरू चुनाव हारेर पनि राष्ट्रिय सभामा जाने दौडमा व्यस्त छन् । अरूको अधिकार हनन गरेर स्वयं समानुपातिकको कोटामा जमेकाहरू सत्तालाई रिझाउने र पुनः सत्तामा नै रही निमुखा नेपालीहरूको नेता बनिरहने परिकल्पनामा मस्त होलान् । नेतामा नेतृत्वको गुण अन्तर्निहित हुनुपर्छ । गलत बाटोबाट सही बाटोतर्फ उन्मुख कसैको पनि हामी सराहना एवं श्रद्धा गर्छौं । श्रद्धेय ऋषि बाल्मिकी (रत्नाकर) र अंगुलीमालले सनातनी समाजका लागि गरेको देन बिर्सन चाहेर पनि के बिर्सन सकिएला ? आज देशलाई नेताहरूको झुन्ड होइन, असल नेतृत्व चाहिएको छ ! -karobardaily