November 4, 2024, Monday
२०८१ कार्तिक १९

वैदेशिक रोजगार रोकिँदा कैयौं अलपत्र

नी घर आए । कतार फर्केर जान भिसा अवधि सकिएको थियो । कपिलवस्तु नगरपालिका–१ मस्जिद टोलका ३४ वर्षीय रकिबबुद्दिन गौरी अहिले तनावमा छन् । दोहाको विज्ञापन कम्पनी तलविन ग्रुपमा कार्यरत उनी निर्धारित समयमा त्यहाँ जान नपाउँदा छट्पटिँदै बसेका छन् । उनी डिजाइनर हुन् । कम्पनीलाई अनुरोध गरेर बल्लतल्ल भिसा मगाए ।

यसैबीच कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भयो । त्यसपछि खोप लगाएका कामदारलाई मात्र कतार प्रवेश अनुमतिको नियम लागू भयो । खोप लगाउन नपाएकाले कतार जान रोकिँदा उनी पिरोलिएका हुन् ।

Advertisement

स्वास्थ्य कार्यालयसम्म पुगेर हारगुहार नगरेका होइनन् । तर सीमित खोप, त्यसमा पनि फ्रन्टलाइनर र वृद्धवृद्धामात्रै सरकारको प्राथमिकतामा रहँदा उनले लगाउन पाएनन् । कपिलवस्तु–१ बहादुरगन्ज चोकका ३२ वर्षीय नूर मोहम्मद पनि कतारको

भिसा हुँदाहुँदै उड्न नपाउने स्थितिमा छन् । दोहामा भ्यानचालक काम गर्न भिसा पाएका उनी खोप लगाउन नपाएकै कारण जानबाट वञ्चित भएका छन् । ‘बडो संघर्ष गरेर भिसा आयो,’ उनले भने, ‘खोप नलगाएकालाई कतार आउन नदिने भनेपछि वर्ष दिन संघर्ष गरेर पाएको भिसा पनि काम नलाग्ने भएको छ ।’

उनीहरूजस्तै जिल्लाका ३० जनाभन्दा बढी कामदार अहिले खोपकै कारण खाडी मुलुक जानबाट वञ्चित भएका छन् । खाडीका मुलुकले खोप लगाएका कामदार मात्रै लैजाने आदेश जारी गरेपछि नेपाली श्रमिकलाई मर्का परेको हो । सरकारले एक त खोप नै भित्र्याउन सकेको छैन, त्यसमाथि छिटपुट आएका मात्रामा पनि वैदेशिक रोजगारीमा जानेलाई खोप लगाउन पाउने प्राथमिकतामा राखेको छैन । स्वास्थ्यकर्मी, प्रहरी, कर्मचारी, सञ्चारकर्मी, ज्येष्ठ नागरिकलगायतलाई मात्र खोप दिएको छ । ‘भिसाको म्याद सकिन महिना दिन बाँकी छ,’ गौरीले भने, ‘अब जान नपाउने पक्कापक्कीजस्तै छ ।’ कम्पनीले पठाएको भिसाको म्यादमा जान नपाए पुनः बोलावट नआउने उनलाई चिन्ता छ ।

दुबईमा होटल म्यानेजमेन्ट पढेकी यहाँकी किरण निरौला पनि काम गर्न अवसर पाएर उतै जान हतारिएकी छन् । ‘हातमा भिसा आइसकेको छ,’ उनले भनिन्, ‘खोप लगाउन नपाउँदा जान पाउने कि नपाउने अनिश्चित छ ।’ संयुक्त अरब इमिरेट्स (यूएई), कतार र साउदी अरबले खोप नलगाएका कामदारलाई प्रवेश निषेध गरेको छ ।

रूपन्देहीको बुटवल–१२ ढवाहाका २८ वर्षीय विनोद दर्नालसँग कतारको भिसा छ । तीन वर्ष मलेसिया बसेका उनी कम्पनी बन्द भएपछि फर्किएका हुन् । अहिले कतार जाने तयारीमा थिए । ‘हातमा भिसा छ तर खोप नलगाई जान पाइँदैन भनेर रोकिदिए,’ उनले भने, ‘खोप नपाएर श्रम स्वीकृतिसमेत लिन पाइएन ।’ विदेशमा मजदुरी गर्नेको रेमिट्यान्सले खर्च चले पनि राज्यले बेवास्ता गर्दा नागरिक हुँजस्तो भान नभएको उनले गुनासो गरे ।

स्थानीय प्रशासन भने विदेश जाने पर्खाइमा बसेकाहरूबारे बेखबर छ । संघीय सरकारबाट वैदेशिक रोजगारीमा जानेको तथ्यांक संकलन गर्न निर्देशन आएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । ‘कति जना जाँदै हुनुहुन्छ भन्ने यकिन तथ्यांक निकालीहाल्न सक्दैनौं,’ उनले भने, ‘प्रशासनमा निवेदन दर्ता गर्न सुझाएका छौं, सोहीअनुसार खोप माग गर्न सहज हुन्छ ।’ स्वास्थ्य मन्त्रालयबाट निर्णय भएर खोप नआउन्जेल आफूहरूले केही गर्न नसक्ने भन्दै उनले यहाँ दर्ता भएका, जानकारीमा आएका मानिसको संख्या टिपाएर खोप आउनेबित्तिकै उनीहरूलाई लगाइदिने बताए ।

