August 16, 2026, Sunday
२०८३ श्रावण ३१ आईतवार

सुरेन्द्र पाण्डे भन्छन्– स्वार्थका लागि गरिने वाम एकताले पार्टीको अस्तित्व नै सिध्याउँछ

Advertisement

नेकपा (एमाले) का प्रभावशाली नेता सुरेन्द्र पाण्डेले विचार र सिद्धान्तविहीन ‘वाम एकता’ को प्रयासप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। पछिल्लो समय पार्टीभित्रका केही नेताहरू फेरि पनि एकताको दौडधुपमा लागेको तर्फ सङ्केत गर्दै पाण्डेले सामाजिक सञ्जालमार्फत यस्तो गम्भीर प्रश्न उठाएका हुन्।

Advertisement

उनले नेतृत्वमाथि सङ्कट आइलाग्दा वा आफ्नो गुम्दो अस्तित्व जोगाउनका लागि मात्र गरिने एकताले पार्टीको हित नगर्ने स्पष्ट पारेका छन्। विगतमा पद प्राप्तिका लागि गरिएका एकताको तीतो अनुभव सुनाउँदै उनले अहिलेको दौडधुपलाई पनि सोही प्रवृत्तिको निरन्तरताको रूपमा चित्रण गरेका छन्।

पाण्डेले एमाले आफैँमा एउटा बलियो र ऐतिहासिक विरासत बोकेको पार्टी भएको दाबी गर्दै तात्कालिक राजनीतिक लाभका पछाडि लाग्न नहुने तर्क अघि सारेका छन्। निश्चित गन्तव्य र स्पष्ट वैचारिक आधार बिना गरिने एकताले अन्ततः पार्टीको मौलिक मूल्य र मान्यतालाई कमजोर बनाउने उनको ठहर छ।

उनले पार्टीलाई दीर्घकालसम्म सशक्त र एकताबद्ध राख्नका लागि सत्ताको जोडघटाउ भन्दा पनि सुशासन र विधिको मार्गमा हिँडाउनुपर्नेमा जोड दिएका छन्।

पार्टीभित्रको आन्तरिक सुधारको आवश्यकता औँल्याउँदै पाण्डेले अबको बाटो पार्टी पुनार्निर्माण हुनुपर्ने बताएका छन्। विशेषगरी क्षमतावान् र दक्ष युवाहरूलाई पार्टीमा भित्र्याउन नसकिए एमाले झन् साँघुरिँदै जाने खतरा उनले औँल्याएका छन्।

विगतमा वैचारिक आधारबिना एकता हुँदा मौन बस्नु आफ्नो गल्ती भएको स्वीकार गर्दै पाण्डेले अब पनि चुप लागेर बस्नु गम्भीर मूर्खता हुने चेतावनी दिएका छन्। उनले अब एमालेलाई सत्ता र स्वार्थको खेलबाट बाहिर निकालेर परिणाममुखी नेतृत्वसहितको नयाँ मार्गमा अघि बढाउने आँट गर्नुपर्ने आह्वान समेत गरेका छन्।