युवा र महिलाको सक्रियतामा कपिलवस्तुको शिवराजमा संवाददेखि स्वरोजगार


भैरहवा—कुनै समय गाउँका समस्या पहिचान र समाधानका लागि पालिका बाहिरबाट आउने सरकारी वा गैरसरकारी संस्थाको बाटो हेर्नुपथ्यो । यस्ता संस्थाले कुनै कार्यक्रम आयोजना गरिदिएमात्र उनीहरु आफ्ना समस्या व्यक्त गर्थे । महिला र बालबालिकाको प्रयासले अहिले कपिलवस्तुको शिवराज नगरपालिकामा उलेख्य परिवर्तन देखिएको छ । स्थानीय बालबालिका, किशोरकिशोरी, युवा र महिलाहरू छलफल मार्फत आफ्नो समुदायका समस्या पहिचान गरेर समाधानका लागि सम्बन्धित निकायसम्म पहल गर्ने र आयआर्जनका गतिविधिमा जोडिन थालेका छन् ।
नगरपालिका विभिन्न वडामा गठन भएका किशोरकिशोरी संवाद समूह, बाल क्लब, युवा सञ्जालका साथैं टोल विकास संस्था तथा महिला स्वावलम्बन समूहहरु गाउँमा सामाजिक रूपान्तरणको महत्वपूर्ण आधार बनिरहेका छन् । यस्ता समूहले नियमित बैठक, छलफल, सामाजिक अभियान र स्वरोजगारमूलक गतिविधिमार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउन थालेका छन् ।
शिवराज नगरपालिका–३, मैनार बस्ती पूर्व पश्चिम राजमार्गबाट उत्तरमा जंगलको बीचमा रहेको छ । उक्त बस्तीमा पुग्नका लागि मैनार खोलामा पक्कि पुल छैन । जसले गर्दा लामो समयदेखि स्थानीय बासिन्दा स्वास्थ्य उपचारबाट बञ्चित हुँदैं आएका छन् । मैनारमा टोल विकास संस्था गठन भएपछि यस्ता समस्या हल गर्न पहल भइरहेको छ । संस्थाको समन्वयमा स्थानीय बासिन्दा सरसफाइदेखि जीवन उपयोगी विभिन्न काममा सक्रिय छन् । समुदायका सदस्यमा जीवनशैली परिवर्तन, क्षमता विकास र सामाजिक कामप्रतिको चासो बढेको स्थानीयको अनुभव छ ।
स्थानीय रामपाल थारुले गाउँमा आयआर्जनका थप अवसर सिर्जना गर्न होमस्टे सञ्चालन तथा सीपमूलक तालिम आवश्यक रहेको बताए । यसले गाउँमै रोजगारी र आम्दानीको वातावरण बनाउन सहयोग पुग्ने उनको अपेक्षा । होम स्टे सञ्चालनका लागि तालिम आवश्यक रहेको उनले बताए । टोल विकास संस्था र स्थानीय समुदायिक वनको सहकार्यमा सडक ग्रावेल गरिएको छ । स्थानीयले मैनार खोलामा पुल निर्माणका लागि सहजीकरण गर्नुपर्ने माग गरिरहेका छन । सिँचाइ, स्वास्थ्य र शिक्षाका क्षेत्रमा थप पहल आवश्यक रहेको उनीहरूको भनाइ छ ।

