July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय खुला १० किमि रोड रेस’ हुँदै, तयारी पूरा

Advertisement

दाङ– लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा बैशाख १२ गते शनिबार घोराहीमा हुने ‘दोस्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १० किमि रोड रेस प्रतियोगिता–२०८३’को सम्पूर्ण तयारी पुरा भएको छ । यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य प्रतियोगिताको पूर्णसफलताको शुभकामना व्यक्त गरेका छन्।

Advertisement

परिषद्का सदस्य सचिव तिरणदाज गौतमका अनुसार प्रतियोगिता बिहान साढे ६ बजेबाट सुरु हुनेछ । प्रदेश खेलकुद परिषद्को स्वीकृत वार्षिक कार्यक्रमअनुसार खेलकुदको विकास, विस्तार र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

यस वर्ष प्रतियोगिताको पुरस्कार राशीमा उल्लेख्य वृद्धि गरिएको परिषद्ले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले ८० हजार रुपैयाँ, द्वितीयले ४५ हजार र तृतीयले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी चौथोले १५ हजार, पाँचौंले १० हजार र छैटौंदेखि दशौं स्थानसम्मका खेलाडीले जनही ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

गत वर्ष २०८२ असार १४ गते सम्पन्न पहिलो संस्करणमा पुरुषतर्फ नेपाल आर्मीका सञ्जय श्रेष्ठले ३१ मिनेट ३०।४८ सेकेन्डमा दूरी पार गर्दै प्रथम स्थान हासिल गरेका थिए । महिलातर्फ नेपाल आर्मीकै निशा सार्की प्रथम भएकी थिइन् ।

गत वर्ष पुरुषतर्फ नरेन्द्र रावत दोस्रो, नागेश्वर अहिर तेस्रो, विनोद रोकाया चौथो र रुपेश कार्की पाँचौं भएका थिए । महिलातर्फ पुष्पा भण्डारी दोस्रो, दिया परियार तेस्रो, सुमित्रा कुमारी चौधरी चौथो र पुष्पा कठायक पाँचौं स्थानमा रहेकी थिइन् ।