July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

लिपुलेक विवादमा सरकारको अडान ठिक छ, नतिजाको प्रतीक्षामा छुः बास्कोटा

Advertisement

नेकपा एमालेका प्रभावशाली नेता गोकुल बास्कोटाले लिपुलेक सीमा विवादका सम्बन्धमा वर्तमान सरकारले लिएको अडानको समर्थन गरेका छन्।

Advertisement

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले छिमेकी राष्ट्रहरूको प्रतिक्रिया र नेपालको कूटनीतिक प्रयासबारे टिप्पणी गरेका हुन्।

सीमा समस्याका विषयमा भारतले पुरानै कुरा दोहोर्‍याउने र चीनले ‘यो हाम्रो समस्या होइन’ भन्न सक्ने सम्भावना औंल्याउँदै बास्कोटाले कूटनीतिमा कसले के बोल्यो वा बोलेन भन्ने विषयमा गरिने बहसको खासै अर्थ नहुने बताए। उनले शब्दको दन्तबजानभन्दा पनि ठोस परिणाममुखी कूटनीति आवश्यक रहेकोमा जोड दिएका छन्।

विशेष गरी ‘ग्रेटर नेपाल’ को समर्थकको छवि बनाएका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणलाई बास्कोटाले अर्थपूर्ण रूपमा हेरेका छन्। प्रधानमन्त्री बालेनले भारत भ्रमणका क्रममा नेपालको सीमा अडानलाई कसरी प्रस्तुत गर्छन् र त्यसले कस्तो नतिजा निकाल्छ भन्ने कुरा मुख्य भएको उनको भनाइ छ।

बास्कोटाले प्रधानमन्त्रीको भारत भ्रमण र त्यसबाट प्राप्त हुने परिणामप्रति आफू निकै उत्सुक रहेको र त्यसैलाई प्रतीक्षा गरिरहेको उल्लेख गरेका छन्।

नेपालको परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै भनेको थियो, ‘नेपाल सरकारले भारत सरकारलाई यस क्षेत्रमा सडक निर्माण वा विस्तार, सीमा व्यापार र यातायात जस्ता कुनै पनि गतिविधि नगर्न निरन्तर आग्रह गर्दै आएको छ।’

यसमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भने, ‘यस मामिलामा भारतको अडान सधैं स्पष्ट र स्थिर रहेको छ। सन् १९५४ देखि लिपुलेक भञ्ज्याङ कैलाश मानसरोवर यात्राको पुरानो मार्ग रहँदै आएको छ र यो बाटोबाट कैयौं दशकदेखि यात्रा हुँदै आएको छ। यो कुनै नयाँ विषय होइन।’