शिवराज–८, विसुनपुरमा किशोरकिशोरी संवाद, बाल क्लब र युवा सञ्जाल सामाजिक परिवर्तनका प्रभावकारी माध्यम बनेका छन् । यस्ता समूहले नियमित बैठक गर्ने, समुदायमा देखिएका समस्या पहिचान गर्दै आएका छन् । प्रत्येक महिनाको ५ गते बैठक बस्दैं आएका छन् । समुहमा विषय केन्द्रित छलफल गरेर समाधानका लागि पहल गर्ने अभ्यास भइरहेको स्थानीय निकिता कोइरालाले बताइन । ‘बालबालिका र युवाले आफ्ना कुरा आफैं राख्ने तथा समुदायका समस्यामाथि छलफल गर्ने वातावरण बनेको छ,’उनले भनिन, ‘यस्तो अभ्यासले आत्मविश्वास बढ्नुका साथैं स्थानीय युवाको नेतृत्व क्षमतामा समेत वृद्धि भएको भएको पाएका छौं ।’
उनका अनुसार बैठकमा सबै सदस्यको नियमित सहभागिता नहुने समस्या पनि छ । बैठकलाई थप प्रभावकारी र नियमित बनाउन स्टेसनरी सामग्री आवश्यक रहेको समूहहरूको माग छ । उनीहरूले अन्तरजिल्ला तथा बाह्य भ्रमणको अवसरसमेत माग गरेका छन् । अहिले युवाकै अग्रसरतामा विसुनपुरमा लागूऔषध प्रयोगकर्तासम्बन्धी तथ्यांक संकलनको कामसमेत भइरहेको छ । यसमा लक्षित समुदायकै सदस्यहरूको सहभागिता रहेको छ । यसले समुदायमा रहेको समस्यालाई लुकाउनेभन्दा पहिचान गरेर समाधान खोज्ने संस्कार विकास गर्न सहयोग पुगेको देखिन्छ ।
विसुनपुरको छिमेकी शिवराज–८, स्थित तुरन्तपुरमा कल्याण सामुदायिक बीउ बैंक रहेको छ । उक्त बैंकले रैथाने जानका विऊ संरक्षण गरिएको केन्द्रकी अध्यक्ष खिमा जीसीले बताइन । स्थानीयस्तरमा लोपोन्मुख हुँदै गएका बीउ संरक्षण गर्नुका साथै माटो संरक्षण, वातावरण रक्षा र विषादीरहित खानाबारे जनचेतना फैलाउने काम भइरहेको उनले बताइन । बीउ संरक्षणले परम्परागत कृषि प्रणाली र स्थानीय जैविक विविधता जोगाउन योगदान पु¥याएको छ । स्थानीयहरू कृषि उत्पादनसँगै वातावरण संरक्षणलाई पनि जोडेर अघि बढिरहेका छन् ।
तुरन्तपुरमा दुनाटपरी उत्पादन आयआर्जनको माध्यम समेत बनेको छ । मेसिनको प्रयोग सुरु भएपछि स्थानीय उत्साहित भए पनि अहिले प्रयोगमा रहेको मेसिन ठूलो भएकाले सञ्चालनमा धेरै श्रम लाग्छ । त्यसैले मेसिनलाई थप व्यवस्थित र स्तरोन्नति गर्नुपर्ने स्थानीयको माग छ ।
शिवराज–९ रमुदहवामा महिला स्वावलम्बन समूह सामाजिक परिवर्तनको महत्वपूर्ण माध्यम बनेको छ । समूहमा आबद्ध महिलाहरू सामाजिक कामसँगै सामूहिक कृषि, बचत तथा आयआर्जनका गतिविधिमा सक्रिय छन् । समूहकै कारण गाउँलेबीच एकता बलियो बनेको र सुखदुःखमा एकअर्कालाई सहयोग गर्ने वातावरण विकास भएको स्थानीय बताउँछन । विशेषगरी महिलाहरूको सक्रियता उल्लेखनीय र प्रशंसायोग्य रहेको छ । महिलालाई घरायसी, कृषि तथा अन्य काममा श्रीमानबाट समेत सहयोग र साथ मिलिरहेको छ । यसले महिलाको सामाजिक सहभागिता मात्र होइन, परिवारभित्रै निर्णय क्षमता र आत्मविश्वास बढाउनसमेत मद्दत गरेको छ ।

रमुदहवाका बासिन्दा जलवायु मैत्री नमुना कृषि गाउँ घोषणाका लागि पनि उत्साहित छन् । त्यसका लागि आवश्यक मापदण्ड पालना भइरहेको स्थानीयको भनाइ छ । घरबगैँचा कार्यक्रमबाट समेत उनीहरूले उत्पादनसँगै आयआर्जन गरिरहेका छन् । विकासका आधारभूत पूर्वाधारको आवश्यकता भने अझै बाँकी छ । स्थानीय सडक सुधार, खोलामा पक्की पुल तथा नाला निर्माण गर्नुपर्ने माग स्थानीयले राखेका छन् । शिवराजका यी गाउँमा भइरहेका गतिविधिले सामाजिक रूपान्तरण सधैं ठूला योजनाबाट मात्र सम्भव हुँदैन भन्ने देखाएको छ । बालबालिकाको संवाद, युवाको सक्रियता, महिलाको समूह, सामूहिक कृषि, बीउ संरक्षण, घरबगैँचा र साना उद्यम अहिले गाउँ परिवर्तनका आधार बनिरहेको शिवराज नगरपालिकाकी उप प्रमुख शिवकुमारी थारुले बताइन ।
समुदायका समस्या आफैं पहिचान गरेर समाधानका लागि पहल गर्ने संस्कार विकास हुनु यस परिवर्तनको महत्वपूर्ण पक्ष भएको किर्डाक नेपालका कार्यक्रम निर्देशक गौतमराज अधिकारीले बताए । यसले स्थानीय बासिन्दालाई सेवा र सुविधाका उपभोक्ताबाट विकास प्रक्रियाका सक्रिय साझेदार बनाउँदै लगेको उनको भनाई छ । ‘यी प्रयासलाई दीगो बनाउन स्थानीय तह तथा सम्बन्धित निकायको निरन्तर सहयोग आवश्यक देखिन्छ,’उनले भने, ‘ सीपमूलक तालिम, आयआर्जनका अवसर, कृषि प्रविधि, समूह सञ्चालनका सामग्री, भ्रमण तथा क्षमता विकाससँगै सिँचाइ, सडक, पुल, स्वास्थ्य र शिक्षाजस्ता पूर्वाधारमा लगानी बढाउन सके शिवराजका यी सामुदायिक पहलले अझ व्यापक रूप लिन सक्छन् ।’








प्रतिकृया दिनुहोस्