September 4, 2026, Friday
२०८३ भाद्र १९ शुक्रबार

पूर्वाधार विकासमन्त्री लम्साललाई भएको के हो ?

Advertisement

भैरहवा– भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतका आयोजनाहरूको अनुगमनका लागि बैतडी पुगेका मन्त्री सुनील लम्साल बिरामी परेपछि काठमाडौं लगिएको छ ।

Advertisement

मन्त्री लम्साल ३० साउनको राति बैतडीको दशरथचन्द नगरपालिका– ४ गोठलापानीमा पुगेका थिए । शनिबार उनी त्यहीँ बसेका थिए । गोठालपानीमा बसिरहेका बेला नै मन्त्री लम्साललाई ज्वरो आएको बताइएको छ । उनलाई ज्वरोका साथै घाँटी दुख्ने र हातखुट्टामा समेत समस्या आएको थियो ।

जिल्ला प्रशासन कार्यालयका अधिकारीहरूले दिएको जानकारीअनुसार स्थानीय स्वास्थ्यकर्मीबाट मन्त्री लम्सालको उपचार पनि भएको थियो । तर, उनको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि काठमाडौं लगिएको हो ।

उनलाई आइतबार दिउँसो सुर्खेतबाट गएको नेपाली सेनाको स्काई ट्रकमार्फत धनगढी ल्याएर त्यहाँबाट काठमाडौं लगिएको छ । पालिका प्रमुख पुष्करराज जोशीका अनुसार मन्त्री लम्साललाई आइतबार बिहानदेखि समस्या आएको हो ।

‘भाइरल ज्वरोको सिजन हो, हामीले बुझेसम्म त्यही नै भएको हो । अरु समस्या आएको हामीलाई थाहा छैन’, उनले भने । उनको काठमाडौंमा उपचार जारी छ ।

मन्त्री लम्साल पछिल्लो समय देश दौडाहामा थिए । सुदूरपश्चिम पुगेपछि उनी विरामी भएका छन् । मुलुकभरका आयोजनाहरु अनुगमन गर्ने रफ्तारमा लागेका उनलाई ज्वरोले समस्या निम्त्याएको हो । चिकित्सकहरुका अनुसार उनी धेरै दौडधुपका कारण निकै थकित पनि भएका छन् ।

मन्त्री लम्साल रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित रास्वपा सांसद समेत हुन् । मन्त्री विरामी भएपछि धेरैले उनको स्वास्थ्यबारे चासो राखेका छन् । रुपन्देहीबासी भएकाले जिल्लामा उनको बढी चासो छ । तर, काठमाडौं पुगिसके पछि उपचार हुँदै गर्दा उनको स्वास्थ्यमा राम्रो सुधार भएको छ ।