भैरहवामा ‘खुकुरी टी–ट्वान्टी कप’ हुँदै, विजेता टीमलाई १११,१११


भैरहवा– भैरहवामा ‘खुकुरी टी-ट्वान्टी कप-२०८३’ क्रिकेट प्रतियोगिता हुने भएको छ । यही वैशाख ८ देखि १५ गतेसम्म भैरहवास्थित सिद्धार्थ रंगशालामा प्रतियोगिता सञ्चालन हुने भएको हो । आयोजक संस्था लुम्बिनी खुकुरी क्लबले आइतबार भैरहवामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो ।
प्रतियोगितामा नेपालका १३ तथा भारतका ३ गरी कुल १६ टीमको सहभागिता रहने छ । प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन गरिने कार्यक्रम संयोजक नन्दन श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताका विजेता टीमले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् । साथै, म्यान अफ द सिरिजलाई १५ हजार रुपैयाँ तथा उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही ५ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ ।
भारतका नौतनवा, गोरखपुर र कोल्हईबाट टिमको सहभागी हुनेछ भने नेपालतर्फ रुपन्देही बाहिरका २ र जिल्लाभित्रका ११ टिमले प्रतिस्पर्धा गर्ने छन् । क्लबका अध्यक्ष महेश थापाका अनुसार यसअघि पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा योगदान पुर्याएको क्लबले यस प्रतियोगितामार्फत क्रिकेट विकासमा थप टेवा पुर्याउने लक्ष्य राखेको छ ।
सिद्धार्थनगर नगरपालिका वडा नं. १ का वडाध्यक्ष उज्ज्वल पोखरेलले खेलकुद क्षेत्रलाई वडा कार्यालयले विशेष प्राथमिकतामा राखेको उल्लेख गरे । यस्ता प्रतियोगिताले खेलाडी उत्पादन टेवा पुर्याउने उनले विश्वास व्यक्त गरे ।
प्रतियोगितामा करिब ११ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितालाई सिद्धार्थनगर नगरपालिका–१ ले मुख्य प्रायोजन गरेको छ । कार्यक्रममा लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विष्णुप्रसाद शर्मा, पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्तिप्रसाद गौचन लगायतको उपस्थिति थियो ।
क्लबका सचिव ओजश शर्माको आफूहरुको उद्देश्य जिल्ला स्तरबाट धेरै भन्दा धेरै खेलाडी उत्पादन होउन भन्ने रहेको जनाए । क्लबले सधैं खेलकुदलाई प्राथमिकता राखेर प्रतियोगिता आयोजना गर्दै आएको जनाउँदै आगामी दिनमा पनि निरन्तरता दिने उनले जनाए ।








प्रतिकृया दिनुहोस्