एक वर्षमा १५ सयले लिए अंगीकृत नागरिकता


भैरहवा–जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट अंगिकृत नागरिकता लिने बढेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार पछिल्लो एक वर्षमा १ हजार ५ सय भन्दा बढिले यस्तो नागरिकता प्राप्त गरेका छन् । आर्थिक वर्ष २०८२–८३ मा एक हजार १ सय ६७ जनाले वैवाहिक अंगीकृत र ३ सय ३४ जनाले अंगीकृत नागरिकता प्राप्त गरेका हुन् ।
जिल्ला प्रशासन प्रशासकीय अधिकृत विष्णुप्रसाद ज्ञवालीका अनुसार वैवाहिक अंगीकृत लिनेहरूमा सबैभन्दा बढी जिल्ला प्रशासन कार्यालयबाट ५ सय ४४, इलाका प्रशासन कार्यालय मझगावाबाट ३ सय ९८, इलाका प्रशासन कार्यालय मानपकडीबाट १ सय ६५ र बुटवलबाट ६० जना छन् । अंगीकृत नागरिकता लिनेमा जिल्ला प्रशासनबाट १ सय ६२, इलाका प्रशासन कार्यालय मानपकडीबाट १ सय २०, मझगावाबाट ३४ र बुटवलबाट १८ जना छन् ।
प्रचलित कानुन अनुसार विदेशी महिलाले नेपाली पुरूषसँग वैवाहिक सम्बन्ध कायम गरेपछि वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने कानुनी प्रावधान छ । अंगीकृत नागरिकता लिन भन्दा अगाडि जन्मिएका सन्तान, बुवा आमामध्ये कुनै एकको जन्मको आधारमा नागरिकता भएकाको सन्तानलाई अंगीकृत नागरिकता दिने प्रावधान छ ।
गत वर्ष ६५ जनाले गैर आवासीय नागरिकता प्राप्त गरेका छन् । यी सबै गरेर एक वर्षमा २७ हजार ४९३ जनाले रूपन्देहीबाट नागरिकता प्राप्त गरेको तथ्यांक छ । त्यस्तै गत वर्ष रूपन्देहीबाट ५३ जनाले नागरिकता त्याग गरेका छन् ।








प्रतिकृया दिनुहोस्