पाल्पाको रामपुर–५ भम्बकका कुलबहादुर खत्री दुबईबाट घर आएको पाँच महिना भयो । कोरोनाविरुद्धको खोप लगाउन नपाएर काममा फर्किन पाएका छैनन् । खोपको खोजीमा काठमाडौं, पोखरा, पाल्पाका धेरै ठाउँ दौडधुप गरेको उनले सुनाए । ‘कम्पनीले खोप लगाएर आउन भनेको छ तर जहाँसुकै धाउँदा पनि खोप लगाउन पाइएन,’ उनले भने । पूर्वखोला–२ जल्पा लाभेका टंकनाथ खनाल दुबई जानुपर्ने एक महिनाअघि नै हो । अहिलेसम्म उड्न पाएका छैनन् । कम्पनीले खोप लगाएपछि मात्र आउन भनेकाले उनलाई विदेश जान समस्या भएको हो । ‘खोपका लागि धेरैपटक प्रयास गरियो तर पाइएको छैन,’ उनले भने ।

अर्घाखाँचीको मालारानी–९ का विष्णु घिमिरेले कतार जाने तयारी पूरा गरेका थिए । तर, खोप लगाएको रिपोर्ट नहुँदा निराश छन् । ‘घरमा ऋण छ, छोराछोरी पढाउन र घरखर्च चलाउन मुस्किल भएर कतार जान लागेको हुँ,’ उनले भने, ‘सबै काम पूरा गरेर काठमाडौं हिँड्न लाग्दा, खोप नलगाएकालाई कतार प्रवेश अनुमति नदिने खबर सुनें । स्वास्थ्य चौकी, जिल्ला जनस्वास्थ्य र अस्पतालमा गएँ, खोप आएको छैन भन्ने जवाफ पाएपछि मन खिन्न भयो ।’ खोप कहिले आउँछ भनेर स्वास्थ्यकर्मीलाई सोध्दा टुंगो नभएको जवाफ पाएको उनले बताए । शीतगंगा–१० का विकास पुनले खोप लगाउन पाएनन् । ‘धेरै पटक स्वास्थ्य चौकी, नगरपालिकामा खोप चाहियो भनेर धाएँ, आएपछि लगाइदिन्छौं भन्ने आश्वासन दिए तर खोप आएन,’ उनले भने । कोरोना संक्रमणबाट सुरक्षित हुन खोप मागेको उनले बताए । त्यही खोप लगाउन नपाएकै कारण उनी कतार जान पाएनन् । कम्पनीमा सम्पर्क गर्दा म्यानेजरले खोप लगाएको रिपोर्टबिना आउन पाइँदैन भनेपछि झसंग भएको उनले बताए ।

यूएईले गत वैशाख २३ देखि नेपालबाट कामदारसहितका यात्रुलाई प्रवेश निषेध गरेको छ । कोरोनाको पहिलो संक्रमणको लहर देखिएलगत्तै कुवेतले नेपालबाट कामदार आउन दिएको छैन । साउदी अरबले पनि एयरलाइन्स कम्पनीहरूलाई खोप नलगाएका यात्रुलाई नबोक्न निर्देशनात्मक आदेश जारी गरेको छ । साउदी प्रवेश गर्ने यात्रुले बोर्डिङ पास लिने बेला खोप लगाएको प्रमाणपत्र पेस गर्नॅपर्छ । आन्तरिक मन्त्रालय, साउदीको सूचनाअनुसार आउँदो साउन १७ देखि खोपको मात्रा पूरा भएका कामदार मात्रै कार्यक्षेत्रमा काम गर्न पाउनेछन् । बिनाखोप काम गरेको भेटिएमा जरिवाना, निलम्बनदेखि डिपोर्टसम्म गर्न सक्ने नीति ल्याइएको छ ।

यूएई र कुवेतले अनुमोदन गरेको खोप लगाएकालाई प्रवेशको अनुमति दिने नीति लिएको छ । कुवेतले अक्सफोर्ड–अस्ट्राजेनेका, फाइजर, मोडर्ना र जोन्सन एन्ड जोन्सनलाई अनुमोदन दिएको छ । यूएईको स्वास्थ्य मन्त्रालयले फाइजर–बायोटेक, स्पुतनिक–५, सिनोफार्म र अक्सफोर्ड–अस्ट्राजेनेकालाई मात्रै मान्यता दिएको छ । यी सबै खोप नेपालमा अभाव छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले वैदेशिक रोजगारमा जाने कामदारका हकमा सरकारले खोप लगाउने नीति नबनाएको प्रतिक्रिया दिए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।