१२ करोड खर्चेर लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइयो एमआरआई मेसिन


भैरहवा– रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा १२८ स्लाइसको एमआरआई मेसिन ल्याइएको छ । मेसिन आपूर्तिकर्ता कम्पनीले अस्पतालमा मेसिन जडान पनि थालेको छ । अस्पताल प्रशासनका अनुसार १२ करोड रुपैयाँ खर्चेर एमआरआई मेसिन ल्याइएको हो ।
लुम्बिनी प्रदेश सरकारको लगानीमा जडान जारी रहेको एमआरआई मेसिन सञ्चालनपछि चर्को शुल्क तिरेर निजी अस्पतालमा एमआरआई गराउनुपर्ने बाध्यताबाट सेवाग्राही मुक्त हुने अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा.इन्द्र ढकालले आगामी दुई महिना भित्रमा सेवा सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको जनाए । ‘अत्याधुनिक एमआरआई जडान पछि पश्चिम नेपालका धेरै विरामीलाई निकै सहज हुनेछ’, उनले भने ।
अस्पतालले सिटीस्क्यान मेसिन खरिद पनि प्रारम्भ गरिएको जनाएको छ । हाल अस्पतालमा सात वर्ष पुरानो १६ स्लाइसको मेसिनबाट सेवा प्रवाह भइरहेको छ । अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले लुम्बिनी प्रदेशको सुविधासम्पन्न यो अस्पतालमा थप उपकरण जडान तथा सेवा विस्तारमा लागिएको जनाए ।








प्रतिकृया दिनुहोस्