October 14, 2026, Wednesday
२०८३ आश्विन २९ बिहीबार

तीजको बेला पनि सुनसान छन् होटल, ब्यान्क्वेट हल र पार्टी प्यालेस

Advertisement

भैरहवा- बिगतका बर्षमा यतिबेला तीजको निकै रमझम र भिडभाड हुने भैरहवा क्षेत्रका होटल, ब्यान्क्वेट हल र पार्टी प्यालेस यस बर्ष भने सुनसान छन् ।

Advertisement

भोटेकोशी नदीमा आएको बाढीले निम्त्याएको बिपद्का कारण तिजको रमझम र उमगं नहुदा होटेल, रेष्टुरेन्ट, ब्यान्क्वेट, पार्टी प्यालेस सुनसान बनेका हुन् । बाढीबाट उत्पन्न बिपद्ले चौतर्फी छाएको चिन्ता र शोकले चाडपर्वपनि सुनसान हुनुको असर पर्यटन क्षेत्रको यी व्यवसायमा प्रत्यक्ष रुपमा परेको छ ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी महासँघ नेपालका महासचिव तथा भैरहवाका होटल व्यवसायी राजेश महोत्राले भोटेकोशीमा आएको बाढीका कारण उत्पन्न बिपद्ले गर्दा तीज लगायतका चाडपर्व सुनसान बनेको र यस्को प्रत्यक्ष असर होटल, ब्याङक्विट हल र पार्टी प्यालेस जस्ता सेवामूलक पर्यटन व्यवसायमा परेको बताए । ‘बिगतमा तिज आउनु भन्दा एक महिना अघि देखि नै तिजको नाचगान र दर खानका लागि होटल, ब्याङक्विट हल र पार्टी प्यालेस प्रत्येक दिन भरिभराउ हुने गर्थे’, महोत्राले भने, ‘यस बर्ष तिजलाई लक्षित गरेर कुनैपनि कार्यक्रम आयोजना भएका छैनन् ।’

उनका अनुसार, भैरहवा, बुटवल लगायत रुपन्देही जिल्लाको बजार क्षेत्रमा तारे होटल बाहेक १ सय भन्दा धेरै ठूला र स्तरीय होटल, ब्याङक्विट हल र पार्टी प्यालेस छन् । बिगतका बर्षलाई आधार मान्दा यस बर्ष तीजका कुनैपनि कार्यक्रम हुनुले ५० करोड रुपैयाँको हाराहारीमा रुपन्देहीका यस क्षेत्रको व्यवसायको आम्दानी नभएको उनको भनाइ छ ।

भैरहवास्थित चार तारे होटल मौर्याका प्रबन्धक ओमप्रकाश पाण्डेले तीजलाई लक्षित गरेर अग्रिम बुकिङ भएका १५ वटा तीजका कार्यक्रम भोटेकोशी नदीमा आएको बाढीले ल्याएको बिपद्का कारण रद्ध भएको बताए ।

बाढीले ठूलो सँख्यामा जनधनको क्षती सहितको बिपद् निम्त्याएपछि बिगतका बर्षमा तीजको कार्यक्रम आयोजना गर्ने गरेका सरकारी तथा गैरसरकारी कुनै पनि निकायले यस बर्ष आयोजना गरेका छैनन् । वडा देखि पालिकासम्म स्थानीय तहले तीज शिर्षकमा बजेट नै बिनियोजन गरि कार्यक्रम गर्ने गर्थे । प्रत्येक सरकारी कार्यालय, बैंक तथा बित्तिय सँस्था, सहकारी सँस्था, गैरसरकारी सँस्था, बिद्यालय, कलेज तथा शैक्षिक सँस्था लगायतले होटेल, ब्यान्क्वेट हल र पार्टी प्यालेसमा तिजको दर खाने कार्यक्रम आयोजना गर्ने गर्थे ।

बिपद्ले गर्दा यस बर्ष तीजको कार्यक्रम आयोजना नगरि बाढीबाट प्रभावित पीडित परिवारको राहत तथा उद्धारका लागि सक्दो आर्थिक सहयोग गर्नमा ती सँस्था तथा स्थानिय तह लागेका छन् ।

सिद्धार्थनगर–१२ स्थित युनिक ब्याङ्क्वीटका सञ्चालक सिकन्दर अलीले बिपद्ले राष्ट्रनै शोकाकुल अवस्थामा रहेको वेला चाडपर्वको उल्लास नै नरहेको बताए ।

‘मेरो ब्याङ्क्वीटमा तीजका लागि अग्रिम बुकिङ गरिएका १३ वटा कार्यक्रम रद्ध भए’, अलीले भने, ‘कर्मचारीलाई तलव खुवाउन अन्य बैकल्पिक उपाय खोज्नु परेको छ । यो वेला राष्ट्रलाई नै साथ र सहयोग गर्ने समय हो ।’ बाढीका कारण आएको बिपत्तिले भैरहवा क्षेत्रमा तिज बाहेकका अन्य कार्यक्रमपनि सरकारी तथा गैरसरकारी स्तरबाट आयोजना भएका छैनन् ।