रूपन्देही सुपरलिगः बुटवल–११ आठ विजेटले विजयी


भैरहवा- भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको बुधबारको खेलमा बुटवल–११ ले जित निकालेको छ । उसले बुटवल युथ क्रिकेट क्लबलाई ८ विकेटले हराउँदै सहज जित निकालेको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको बुटवल युथले १६ ओभर ५ बलमा सबै विकेट गुमाएर जम्मा ६७ रन बनायो । उसलाई सस्तैमा रोक्न बुटवल–११ का थानेश्वर भट्टराईले ४ ओभर ५ बल बलिङ गर्दै २० रन खर्चेर सर्वाधिक ६ विकेट लिए । यस्तै, एजाज अहमदले ३ तथा विभेष खत्रीले १ विकेट हात पारे । बुटवल युथका हिलसन क्षेत्रीले १९ र कृष्ण पटेलले ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
जवाफी ब्याटिङ गरेको बुटवल–११ ले १७ ओभर ४ बलमा २ विकेट गुमाएर ६८ रन बनाउँदै सहजै जित हात पार्यो । उसको जितमा सुजित श्रेष्ठले २८ र आकाश अर्यालले २५ रनको योगदान गरे । बलिङमा बुटवल युथका हिलसन क्षेत्री र लक्ष्मण केसीले १–१ विकेट लिए । खेलमा थानेश्वर भट्टराई प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद एक लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले समान पाँच हजार रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ पाउने खेल संयोजक प्रथम पराजुलीले बताए । प्रतियोगिताको विजेता पुरस्कार माउण्ट एभरेष्ट कत्था मिल, उपविजेता पुरस्कार विके ज्वेलर्स, भैरहवा, म्यान अफ द म्याचको पुरस्कार सिद्धार्थ उद्योग बाणिज्य संघले प्रायोजन गरेको छन् ।
यस्तै, म्यान अफ द सिरिजको पुरस्कार होटल स्टार होलिडे, बेस्ट व्याटर र बलरको पुरस्कार युवा व्यवसायी रविकुमार रौनियार, उदयीमान खेलाडीको पुरस्कार प्रतीक ट्रेड लिंक र म्याच अवधिभर बलको प्रायोजन व्यवसायी अमित गुप्ताले गरेका छन् । प्रतियोगितामा ‘ए’ र ‘बी’ डिभिजन गरी २० टीमको सहभागिता छ ।








प्रतिकृया दिनुहोस्