भोटेकोशी बाढीका मृतकको आत्मशान्तिका लागि सामूहिक पितृमोक्ष कर्म



भैरहवा–भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तथा काजकिरिया र अन्तिम संस्कार हुन नसकेका मृतकहरूको आत्मशान्ति एवम् मोक्षप्राप्तीको कामना गर्दै भैरहवामा सामूहिक पितृमोक्ष कर्म गरिएको छ ।
विश्व हिन्दु महासंघ रुपन्देहीको आयोजनामा सोमबार भैरहवास्थित नारायणस्थान मन्दिरमा वैदिक हिन्दु संस्कारअनुसार बाढीमा परी मृत्यु भएका ज्ञात अज्ञात व्यक्तिहरूको नाममा सामूहिक रूपमा १३औँ दिनको पुण्यतिथि कर्म सम्पन्न गरिएको हो ।
महासंघ रुपन्देहीका सभापति गोविन्दराज पाण्डेका अनुसार बाढीका कारण मृत्यु भएका कतिपय व्यक्तिको परिवार नै प्रभावित भएकाले परम्परागत रूपमा गरिनुपर्ने काजकिरिया तथा अन्तिम संस्कारसमेत हुन सकेको छैन । मृतक तथा उनीहरूका परिवारको पहिचानसमेत कठिन बनेको अवस्थालाई ध्यानमा राखेर सामूहिक पितृमोक्ष कर्म गरिएको उनले बताए ।
बाढी आएको १३औँ दिनको पुण्यतिथि पारेर २१ जना ब्राह्मण तथा पण्डितको सहभागितामा धार्मिक विधि पूरा गरिएको थियो । कार्यक्रममा गीता पाठ, पितृसूक्त तथा नारायणसूक्त पाठ, दीप प्रज्वलनलगायतका पितृ आत्माको शान्तिका लागि गरिने वैदिक कर्महरू गरिएको पाण्डेले जानकारी दिए ।

वैदिक हिन्दु परम्पराअनुसार मृत्युपछि गरिनुपर्ने काजकिरिया तथा पितृमोक्षका कर्म सम्पन्न हुन नसक्दा मृतात्माले शान्ति नपाउने धार्मिक मान्यता रहेको उल्लेख गर्दै पाण्डेले प्रभावित परिवारको अवस्थालाई मध्यनजर गर्दै सामूहिक रूपमा संस्कार गरिएको बताए ।
‘बैदिक हिन्दु शास्त्रीय मान्यता अनूरुप मृत्यू भएपछि गरिनु पर्ने काजकृया लगायत्का पितृमोक्षका कार्य नहुदा मृतआत्माले शान्ति नपाउने र मोक्षका कार्य खोज्ने मान्यता छ’ पाण्डेले भने, ‘कतिपय सवै परिवार नै बाढीमा परेकाले काजकृया तथा अन्तिम सँस्कार गर्ने समेत कोही छैनन् । यस्ता परिवारको पहिचान समेत हुन नसकेकाले सामुहिक पितृमोक्ष कार्य गरिएको हो ।’
पितृमोक्ष कर्मसँगै बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका सबैको चिरशान्तिको कामना गरिएको थियो । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ, बेपत्ता भएकाहरूको सकुशल उद्धार तथा आगामी दिनमा यस्ता प्राकृतिक विपत्ति दोहोरिन नदिन प्रार्थना गर्दै सवालाख दीप प्रज्वलनसमेत गरिएको छ ।








प्रतिकृया दिनुहोस्