August 16, 2026, Sunday
२०८३ श्रावण ३१ आईतवार

विगतका राम्रा अभ्यासहरूलाई निरन्तरता दिँदै त्रुटिपूर्ण नजिरहरूलाई सुधार्छुः सभामुख

Advertisement

सभामुख डोलप्रसाद अर्यालले आफ्नो नयाँ जिम्मेवारीलाई सिक्ने र परिष्कृत हुने अवसरका रूपमा लिएको बताएका छन् । सिंहदरबारमा शुक्रबार आयोजित पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विगतका राम्रा अभ्यासहरूलाई निरन्तरता दिने र त्रुटिपूर्ण नजिरहरूलाई सुधार्दै अगाडि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।

Advertisement

अन्तरक्रियाका क्रममा सभामुख अर्यालले सञ्चारजगत्‌लाई रचनात्मक भूमिका खेल्न आग्रह गरे । पदमा रहेका व्यक्तिहरूलाई प्रहार मात्र गरेर समाज रूपान्तरण नहुने उल्लेख गर्दै उनले भने, ‘गल्ती औँल्याइदिनुहोस् तर त्यसलाई सुधार्ने मौका पनि दिनुपर्छ । रचनात्मक सुझाव र आलोचनाले मात्रै हामीलाई सही बाटोमा हिँडाउन मद्दत गर्छ ।ु उनले सदनका क्रियाकलापहरूलाई कत्तिको पारदर्शी बनाउने र सञ्चार माध्यमलाई कस्तो पहुँच (एक्सेस) दिने भन्ने विषयमा पत्रकारहरूबाट ठोस सुझावको अपेक्षा समेत गरे ।

कानुन निर्माणको सुस्त प्रक्रियाप्रति सचेत रहँदै सभामुख अर्यालले विधायकी कामलाई तीव्रता दिने बताए । ‘ढिलो न्याय दिनु भनेको न्याय नदिनु जस्तै हो भन्ने तथ्यमा म सचेत छु,’ उनले भने, ‘त्यसैले कानुनहरू जतिसक्दो छिटो निर्माण गरी कार्यान्वयनमा लैजाने हाम्रो प्रयास रहनेछ ।’ उनले नागरिकले राज्य र सरकारको उपस्थिति प्रत्यक्ष महसुस गर्न सक्ने गरी आफूले काम गर्ने विश्वास दिलाए ।

छोराछोरीको भविष्यका सन्दर्भमा चर्चा गर्दै उनले अभिभावकले सम्पत्ति थुपारिदिने भन्दा पनि उनीहरूलाई आफ्नै खुट्टामा उभिन सक्ने बनाउनुपर्ने धारणा राखे । ‘छोराछोरीलाई विकास गरिदिने होइन, उनीहरूले आफ्ना लागि आफैँ गर्ने वातावरण बनाइदिनुपर्छ, उनले भने ।

उक्त अन्तरक्रियामा सभामुख अर्यालले सबै पक्षको सहयोग र सुझावबाट नै संसदीय गरिमालाई उच्च राख्न सकिने समेत बताए ।